+
+
विचार :

‘राष्ट्रियता’ र ‘राष्ट्रवाद’ को बहसका बेला पुराना सम्झना

‘राष्ट्रवाद’ र ‘राष्ट्रवादी’ कौवाले कान लग्यो भनेर कागको पछाडि दौडने मसला पनि होइन। जसले गल्ती गरेको छ, उसलाई नै केन्द्रविन्दु बनाएर, कागजी जवाफ या पर्‍यो भने कूटनैतिक जवाफ दिनुपर्ने ठाउँमा अनावश्यक विवाद भड्काउँदा कसलाई फाइदा होला र ?

अमृता लम्साल अमृता लम्साल
२०८० असार ७ गते ११:४०

अहिले चर्चाको शिखरमा पुगेको ‘राष्ट्रियता’ र ‘राष्ट्रवाद’ले मलाई एकैपटक सन् २००१ सेप्टेम्बर ११ को दिनको स्मृतिमा धकेल्छ।

त्यतिबेला, म अमेरिकामै थिएँ र त्यो दिन, पहिलो प्लेनले ट्वीन टावरमा हमला गर्दा म र मेरी छोरी टेक्सस राज्यको अम्बल शहरस्थित बैंक अफ अमेरिकामा पुगेका थियौं। बैँकका सबै कर्मचारी टेलिभिजनमा एकटक आँखा गाडेर त्यो दुःखद् घटना हेर्दै थिए।

त्यसबेलासम्म, हामीलाई स्थितिको गाम्भीर्यबारे खासै चासो थिएन। आफ्नो काम सकेर हामी काम गर्ने ठाउँ पुग्यौं। त्यसपछिको एकाध घन्टापछि पो थाहा भयो, त्यो बिहानको टेलिभिजन प्रसारणले कस्तो परिस्थिति बोकेर ल्याएको रहेछ।

सोही वर्षको अप्रिलमा मात्रै अमेरिका पुगेको भए पनि हामीलाई त्यो देश र त्यहाँ अनाहक मृत्युको मुखमा पुगेका मानिसहरूको माया लाग्यो, र बारम्बार मनले प्रश्न गर्थ्यो, कसैको संगठन र समूहले आफ्नो स्वार्थको निमित्त प्रयोग गरिएको राजनैतिक र आतंककारी हत्या र हिंसाले कसको राष्ट्रवाद र राष्ट्रियताको भोक कति मेटायो होला ?

त्यसपछिका दिनमा हामी जस्ता खैरो छालाका मानिसहरू अमेरिकीहरूको आक्रोशमा परे; जुन स्वाभाविकै थियो।

त्यो घटना घटेको केही वर्षपछि निस्किएको, ट्वीन टावरमा आफ्नो पति गुमाएकी महिला क्रिस्टेन ब्रेट्वाइजरले आफ्नो कथा समेत संलग्न गरेर एउटा पुस्तक लेखेकी छिन्, जसको शीर्षक ‘वेक-अप कल, द पोलिटिकल एजुकेसन अफ अ ९/११ विडो’ रहेको छ। स्मरणीय छ, क्रिस्टेन ब्रेट्वाइजर र चार साहसी महिलाहरूको  अनवरत लडाईंले ९/११ कमिसनको गठन गर्न बुश प्रशासन बाध्य भएको थियो | उनीहरु चार जनालाई संचारमाध्यमले ‘द जर्सी गर्ल'(उनीहरु न्यु जर्सीका बासिन्दा थिए)को नाम दिएका थिए |

त्यो दिनको दुर्भाग्य, बिहानको ९ बजेर ५९ मिनेट जाँदा साउथ टावर ध्वस्त भइसकेको दृश्य सीएनएनको पर्दामा सबैले देख्न सक्तथे ! क्रिस्टेनले मात्रै होइन, त्यो दिन अमेरिकावासी धेरैले ती हृदयविदारक दृश्यहरु टेलिभिजनको पर्दामा नाङ्गा आँखाले हेरिरहेका थिए। जुन तथ्यलाई चलचित्रमा देखाएको भए यस्तो पनि हुन्छ होला र भनेर टिप्पणी गरिन्थ्यो होला तर त्यस घडीमा विश्वकै विकसित र प्रसिद्ध शहर न्यु योर्कमा शताब्दीकै भयावह घटना घटिरहेको थियो |

