+
+

ठेकेदारले काम नगरेपछि व्यस्त सडकमा दुई महिनादेखि ढाट

अनलाइनखबर अनलाइनखबर
२०८० असार ६ गते १६:२९

६ असार, विराटनगर। ठेकेदारले सडक निर्माण नगरेको भन्दै विराटनगर महानगरपालिका-५ का बासिन्दाले सडकमा ठूला सवारी साधनको आवतजावतमा रोक लगाएका छन्।

ठेकेदारले अलपत्र छाड्दा धुलो उडेको भन्दै विराटनगर महानगरपालिका-५ शान्ति चोकका बासिन्दाले दुई महिनादेखि ढाट लगाएर सडकमा ठूला सवारी साधन आवतजावतमा रोक लगाएका हुन् ।

शान्ति चोकको राममन्दिरबाट पश्चिमतर्फ करिब तीन सय मिटर क्षेत्र निर्माणका लागि ठेक्का पाएको हिमालयन इन्फास्टक्चर प्रालिले काम अधकल्चो छाडेको छ। सडक बन्द हुँदा स्कुल बसहरु घुमाउरो बाटो गुड्नुपर्ने बाध्यतामा छन्।

सडक अवरोध भएका कारण विद्यालयहरुलाई विद्यार्थी ल्याउन र घर पुर्‍याउन समस्या परेको एभरेष्ट कलेजका प्रिन्सिपल टीकाराम पुरीले बताए।

पटक पटक आग्रह गर्दा काम नभएपछि धुलो रोक्न सडक बन्द गर्नुपरेको स्थानीय शंकर शाहले बताए। ‘धुलोले गर्दा बस्न सकिएन, सास फेर्न पनि गाह्रो भएपछि ढाट लगायौं’, उनले भने, ‘ढाँट खोल्न भन्दै  मान्छे आइरहेका छन्, बाटो बनाउन सुरु गरे खोलिदिन्छौं।’

श्रृङ्गार सामग्री पसल सञ्चालक निर्मला सुवेदी धुलोका कारण पसल सञ्चालन गर्न नै मुश्किल परेको बताइन्। ‘सडकको धुलाले बस्नै दिएन, बाटो चाडो बनाउन दबाब दिन ढाट लगाएका हौं’ उनले भनिन्।

उनका अनुसार सडक निर्माण नगरेको विरोधमा स्थानीय वासिन्दाले एक वर्ष अघि पनि ढाट लगाएका थिए। तर महानगरपालिकाले सडक बनाउने बताएपछि ढाट खोलिदिए, तर काम सुरु भएन।

ठेक्का लागेको क्षेत्रमा पनि काम रोकिएपछि दुई महिनायता स्थानीयले सडकमा ठूला गाडीको प्रवेश रोक्न ढाट लगाएका हुन्।

विराटनगर महानगरपालिका-५ का वडा अध्यक्ष सन्तोष न्यौपानेका अनुसार बाबा चोकदेखि एभरेष्ट कलेजसम्मको सडक कालोपत्रेका लागि हिमालयन इन्फास्टक्चर प्रालिले ठेक्का लिएको थियो।

प्रदेश सरकारको बजेटमा करिब तीन सय मिटरमा काम सुरु गरेको ठेकेदारले त्यसपछि काम नगरेको उनले बताए।

एभरेष्ट कलेजको अगाडिपट्टिबाट शान्ति चोकको मन्दिर हुँदै केशलिया रोडसम्मको सडक भने भर्खरै ठेक्का लागेको उनले बताए। चार करोड ७५ लाख रुपैयाँ बजेटमा यसुमति जेभीले ठेक्का पाएको उनले बताए।

‘महानगरपालिकाको योजनामा परेको सडकको ठेक्का प्रक्रिया अन्तिम चरणमा छ’, उनले भने, ‘अर्को पट्टी काम गरिरहेको ठेकेदारले प्राइमर हालेपछि काम गरेन।’

करिब दुई महिनाअघि सडकमा हालेको प्राइमर पनि उप्किएको उनले बताए। पटक पटक सम्पर्क गर्दा ठेकेदार विमेश कार्की सम्पर्कमा नआएको उनले बताए। सडक निर्माणका लागि ठेकेदारलाई   खोजिरहेको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?