+
+

अल्सरका बिरामीले के खाने, के नखाने ?

आयुष अधिकारी, पोषणविद् आयुष अधिकारी, पोषणविद्
२०८० असार ७ गते १६:२५

पेटको अल्सर हुनु भनेको पेटमा घाउ वा प्वाल पर्नु हो । यस्तो किन हुन्छ ? जवाफ एक मात्र छैन । यद्यपि पेटको अल्सरमा खराब खानपान प्रमुख जिम्मेवार छ । पेटको अल्सर भएमा पेटमा प्वाल पर्ने वा घाउ हुने गर्छ ।

गलत खानपान मुख्य कारण भएकाले अल्सरको बिरामीले औषधिसँगै खानपानमा पनि ध्यान दिनुपर्छ । अल्सरको समस्या भएका बिरामीलाई खानपानमा विशेष ध्यान दिन डाक्टरहरू सुझाउँछन् । उपचारको साथै उचित खानपिनमा ध्यान दिइयो भने अल्सरबाट छिट्टै राहत पाउन सकिन्छ । त्यसैले पेटमा अल्सर हुँदा के खाने र के खानु हुँदैन भन्ने विषयमा जान्नुपर्छ ।

के नखाने ?

अल्सरमा रातो मासु सकेसम्म नखानु उत्तम हुन्छ । रातो मासु पच्न समय लाग्ने भएकाले अल्सरको समस्या बढाउन यसले भूमिका खेल्छ । अल्सरको समस्या भएका व्यक्तिले दूधजन्य उत्पादन दूध, बटर, पनिर, घिउ आदिको प्रयोग पनि कम गर्नु उपयुक्त हुन्छ । दूध खानै परे पनि फ्याट निकालेर वा बाक्लो दूधमा पानी मिसाएर खानु ठीक हुन्छ ।

घरमा प्रयोग हुने मसलाहरू खान मिल्छ । तर प्याकेटका खानेकुरा, जंकफुड बजारमा पाइने धेरै मसालेदार खानेकुराको प्रयोग गर्नु हुँदैन । मद्यपान, धुम्रपान, कोल्ड ड्रिंकजस्ता खानेकुरा खानु हुँदैन । बट्टामा हालिएको अमिलो अचार चुक अमिलो पनि नखानु नै राम्रो हुन्छ ।

के खाने ?

हामीले दैनिक रूपमा दाल, भात, तरकारी र सागसब्जी खान्छौं । यी खानेकुरामा भिटामिन मिनरल्स हुन्छ । त्यसैले सादा र सन्तुलित खानालाई पहिलो प्राथमिकता दिनुपर्छ ।

प्रोटिनयुक्त खानेकुरा कुखुराको मासु, अण्डाको सेतो भाग खाइयो भने घाउ अलि छिटो भरिन्छ । त्यसैले यस्ता खानेकुरालाई दैनिक खानामा समावेश गर्नुपर्छ । हरियो सागसब्जी, सलाद, दही लसुनजस्ता  खाद्यपदार्थले शरीरको रोग प्रतिरोधी प्रणालीको सुरक्षा पनि गर्छ र शरीरलाई संक्रमणबाट लड्न सक्रिय बनाउँछ । यस्ता खानेकुरा पनि खानु उपयुक्त हुन्छ ।

ध्यान दिनुपर्ने कुरा

डाक्टरले चिल्लो, पिरो र अमिलो कम खानु भनेका हुन्छन् । यस्तो भन्ने बित्तिकै चिल्लो खानै हुन्न अदुवा लसुनको पिरो वा मसला पनि खान हुँदैन भन्ने बिरामीलाई लाग्छ । तर थोरै चिल्लो, घरमा प्रयोग हुने मसला, अदुवा लसुन र कागतीको अमिलो सीमित मात्रामा खान मिल्छ ।

अल्सरको अप्रेसन गरिएको बिरामीलाई केही दिन नरम खानेकुरा जाउलो खान दिइन्छ । यस्तोमा बिरामीलाई के लाग्छ भने अब निको नहुन्जेल जाउलो मात्र खानुपर्छ । तर त्यस्तो होइन, बिरामीले सामान्य सन्तुलित खाना खान मिल्छ ।

अल्सर भएको बिरामीले लामो समय खाली पेट बस्नु हुँदैन । हरेक चार–चार घण्टाको अन्तरालमा खाना खानुपर्छ । ग्यास्ट्रिकबाट नै पेटको अल्सर हुने भएकाले ग्यास्ट्रिक नै हुन नदिन सन्तुलित र समयमा खाना खानुपर्छ । जंकफुड , फास्टफुडजस्ता खानेकुरा कम खानुपर्छ ।

अल्सर भएर उपचार गराउनुभन्दा अल्सर हुनै नदिनु उचित हो । यसका लागि हामीले खानपानमै ध्यान दिनुपर्छ । जथाभावी खाने प्रवृत्ति त्याग्नुपर्छ । तारेको, भुटेको, मसालेदार वा सजिलै नपच्ने खालका खानेकुरा, धेरै अमिलो, पिरो खानेकुरा वा प्रशोधित र प्याकेट बन्द खानेकुरा नियन्त्रण गर्नुपर्छ । सुपाच्य र पोषिलो खानेकुरामा जोड दिनुपर्छ । खानामा फलफूल, सलाद, फाइबरयुक्त सागसब्जी समावेश गर्नुपर्छ ।

(पोषणविद् अधिकारीसँग अनलाइनखबरकर्मी सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?