अमेरिकाको आर्थिक शहरको बीचमा रहेको,  विश्व प्रसिद्ध प्रत्येकमा ११० तला रहेको ‘वर्ल्ड ट्रेड सेन्टर’ मा ४३० वटा कम्पनीको कार्यालय थियो र त्यहाँ ३५ हजार मानिस काम गर्दथे। त्यस्तो महत्वपूर्ण भवनमा प्लेनद्वारा आक्रमण हुँदा पुगेको मानसिक असरलाई मस्तिष्कले आत्मसात् गर्न नपाउँदै फेरि अर्को खबर आयो। ९ बजेर ३८ मिनेट जाँदा अमेरिकन एयरलाइन्सकै फ्लाइट नम्बर ७७ ले अमेरिकी सैनिक कार्यालय पेन्टागनमा हान्यो।

‘मभित्र नेपालीपन कुट-कुट भरिएको छ, मलाई केही चाहिंदैन; केवल नेपाली भन्न पाउने कागजी अधिकार (नागरिकता) देउ’ भन्दाखेरि हुने भए काँचै त्यो पनि सग्लै निलुँला झैं गरेर कुर्लन्छन्; सातो लिन्छन्। यो पनि राष्ट्रवादकै अनुपम नमूना मान्न सकिन्छ।

भयावह घटनाको श्रृंखला अझै सकिएको थिएन। युनाइटेड एयरलाइन्सको नेवार्क इन्टरनेशनलबाट स्यान्फ्रान्सिसको उडेको फ्लाइट ९३ अपहरण पश्चात्,, अमेरिकाको राजधानी वासिङ्टन डिसी पुर्‍याउने या ह्वाईट हाउसतिर लैजान खोजियो; तर त्यसभित्र रहेका चार जना साहसी यात्रुहरुको कारणले त्यो उडान पेन्सिल्भिनियाको सानो शहर स्याङ्ग्सभिलमा गएर खरानीमा परिणत भयो। त्यसभित्र यात्रा गरिरहेका ३८ जना यात्रु, पाँच जना फ्लाइट एटेन्डेन्ट र दुई पाइलटको अस्तित्व केवल जलेर बाँकिरहेको खरानी भयो। त्यसको बावजुद, उडानका यात्रुहरुले देखाएको बहादुरी इतिहासको पानामा सदा सुनौलो अक्षरले लेखिनेछ।

सोही उडानको बारेमा सन् २००६ मा बनेको मुभी ‘फ्लाइट ९३’ हलमा हेरेर बाहिर निस्कँदा, यो मनले डाँको छाडेर रुँदै पीडा मेटाउन खोजिरहेको थियो।

माथि उल्लेखित आतंककारी घटनाहरू उग्र राष्ट्रवादकै परिणाम थियो भने, डाँको छाड्न तयार मनमा मानवताको हत्या भएको देखेर भक्कानिंदै थियो।

पञ्चायती राजमा एउटा गीतले खुबै ख्याति प्राप्त गरेको थियो, ‘सीताले सारा भिजाइन् दक्षिण लंका भारत, भृकुटी तारा उदाइन् उत्तर चीन तिब्बत…’ गीतको यो बोल सुन्दा सधैं  मनभित्रको सोचमा राष्ट्रवाद उर्लिएर जोश भरिदिन्थ्यो। स्पष्ट भन्नुपर्दा जसरी पूर्वबाट भर्खरै झुल्किन लागेको रातो डल्लोको रुपमा सूर्यनारायणले आफूभित्रको आगो ओकल्न तयार भइरहेका जस्ता देखिन्थे, त्यसैगरी यो मन पनि शब्दरुपी आगोसँगै सल्बलाइरहेको हुन्थ्यो; किनकि, हामीलाई त्यस्तै शिक्षा दिएर हुर्काइएको थियो।

