+
+

संस्कृत विश्वविद्यालयको दीक्षान्त समारोहमा आज प्रधानमन्त्री प्रचण्ड दाङ आउने

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३१ गते ७:१०

३१ जेठ, दाङ । नेपाल संस्कृत विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज दाङ आउने भएका छन् ।

बेलझुण्डीस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालय परिसरमा हुने पाँचौं दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड सहित शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई सहितको टोली दाङ आउन लागेको हो ।

विश्वविद्यालयको कुलपति एवं  प्रधानमन्त्री  दाहालको अध्यक्षता तथा सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय वाराणसीका कुलपति प्राध्यापक हरेराम त्रिपाठीको प्रमुख आतिथ्यतामा आज बिहान साढे ११ बजे दीक्षान्त समारोहको कार्यक्रम तय गरिएको छ ।

१२ वर्षपछि हुन लागेको दीक्षान्त  समारोहमा ५७५ जना विद्यार्थी दीक्षित हुने कार्यक्रम रहेको समारोह मूल समिति संयोजक एवं विश्वविद्यालयका उपकुलपति प्रा‍.डा. यादवप्रकाश लामिछानेले जानकारी दिए ।

समारोहमा ६२ जना विद्यार्थीलाई स्वर्ण पदकले सम्मान गरिने उनले बताए । कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दीक्षान्त मन्तव्य दिनेछन् ।

विश्वविद्यालयमा २०६८ साल यतादेखि दीक्षान्त समारोह हुनसकेको थिएन । शैक्षिक सत्र २०६७ देखि २०७७ सम्म विद्यावारिधि, आचार्य, शास्त्री, आयुर्वेद स्नातक, एकवर्षे शिक्षाशास्त्रीमा उत्तीर्ण चार हजार ७७३ विद्यार्थीमध्ये दीक्षित हुनका लागि आवेदन दिएका ५७५ जनाले दीक्षित हुने परीक्षा दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?