+
+

वर्षा र बाढीका कारण ताप्लेजुङ यातायात सम्पर्कविच्छेद, सडक र पुलमा ५० करोडको क्षति

अनलाइनखबर अनलाइनखबर
२०८० असार ३ गते १३:२३
Photo Credit : RSS
बाढीले बगाएको हेवाखोलाको पुल । तस्वीर : रासस

३ असार, काठमाडौं । शनिबार रातिको भीषण बाढी र वर्षाका कारण ताप्लेजुङ, पाँचथर, संखुवासभा र तेह्रथुममा जिल्लामा ठूलो जनधनको क्षति भएको छ । वर्षापछि आएको बाढी र पहिरोका कारण १ जनाको मृत्यु भएको छ भने २५ जना बेपत्ता छन् ।

भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाका अनुसार शनिबार रातिको वर्षा, बाढी र पहिरोका कारण धेरै त्यस क्षेत्रका धेरै सडक अवरुद्ध हुनुका साथै पुलहरु पनि भत्किएको छ । सडक, पुललगायतका भौतिक पूर्वाधारमा ५० करोड रुपैयाँको क्षति भएको अनुमान गरिएको उनले आइतबार प्रतिनिधिसभा बैठकमा जानकारी दिए ।

ताप्लेजुङ र पाँचथर जिल्ला जोड्ने हेवाखोलाको ४६ मिटर लामो पुल बगाउँदा मेची राजमार्ग पूण रुपमा अवरुद्ध भएको छ । त्यस्तै तमोर करिडोरमा पर्ने पाँचथरको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका– ७ जोड्ने मझमिटारस्थित ४५ मिटर लामो हेवाखोला बेलिब्रिज पनि बगेको छ ।

यो दुईवटा पुल बगाएपछि ताप्लेजुङ जिल्ला यातायातको सम्पर्कबाट पूर्ण रुपमा बिच्छेद भएको मन्त्री ज्वालाले जानकारी दिए । ताप्लेजुङमा विद्युत पनि अवरुद्ध भएको छ ।

वर्षा र बाढीका कारण अरुण करिडोरमा ५०० मिटर सडक बगेको छ । पाँचथरको फाल्गुनन्द गाउँपालिकाको पांग्रेभीरमा पनि सडक अवरुद्ध भएको छ । पाँचथरको फालेलुङ गाउँपालिका–३ मच्छेबुङको मोटरपुल पनि बगेको छ ।

पाँचथरकै फिदिम–यासोक सडक बीचमा पर्ने कुम्मायक गाउँपालिका–४ बन्थाकमा सडक अवरुद्ध भएको छ । ताप्लेजुङ–सुर्माखिम– खेवाङ–याम्फुदिन जोड्ने मोटर पुल पनि क्षतिग्रस्त भएको छ ।

मेची राजमार्गको कान्छीदोकान बजारमा पनि सडक अवरुद्ध भएको छ । मध्यपहाडी राजमार्गको चिवाभञ्ज्याङ गणेशचोक सडक खण्डमा पर्ने फलौचा बजारमा २० मिटरको मेवाखोला पुल पनि भत्केको छ । त्यस्तै मदन भण्डारी राजमार्गको पनि ठाउँठाउँमा अवरुद्ध भएको छ ।

१० दिनभित्र बेलिब्रिज बनाइने

ताप्लेजुङ जिल्लामा यातायात आवागमन खुलाउन हेवाखोला पुल भत्किएको ठाउँमा बेलिब्रिज निर्माण गरिने भौतिक पूर्वाधारमन्त्री ज्वालाले जानकारी दिए । त्यहाँ १० दिनभित्र बेलिब्रिज जोडिने उनको भनाइ छ । बेलिब्रिज निर्माण नहुँदासम्म सतहबाटै डाइभर्सन बनाएर यातायात सञ्चालन गरिने उनले बताए ।

अवरुद्ध सडक खुलाउन सडक आयोजना कार्यालयहरुलाई भौतिक पूर्वाधार मन्त्रालय र सडक विभागबाट निर्देशन दिइसकेको र काम भइरहेको मन्त्री ज्वालाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?