आज, समय फरक छ। सोचको दायरा फराकिलो बनाउन आफ्नै मस्तिष्कले पनि झकझक्याउँछ।

पौराणिक कथामा भएकी सीता र इतिहासको कुनै कालमा जन्मिएकी भृकुटीहरु जो नेपालमा जन्मिएकै भरमा नेपाली भनेर आजसम्म गौरवान्वित हुन्छन् र सम्झनामा रहिरहन्छन्। उनीहरूको नाममा ‘राष्ट्रवाद’को राजनीति गर्न सहज हुन्छ, उनीहरूले कागजी नागरिकता पाए/नपाए पनि नेपालीको मनले उनीहरुलाई नेपाली नागरिकको सम्मान प्रदान गरिरहेकै छ। तर देशभित्रै जन्मिएका र बासस्थान बनाइरहेका सीता र भृकुटी जसले, ‘म मेरो देशलाई श्रद्धा र सम्मान गर्दछु’, ‘मभित्र नेपालीपन कुट-कुट भरिएको छ, मलाई केही चाहिंदैन; केवल नेपाली भन्न पाउने कागजी अधिकार (नागरिकता) देउ’ भन्दाखेरि हुने भए काँचै त्यो पनि सग्लै निलुँला झैं गरेर कुर्लन्छन्; सातो लिन्छन्। यो पनि राष्ट्रवादकै अनुपम नमूना मान्न सकिन्छ।

यी सबै कुराहरू सोच्दै सुतेको प्राणी बिहान उठेर कागतीपानी पिउन थाल्छु, अनि सोच्छु, ओहो, यो त मद्रासबाट आयात गरिएको कागती हो, यो खायो भने त शरीरबाट राष्ट्रवादको  घुलन कम गराइदिन्छ कि ? सशंकित हुँदै, बाथरुममा गएर दाँत माझ्ने नियमित प्रक्रिया सुरु गर्दा, मञ्जन र ब्रसले नै खिस्याएको भान हुन्छ। मनैमन सोच्छु, यत्रो वर्षमा दाँत माझ्ने मञ्जन त उत्पादन गर्न सकेका रहेनछौं; बरु, केटाकेटी बेलामा झैं कोइलाले दाँत माझ्दा राष्ट्रवादी सोचाइ बढ्दै जान्थ्यो कि ?

बहकिने मन, फेरि एकपटक अमेरिकातर्फै फर्कियो। ११ सेप्टेम्बर २००१ को त्यो त्रासदीपूर्ण घटना लगत्तै, अमेरिकन राष्ट्रवाद यस्तरी ह्वात्तै बढ्यो कि, रातारात अमेरिकन झण्डा र ‘आई लभ अमेरिका’ लेखेको टिसर्टको व्यापारले सगरमाथाको उचाइ छोयो। त्यसको फाइदा चीनलाई भयो; दुई राष्ट्रवादी देशको भिडन्तको फाइदा तेस्रो देशलाई पुग्यो। त्यो पनि विश्वव्यापीकरणको समयमा राम्रै भयो भन्नुपर्छ।

एउटा, अझ रमाइलो घटनाको सम्झना भयो। योचाहिं आर्थिक मन्दीसँग जोडिएको राष्ट्रवादको सन्दर्भ थियो। यसलाई पनि भारतीय सामान प्रयोग नगर्ने राष्ट्रवादीहरूसँग दाँजेर हेर्‍यो भने कस्तो हुन्छ होला भन्ने कल्पना गर्न मन लाग्यो।

सन् २००७ देखि विस्तारै सुरु भएको सन् १९३० पछिको ठूलो आर्थिक मन्दीले २००८ सम्ममा विश्वव्यापी रुपमै अर्थतन्त्रलाई धरासायी पार्दै लगेको थियो। यसको प्रत्यक्ष असर अमेरिकामा पनि नपर्ने कुरै भएन। अमेरिकामा पनि रोजगारी सुक्तै गएको थियो। त्यसैलाई ध्यानमा राखेर अमेरिकी टेलिभिजन च्यानल ‘एबीसी न्युज’ले सायद, सन्  २०११/१२ तिर अमेरिकी रोजगारी बढाउनको लागि एउटा कार्यक्रम सुरु गर्‍यो; जसको नाम, ‘मेड इन अमेरिका’ थियो र त्यसको एन्कर डेभिड मुयर थिए। उनीहरूको उद्देश्य, अलिकति मूल्य बढी भए पनि अमेरिकीहरूलाई आफ्नै देशमा बनेको सामान किन्न प्रोत्साहित गर्नु थियो। त्यो कार्यक्रममा टेलिभिजन टिम अमेरिकीहरूको घर–घरमा जान्थे र उनीहरूले प्रयोग गर्ने सामानहरू कहाँ बनेको छ भनेर चेक गर्दथे। त्यसरी चेक गर्दा, कसैको घरमा केवल एउटा काँचको फूलदानी या कसैको घरमा टेलिभिजनको तार जोड्ने ज्याक (?) मात्र बाँकी रहन्थ्यो। ती सबै सामान हटाएर अमेरिकामा बनेको सामान मात्रै किनेर घर भर्ने बेलामा अमेरिकामा बनेको टेलिभिजन नपाएको दृश्य पनि देखिएको थियो।

