+
+

विमलेन्द्र निधिको प्रश्न : भारतसँग जमिन खुला हुने, आकाश किन नहुने ?

अनलाइनखबर अनलाइनखबर
२०८० असार ५ गते २०:११

५ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नेपाल र भारतबीच स्थलमार्गजस्तै आकाशमार्ग पनि खुला हुनुपर्ने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा उनले नेपाल र भारतका बीच जमिनजस्तै आकाश किन खुला नहुने भनी प्रश्न गरे ।

‘नेपाल र भारतको सीमा खुला भएको कारणले धरतीबाट खुला अवातजावत छ भने त्यो सीमा भन्दा माथिको आकाश कसरी प्रतिबन्धित हुन्छ ?’ निधिले प्रश्न गरे, ‘जुन देशको बीचमा धरती खुला हुन्छ त्यो देशको बीचमा आकाश के निषेधित हुन्छ र, बन्द हुन्छ र ? खुला हुँदैन र ?’

नेपालले भैरहवा र पोखरा विमानस्थलका लागि सजिलो हुने गरी भैरहवा, नेपालगञ्ज र महेन्द्रनगरबाट हाइ अल्टिच्युडमा हवाइ रुट माग गरिरहेको छ, तर भारतले दिन अस्वीकार गरेको छ ।

नेता निधिले हवाइ रुटका लागि नेपालले गम्भीर भएर भारतलाई विश्वासमा लिनुपर्ने पनि बताए । ‘जसरी रक्सौलको, वीरगञ्जको, जनकपुरको, विराटनगरको, काकडभिट्टाको सीमाबाट आवातजावत खुला छ । हामीले बन्द गरेका छैनौं’, ‘आकाशका लागि (हवाइ रुटका लागि) पनि सेक्युरिटी राख्दा भयो, तर बन्द गर्नुभएन । यो कुरा हामीले भारतलाई किन कन्भिन्स गर्न सकिरहेका छैनौं । के अप्ठ्यारो पर्‍यो हामीलाई ?’ उनले प्रश्न गरे ।

प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा यो कोणबाट छलफल भयो कि भएन भन्ने उनले प्रश्न गरे । नेता निधिले जनकपुरबाट भारतको अयोध्यासम्म सिधा हवाइ उडान सुरु गर्ने विषयमा के काम भइरहेको छ भन्ने प्रश्न पनि गरे । जनकपुर विमानस्थलका कर्मचारीले जनकपुर अयोध्या हवाइ यात्राबारे के काम भइरहेको छ भनेर सोध्दा आफू नाजवाफ हुने गरेको निधिले बताए ।

सरकारले भैरहवा, नेपालगञ्ज, महेन्द्रनगरबाट हवाइ रुट मागेको तर जनकपुरबाट मागेको छ कि छैन भन्ने जिज्ञासा पनि उनले राखे । अन्तर्राष्ट्रिय सम्बन्ध समितिले मंगलबार प्रधानमन्त्रीको भारत भ्रमणका विषयमा छलफल गर्न बैठक राखेको थियो । बैठकमा परराष्ट्रमन्त्री एनपी साउद पनि सहभागी थिए । तर उनले आफ्नै पार्टीका सांसद निधिले उठाएको प्रश्नको जवाफ दिइरहन आवश्यक ठानेनन् ।

‘भारतले अग्लो बाँध बनाउँदा नेपालमा डुबान’

कांग्रेस नेता निधिले भारतले सडक बनाउँदा जमिन भन्दा अग्लो बनाएका कारण वर्षायाममा नेपाली भूमि डुबानमा परेको बताएका छन् । तर नेपाल र भारतबीच डुबानको समस्याबारे गम्भीर कुराकानी नभएको उनको भनाइ छ ।

‘नाउँ रोड हो तर, त्यो एक किसिमको बाँध हो’ उनी भन्छन् ‘त्यो बाँधले गर्दा समस्या भएको छ ।’ पानीको प्राकृतिक बहावको व्यवस्थापनका बारेमा दुई देशका बीचमा गम्भीर छलफल हुन नक्दा मधेशका अधिकांश जिल्लाले डुबानको समस्या भोग्नुपरिराखेको निधिको भनाइ छ ।

नेपाल र भारतबीच सीमा क्षेत्रमा कुनै पनि संरचना बनाउँदा एकअर्काको सहमति लिनुपर्ने भए पनि भारतले नेपालसँग सहमति नलिएर सडक बनाउने गरेको निधिले बताए । ‘यस्ता विषयहरु नेपालले किन उठाइरहेको छैन ?’ उनले प्रश्न गरे ।

नेपालमा भने पूर्वाधार निर्माणमा भारतले अवरोध गर्ने गरेको निधिले गुनासो गरे । ‘धनुषा जिल्लामा कति पुल त मैले शिलान्यास गरेर आएको छु, मुख्यमन्त्रीले गर्नुभएको छ । सडक डिभिजनका प्रमुख र प्रमुख जिल्ला अधिकारीसँग सोध्दा भारतको बोर्डर सेक्युरिटीले रोकिदिएको जवाफ पाउने गरेका छौं’ निधिले भने ।

यो विषय परराष्ट्र मन्त्रालय र सडक विभागमा जानकारी गराएको, भारतीय दूतावास र भारत सरकारका प्रतिनिधिसँग भेट हुँदा उठाउने गरेको तर सुनुवाइ नभएको उनले बताए । ‘…कहिलेकाहीँ एम्बेसी, भारतीय सरकारसँग कुरा हुँदा हामी कुरा राख्छौं भनेर नोट गर्छन् तर, कहिल्यै सिरयस कुरा उठिरहेको छैन, हुँदैन’ निधिले भने ।

धनुषा र महोत्तरीमा १० वर्षअघि ठेक्का लागेका करिब १० वटा पुल भारतले सहमति नदिँदा निर्माण हुन नसकेको निधिले बताए । ‘यो विषयमा सम्बन्धित मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई जानकारी गराएको छ कि छैन ?’ निधिले सोधे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?