+
+

चुनाव भएको ६ महिनामै ३ सांसद निलम्बित

अनलाइनखबर अनलाइनखबर
२०८० असार १ गते १९:५१

१ असार, काठमाडौं । आम चुनाव भएको ६ महिनाभित्रै तीन जना सांसद निलम्बित भएका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा टोपबहादुर रायमाझी पुर्पक्षका लागि थुनामा गएसँगै निलम्बित सांसदको संख्या तीन पुगेको हो ।

रायमाझी गत ४ मंसिरमा सम्पन्न चुनावमा अर्घाखाँची १ बाट प्रत्यक्ष निर्वाचित भएका थिए ।

संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार यसअगाडि नै दुई सदस्य निलम्बित छन् ।

मनाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरूङ निलम्बित छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुरुङविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भई विचाराधीन अवस्थामा रहेकाले उनी निलम्बनमा रहेका हुन् । भ्रष्टाचार मुद्दाको किनारा नलागेसम्म स्वतः निलम्बनमा रहने व्यवस्था अनुसार उनी गत पुस ८ गतेबाट निलम्बनमा परेका हुन् ।

अर्का फरार सांसद लक्ष्मी महतो कोइरी पनि निलम्बनमा छन् ।

२०७२ मा भएको मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरी बलका असई थमन बिक हत्याका आरोपित कोइरीलाई उच्च अदालत जनकपुरले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । तर उनी हालसम्म फरार छन् ।

नेपाल प्रहरीले कोइरी फरार अभियुक्त रहेको भन्दै संसद सचिवालयलाई दोस्रो पटक पत्र पठाएपछि गत वैशाख १९ गते सभामुख देवराज घिमिरेले निलम्बन गरेका हुन् । महतो गत ४ मंसिरको चुनावमा महोत्तरी–१ बाट निर्वाचित एमाले सांसद हुन् ।

सांसद पक्राउ सम्बन्धी व्यवस्था प्रतिनिधिसभा नियमावलीको नियम २४८ मा छ । प्रचलित कानून बमोजिम तीन वर्ष वा सो भन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई पूर्पक्षको लागि थुनामा रहे सांसद पद निलम्बन हुन्छ । कुनै पनि अदालतले पुर्पक्षको लागि थुनामा पठाएमा पनि निलम्बन हुन्छ । थुनामा नबसी फरार रहेको भए पनि सांसद पद निलम्बनमा पर्छ ।

निलम्बनमा रहेको अवधिबार पारिश्रमिक, सेवा र सुविधा समेत स्थगित हुन्छ । अभियोग पुष्टि नभएको खण्डमा थुना मुक्त भएमा स्थगित पारिश्रमिक, सेवा र सुविधा एकमुष्ट प्राप्त हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?