+
+

टीटीको राष्ट्रिय टिममा एभीएमको वर्चस्व

नमिता दाहाल नमिता दाहाल
२०८० असार ६ गते १०:५०

६ असार, काठमाडौं । झण्डै साढे दुई दशकको खेलाडी जीवनबाट पुरुषोत्तम बज्राचार्यले अझै औपचारिक सन्यास लिइसकेका छैनन् । यद्यपि चार वर्षअघि नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुदपछि उनी ब्याट समाएर प्रतिस्पर्धामा उत्रिएका छैनन् ।

बरु आफू जस्तै प्रतिभाशाली खेलाडीको उत्पादनमा मरिमेटेर लागेका छन् । त्यसका लागि उनले २० वर्षदेखि प्रशिक्षण गर्दै आएको एभीएम टीटी क्लबलाई माध्यम बनाएका छन् । ललितपुरकै पुरानोमध्येको आदर्श विद्या मन्दिरको टेबलटेनिस क्लबको पहिचानमा यिनै पुरुषोत्तमको सबैभन्दा ठूलो भूमिका छ ।

उनको मिहिनेत चीनमा हुने १९औं एसियाली खेलकुदका लागि टेबलटेनिस राष्ट्रिय टिमको छनोटमा पछिल्लोपल्ट प्रमाणित भएको छ । आउने असोजमा हुने एसियाडका लागि ३ पुरुष र ३ महिला खेलाडी छानिंदा चार जना एभीएम टीटी क्लबका खेलाडी परेका छन् । पुरुषतर्फ संयोग कपाली र रुविन महर्जन तथा महिलातर्फ शिक्का सुवाल र इभाना थापाले एभीएमबाट आफ्नो करिअर सुरुवात गरेका हुन् ।

खेलाडी छँदैदेखि प्रशिक्षणमा होमिएका पुरुषोत्तम पछिल्लो सफलताबाट गद्गद् छन् । चार वर्षअघि दक्षिण एसियाली खेलकुदमा आफ्नै चेला संयोग कपालीसँग टिम इभेन्टमा रजत जित्नुभन्दा बढीको खुसी बज्राचार्यले अहिले पाइरहेका छन् । ‘मेरा खेलाडीहरू एसियाली खेलकुदका लागि यति छिट्टै योग्य हुन्छन् जस्तो लागेको थिएन । एसियाली खेलकुदको स्तर म आफैंले पनि अनुभव गरेर आएको छु । हाम्रा बच्चाहरूले त्यो अवसर छिट्टै पाउने भए’, बज्राचार्यले अनलाइनखबरसँग खुसी साटे ।

चार वर्षदेखि पूर्णकालीन रूपमै प्रशिक्षणमा संलग्न पुरुषोत्तमका उत्पादनहरू यी चार जना मात्र होइनन् । राष्ट्रियस्तरमा उमेर समूहदेखि सिनियरसम्म धेरै खेलाडीलाई ब्याट समाउन सिकाएका छन् । आदर्श विद्या मन्दिरले २०६३ सालमा एभीएम टीटी क्लब स्थापना गरी बज्राचार्यलाई प्रशिक्षणको जिम्मा दिएको थियो । हाल यो क्लबमा दैनिक ६० देखि ६५ जनाले प्रशिक्षण लिन्छन् ।

रुविन महर्जन र संयोग कपाली ।

कीर्तिमानी ९ पटककी राष्ट्रिय च्याम्पियन नविता श्रेष्ठ बाहेक बाँकी पाँचै जना खेलाडीका लागि यो पहिलो एसियाड सहभागिता हुनेछ । नवितासँग भने यसअघि सन् २०१०, २०१४ र २०१८ को एसियाली खेलको अनुभव छ । उनी चौथोपल्ट एसियाड खेल्ने तयारीमा छिन् ।

१५ वर्षकी इभाना थापा यस पटक एसियाड खेल्ने टीटीकी सबैभन्दा कान्छी खेलाडी हुन् । इभाना सहित चार खेलाडीको सफलतामा एभीएम टीटी क्लबले समेत गर्व गरिरहेको छ । उसले शिक्षासँगै खेलकुदबाट पनि पहिचान पाएको छ ।

‘खेलाडी उत्पादनमा अभिभावकको समर्थन, विद्यालयको वातावरण, प्रशिक्षक र खेलाडीको मिहिनेत चाहिन्छ । त्यसैले एभीएमबाट नतिजा निस्किरहेको छ’ बज्राचार्य भन्छन्, ‘यी चारै खेलाडी प्रतिभाशाली र मिहिनेती छन् । खेललाई पहिलो प्राथमिकतामा राखेर नै यो स्थानमा आइपुगेका हुन् ।’

