+
+

आदिपुरुष, द फल्यास र नीरफूलले शनिबारसम्म नेपालमा कति कमाए ?

अनलाइनखबर अनलाइनखबर
२०८० असार ३ गते ११:४७

काठमाडौं । प्रभास र कृति सेनन स्टारर दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’लाई लिएर भइरहेको विवादको असर नेपाली बक्स अफिसमा देखिएको छ । फिल्मले पहिलो सप्ताहन्त (शुक्रबार र शनिबार) नेपालमा अपेक्षाभन्दा न्यून ओपनिङ गरेको छ । हलिउड फिल्म ‘द फल्यास’को पनि ओपनिङ कमजोर छ ।

चलचित्र विकास बोर्डको बक्स अफिस तथ्यांकअनुसार ‘आदिपुरुष’ले शुक्रबार र शनिबार दुई दिनमा एक करोड एक लाख रुपैयाँ नेट (झण्डै डेढ करोड ग्रस) कमाइ गरेको हो । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको फेसबुक स्टाटसपछिको विकसित परिस्थितिमा सुरक्षा त्रासको कारण काठमाडौंमा शुक्रबारको बिहानी प्रदर्शन रद्द भएको थियो । विवाद र बिहान हल बन्द भएपछि कमाइ प्रभावित हुन पुग्यो ।

हाइप र स्टारडम हेर्दा फिल्मको ओपनिङ भव्य हुने अपेक्षा गरिए पनि विवादको असर देखिएको छ । भारतमा भने फिल्मले ३७.२५ करोड भारु नेट र विश्वव्यापी १४० करोड भारुको ओपनिङ गरेको व्यापार विश्लेषक सुमित कँडेलले जनाएका छन् ।

यसैबीच, प्रतीक्षित हलिउड सुपरहिरो फिल्म ‘द फल्यास’ले दुई दिनमा नेपालमा १२ लाख रुपैयाँ नेट (१८ लाख रुपैयाँ ग्रस) कमाएको छ । नेपाली फिल्म ‘नीरफूल’ले दोस्रो शनिबारसम्म २१ लाख ३९ हजार नेट (२५ लाख रुपैयाँ ग्रस) कमाएको बोर्डले जनाएको छ । धमाधम ब्लकबस्टर फिल्म दिइरहेका दयाहाङ राईको यो न्यून कमाउने फिल्म समेत बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?