उक्त कार्यक्रमको स्मरण गर्न बाध्य हुनुको कारण, हामीले हरदिन प्रयोग गर्ने हरेक सामान, खाना पकाउने चुल्हो र ग्याँसदेखि कहाँ बनेको प्रयोग गर्ने रहेछौं भनेर नियाल्न मन लाग्दोरहेछ।

हुनत, यो लेखमा राष्ट्रवादीहरूको ठूलै गाली, धम्की र खेदाइ आउला ! तर, सत्य यही हो कि, कुनै पनि देश, आजको समयमा एक्लो भएर बाँच्न सक्तैन; त्यसको लागि त उत्तरकोरिया मात्रै उपयुक्त ठाउँ हुन सक्ला।

‘राष्ट्रवाद’ र ‘राष्ट्रवादी’ कौवाले कान लग्यो भनेर कागको पछाडि दौडने मसला पनि होइन। जसले गल्ती गरेको छ, उसलाई नै केन्द्रविन्दु बनाएर, कागजी जवाफ या पर्‍यो भने कूटनैतिक जवाफ दिनुपर्ने ठाउँमा अनावश्यक विवाद भड्काउँदा कसलाई फाइदा होला र ?

रामायणसमेत नबुझ्ने, हिन्दु धर्मको सम्मान गर्न नसक्ने र भारतमै व्यापक विरोध भइरहेको एउटा व्यक्तिले लेखेको फिल्मको डाइलगले कमजोर हुने कस्तो राष्ट्रियता हाम्रो ?

राष्ट्रवाद र राष्ट्रवादी हुनु भनेको ढाकाको टोपी र दुई चुल्ठे कपाल बाट्नु पनि होइन; न त, राष्ट्रवाद ‘आदिपुरुष’ आफ्नै देशको इतिहासको समेत ज्ञान नभएका, फिल्मका लेखक मनोज मुन्तसिरको ‘आजतक’ टेलिभिजनको अन्तर्वार्ता सुनेर उनकै फिल्म चर्चित बनाउने माध्यम बन्नु हो।

‘नेपाल पहिला भारतकै अंश रहेको र सन् १९०३/१९०४ तिर बल्ल अलग भयो’ भन्ने उनको अन्तर्वार्ताको बारेमा, रेकर्डमै रहने गरी कूटनैतिक रुपमै एउटा पत्र पठाउँदा बरु फिल्मको प्रचारले उनलाई फाइदा हुँदेनथ्यो कि ? यहाँ त उल्टो भयो; अहिले मानिसहरूले हलमा भन्दा बढी फिल्म अन्य माध्यमहरूमा हेर्छन् होला ! यसले, मनोज मुन्तसिरलाई के हानि भयो होला त ?

फेरि, हाम्रो राष्ट्रवादको मोडल नै यस्तो छ कि, केही विपत्ति पर्छ, लाजै नमानी माग्यो, हात थाप्यो।

सरकारले सरकारसँग। संस्थाले संस्थासँग। व्यक्तिले व्यक्तिसँग। हात थाप्दासम्म, हात्तीको जीउ जस्तो स्वाभिमान र राष्ट्रवादको अनुहार देखिन्न। जब, कुनै हल्ला चल्छ अनि राष्ट्रवादको सडकदेखि सदनसम्म उर्लन थाल्छ।

अहिले उर्लिएको राष्ट्रवादको हल्ला बारेमा पत्रकार तथा ब्लगर उमेश श्रेष्ठ माइसंसार डटकमको ब्लगमा लेख्नुहुन्छ, “एउटा प्रख्यात उखान छ हाम्रो पेशाबारे- कसैले बाहिर पानी परिरहेको छ र कसैले पानी परिरहेको छैन भन्यो भने तिम्रो (पत्रकारको) काम फलानोले पानी पर्छ भन्यो र फलानोले पानी पर्दैन भन्यो भनेर रिपोर्ट गर्ने मात्र होइन, साँच्चै पानी परिरहेको छ कि छैन भनेर झ्याल खोलेर हेर्नु पनि हो। तर कसैले झ्याल खोलेर हेरेकै देखिएन।”