इभाना थापा

एभीएमकै प्रशिक्षणमा हुर्किएकी इभाना थापा सानै उमेरमा एसियन गेम्सको अनुभव लिन पाउनेमा निकै उत्साहित छिन् । ‘स्कुलदेखि नै सिक्न पाएको भएर अहिले सजिलो हुँदै गएको छ । यति छिट्टै एसियाड खेल्न पाउँछु जस्तो लागेको थिएन’ दक्षिण एसियाली जुनियर च्याम्पियनसिपकी रजत पदक विजेता इभानाले भनिन्, ‘त्यहाँको अनुभव नयाँ हुनेछ । यसका लागि आफूलाई तयार गर्दैछु ।’

प्रशिक्षक बज्राचार्य भने इभानाको उमेर सानो भए पनि मानसिकता बलियो भएकाले राम्रो प्रदर्शन गर्नेमा विश्वस्त छन् ।

एभीएम टीटी क्लबले प्रतिभाशाली खेलाडी उत्पादन गर्नुमा विद्यालयको भूमिका पनि उत्तिकै छ । विद्यालयले राम्रो खेल्ने खेलाडीलाई संरक्षण गर्ने गरेको एसियाडका लागि छानिएकी एभीएमकी उत्पादन सिक्का सुवाल श्रेष्ठले बताइन् । ‘एभीएमले खेलाडीलाई दिनुपर्ने सबै खालको सुविधा दिएको छ । हामीलाई राम्रो प्रशिक्षणका साथसाथै तलब दिएर राखिरहेको छ, छात्रवृत्ति दिएको छ । विदेशमा खेल्न जानुपरेमा आर्थिक सहयोग गरिरहेको छ’, उनले भनिन् ।

सिक्का सुवाल श्रेष्ठ

एसियाडको अनुभवले सागमा पदक जित्ने लक्ष्य

चार वर्षअघि १३औं सागमा कांस्य पदक जितेकी सिक्का एसियाली खेलकुदलाई आसन्न १४औं सागमा प्रदर्शन सुधार्ने अवसरका रूपमा प्रयोग गर्ने बताउँछिन् ।

टेबलटेनिसमा विश्वकै पावरहाउस देशहरू एसियामै पर्ने भएका कारण यतिको तयारीमा एसियाड पदक जित्न नसक्ने वास्तविकताबारे नेपाली खेलाडी जानकार छन् । ‘यसपालि एसियाडमा अनुभव लिएर दक्षिण एसियाली क्षेत्रमा एक स्तर माथि उठ्न मन छ’, सिक्काले भनिन् ।

रुविन महर्जन

१८ वर्षीय रुविन महर्जन पनि पहिलो एसियन गेम्सका लागि तयार छन् । गत असोज–कात्तिकमा पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुदमा पुरुष एकलको फाइनलमा स्यान्टू श्रेष्ठसँग पराजित भए पनि रुविन २ नम्बरसहित नेपालको वरीयतामा पहिलोपल्ट समावेश भए । त्यसयता उनको प्रदर्शन ग्राफ उकालो लागिरहेको छ ।

‘पहिलो पटक खेल्न जाँदा खुुसी लागेको छ । म आफ्नो उत्कृष्ट दिन्छु’ दैनिक ८ घण्टासम्म प्रशिक्षण गर्ने गरेको बताउने रुविनले आफ्नो सुरुवाती दिनबारे भने, ‘एभीएम स्कुल र पुरुषोत्तम सर नभएको भए म यहाँ हुन्नथें होला ।’

रुविन दक्षिण एसियाली जुनियर च्याम्पियनसिपका कांस्य पदकधारी हुन् भने सिनियरतर्फ एसियन टीटी छनोटको अनुभव लिएका छन् ।

संयोग कपाली

एभीएमकै उत्पादन हुन्– संयोग कपाली, जसले १३औं सागमा आफ्ना गुरु पुरुषोत्तमसँगै मिलेर टिम स्पर्धामा रजत पदक जितेका थिए । उनले जुनियरतर्फ ३ पटक दक्षिण एसियाली जुनियर टीटी च्याम्पियनसिपमा तिनै पटक कांस्य पदक जितेका छन् । सिनियरतर्फ उनले एक पटक एसियन टीटी च्याम्पियनसिपमा भाग लिएका छन् ।

सबै खेलाडीले यो प्रतियोगितालाई आफ्नो स्तर सुधारको रूपमा लिएका छन् । पहिलोपल्ट एसियालीस्तरमा प्रतिस्पर्धा गर्न लागेका यी युवा खेलाडीको आत्मविश्वास भविष्यका लागि नेपाली टीटीको उत्थानमा सहयोगी बन्नेछ ।

राष्ट्रिय वरीयताका शीर्ष १६ र खुल्ला प्रतिस्पर्धाबाट उत्कृष्ट ४ बीच प्रतिस्पर्धा गराई एसियन च्याम्पियनसिपका लागि यी ६ जना खेलाडी छनोट गरिएको हो ।

फोटो/भिडियो : चन्द्र आले/अनलाइनखबर

लेखकको बारेमा
नमिता दाहाल

नमिता दाहाल अनलाइनखबरको खेलकुद संवाददता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?