+
+

नेपाल बीमा प्राधिकरणका भुक्तानी अब डिजिटल माध्यमबाट हुने

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३० गते १४:५३

काठमाडौं । नेपाल बीमा प्राधिकरणले भुक्तानीसम्बन्धी कारोबार डिजिटल माध्यमबाट गर्न सक्ने व्यवस्था गरेको छ । बीमा प्राधिकरणले नेपाल क्लियरिङ हाउस (एनसीएचएल) को भुक्तानी प्रणाली प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था मिलाएको जनाएको छ ।

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार प्राधिकरणको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेस(एनपीआई) सँग जोडी विभिन्न भुक्तानीहरु मध्ये तलब, भेण्डर भुक्तानी, लगानी, लगायतका विभिन्न प्रकारका भुक्तानी सम्बन्धी कारोबारहरु आफ्ना तथा लाभग्राहीहरुका बैंक खाताहरु बीच सोझै गर्न सकिने छ ।

बीमाको क्षेत्रमा नयाँ आयाम थप्दै डिजिटल भुक्तानीको माध्यमको प्रयोगलाई थप प्रोत्साहन गर्न नेपाल बीमा प्राधिकरण र एनसीएचएलसँगको सहकार्यले थप टेवा पुग्ने विश्वास गरिएको छ ।

नेपालमा बीमा व्यवसायलाई व्यवस्थित, नियमित, निरीक्षण र सुपरिवेक्षण गर्ने नियामक निकायको रुपमा रहेको नेपाल बीमा प्राधिकरणले सधैँ सेवाको प्रभावकारिता बढाउन डिजिटल माध्यमको प्रयोगलाई जोड दिंदै आएको कम्पनीले जनाएको छ ।

यसअघि प्राधिकरणले प्रदान गर्ने बीमा एजेन्ट तथा सर्भेयरको लाइसेन्स नवीकरणको अनलाइन भुक्तानी एनसीएचएलको कनेक्ट आईपीएस प्रणाली मार्फत् हुने व्यवस्था गरेको थियो । आगामी दिनमा अन्य सेवाहरु पनि क्रमशः डिजिटाइज गर्दै लैजाने लक्ष्य रहेको प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?