उहाँले पूरै सिनेमा हेरेपछि लेख्नुभएको ब्लग अनुसार, “प्रोमोमा जस्तो भारतकी किसी बेटी भन्दा सीतालाई पनि देखाइँदैन फिल्ममा। अब यो डाइलगलाई (भारतकी किसी बेटी पर हाथ उठानेसे पहले ) जसरी लिए पनि भयो। हाम्रै सीतालाई भारतको छोरी भन्यो भनेर निहुँ खोजे पनि भयो। रामले आफ्नो सेनालाई त्यस्तो दिनका लागि लड, जब भारतकी कुनै छोरीमाथि हात हाल्नुभन्दा पहिला दुराचारी तिम्रो पौरुषलाई याद गरेर काँप्छ भनेर कसैलाई इङ्गित नगरी समग्र छोरीहरुको बारेमा पो भनेको भने पनि भयो।

तर फिल्म नहेर्दासम्म चर्चा भए जस्तो सीधै ‘जानकी भारतकी छोरी हुन्’ चाहिं भनिएको छैन। बरु रावणले सीधै जानकीलाई यो तिम्रो मिथिला हैन राघवले जन्ती लिएर आउन भनेका छन्।

रामायणसमेत नबुझ्ने, हिन्दु धर्मको सम्मान गर्न नसक्ने र भारतमै व्यापक विरोध भइरहेको एउटा व्यक्तिले लेखेको फिल्मको डाइलगले कमजोर हुने कस्तो राष्ट्रियता हाम्रो ?”

हाम्रो राष्ट्रियता र राष्ट्रवाद घरी उदितनारायणले आफू ‘नेपाली हुँ’ भनेर अन्तर्वार्ता दिएनन् भनेर कोकोहोलो मच्चाउँदै गर्जिन्छ। घरी भारतीय नागरिकता लिएर भारतकै भएर गएका तेन्जिंग शेर्पालाई राष्ट्रिय गीतको हिस्सा बनाएर उर्लन्छ। त्यति मात्रै होइन, आफूलाई चाहिएपछि, पौराणिक मिथककी पात्र विवाहित भएर अन्य देशमा घरजम गरेर बस्ने सीता र सातौं शताब्दीमा जन्मिएकी भनिएकी भृकुटीको कुरामा पनि राष्ट्रवादले अपनत्व पाउँछ। भलै, अहिलेका जिउँदा जाग्दा भृकुटी र सीताले माइतीमा बस्न खोजे भने ‘राष्ट्रलाई खतरा हुने’ भान्जाभान्जी जन्माउँछन् !

लेखको बिट मार्दै गर्दा अचानक २०७७ असारमा पशुपतिनाथको मन्दिर क्षेत्र सफा गर्न भारतसँग लिएको ३ करोड ७२ लाख ३० हजार याद आयो; हरेक वर्ष भारतले दिने एम्बुलेन्सलगायतका झिनामसिना सहयोग याद आयो। त्यस्ता बेलामा राष्ट्रवाद कता लुक्न जानेरहेछ ?

किनकि, त्यसरी भारतसँग पैसा लिंदा, कसैलाई अलिकति पनि ग्लानि हुँदैन त !

म भए त, मलाई हेप्ने छिमेकी त के कुरो, मेरा एकाघरका परिवारले दिए पनि बरु भोकै मर्छु तर एक थोपो पानी खान्नँ।

मेरो लागि राष्ट्रवाद भनेको म जन्मिएको देशको नागरिकहरूले, आफ्नो देशको सीमा तोकिएको क्षेत्रभित्र कसैसँग हात नफैलाई, जीवनको आधारभूत आवश्यकतालाई विशेष ध्यान दिएर हरेक नागरिकको स्वाभिमानको रक्षा गर्नु हो; न कि हल्लाको नाममा राजनीतिको रोटी सेकेर पद हासिल गर्नु।

अस्वीकरण: म, ग्लोबलाइज़ेशन र ग्लोबल भिलेजमा विश्वास गर्छु।

लेखकको बारेमा
अमृता लम्साल

लेखक सामाजिक अभियन्ता, लेखक एवं पत्रकार हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?