+
+

११ महिनामा काठमाडौं महानगरको राजस्व ८ अर्ब

अनलाइनखबर अनलाइनखबर
२०८० असार ३ गते १८:२४

३ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको ११ महिनामा ८ अर्ब राजस्व संकलन गरेको छ । आन्तरिक आय, राजस्व बाँडफाँट र आन्तरिक अनुदान गरी आर्थिक वर्ष २०७९/८० को ११ महिनामा ८ अर्ब २९ करोड ९५ लाख ५९ हजार २७८ राजस्व संकलन गरेको हो । यो रकम महानगरको राजस्व लक्ष्यको ७९ प्रतिशत मात्रै हो ।

महानगरपालिकाले चालु आर्थिक वर्षको लागि राजस्व लक्ष्य १० अर्ब ४२ करोड ९५ लाख रुपैयाँ राखेको थियो ।

जसमध्ये सबैभन्दा धेरै प्रगति महानगरले आन्तरिक आयतर्फ गरेको छ । राजस्व संकलनमध्ये काठमाडौं महानगरपालिकाले आन्तरिक आयतर्फ ९८ दशमलव ८७ प्रतिशत हासिल गरेको देखिएको छ ।महानगरपालिका ४ अर्ब ८५ करोड आन्तरिक आयको राजस्व लक्ष्यमध्ये ४ अर्ब ७७ करोड उठाएको हो । जुन अघिल्लो आर्थिक वर्षको भन्दा एक अर्ब बढी हो । आर्थिक वर्ष २०७८/७९ मा महानगरले ३ अर्ब ७२ करोड मात्रै आन्तरिक आय संकलन गरेको महानगरको राजस्व विभागले जनाएको छ ।

महानगरपालिकाले आन्तरिक आयतर्फ घर बहाल करमा १ अर्ब ९२ करोड १२ लाख ८० हजार राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्षमा महानगरपालिकाले यो शीर्षकमा २ अर्ब राजस्व उठाउने लक्ष्य राखेको थियो । यस्तै सम्पत्ति करमा ९१ करोड ३३ लाख राजस्व उठाएको छ । जुन अघिल्लो आर्थिक वर्षको भन्दा १२ करोडले बढी हो ।

महानगरलाई राजस्व लक्ष्यमा पुग्न राजस्व बाँडफाँट भएर आउने रकमले असर परेको देखिएको छ । यस्तै काठमाडौंले बाँडफाँटबाट प्राप्त हुने राजस्वबाट १ अर्ब ५५ करोड ८९ लाख रुपैयाँ जम्मा गरेको छ । राजस्व बाँडफाँट पाउनुपर्नेमा काठमाडौं महानगरपालिकालाई प्राप्त भएको अघिल्लो आर्थिक वर्षको भन्दा झण्डै एक अर्बले कमी भएको देखिन्छ।

गत आर्थिक वर्ष २०७८/७९ मा राजस्व बाँडफाँटबाट प्राप्त हुने रकम १ अर्ब ७५ करोड ५४ लाख थियो जनु १०६ प्रतिशत रहेको थियो तर यो पटक लक्ष्यको जम्मा ४५ प्रतिशत मात्रै महानगरलाई बाँडफाँट भएको हो ।

गत आर्थिक वर्षमा २ अर्ब ५८ करोड २५ लाख राजस्व बाँडफाँटबाट आउने रकम लक्ष्य राखेकोमा जेठ मसान्तसम्म २ अर्ब ७५ करोड ५४ लाख अर्थात १ सय ६ प्रतिशत बाँडफाँट भएको थियो । तर, चालु आर्थिक वर्ष ३ अर्ब ४१ करोड ३१ लाख लक्ष्य राखेकोमा १ अर्ब ५५ करोड ८९ लाख मात्रै उठेको हो ।

महानगरपालिकाको राजस्व विभागका अनुसार चालु आवको राजस्वको लक्ष्य भेटन् नसक्नुमा महानगरलाई प्राप्त हुने राजस्व बाँडफाँट हो । विभागका प्रमुख ध्रुव काफ्लेले महानगरले पर्याप्त आन्तरिक राजस्व उठाए पनि बाँडफाँट भएर आउने रकम कम हुँदा लक्ष्य प्राप्तिको दुरी टाढा भएको बताए ।

राजस्व विभागका अनुसार चालु आवमा आन्तरिक अनुदान तर्फ १ अर्ब ९६ करोड ९६ लाख महानगरको राजस्व जम्मा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?