+
+
साफ च्याम्पियनसिप २०२३ :

पाकिस्तानविरुद्ध सान्त्वना जितको खोजी

अनलाइनखबर अनलाइनखबर
२०८० असार ११ गते १२:१८
गत नोभेम्बरमा दशरथ रंगशालामा भएको नेपाल र पाकिस्तानबीचको खेल ।

११ असार, बैंगलुरु । भारतको बैंगलुरुमा भइरहेको साफ च्याम्पियनसिप फुटबलमा सुरुवाती दुई खेल हार्दै नेपाल समूह चरणबाटै बाहिरिसकेको छ ।

समूह ए मा कुवेत र भारतसँग पराजित भएको नेपालले मंगलबार पाकिस्तान विरुद्ध समूहको आफ्नो अन्तिम खेल खेल्दैछ ।

पाकिस्तान पनि लगातार दुई खेल हार्दै समूह चरणबाटै बाहिरिसकेको छ । त्यसैले बैंगलुरुस्थित कान्तिराव स्टेडियम उत्रँदा दुवै टिमको लागि यो खेल औपचारिकता मात्रै हुनेछ । त्यसैले दुवै टिम सान्त्वना जितसहित घर फर्कन चाहन्छन् ।

पहिलो खेलमै आमन्त्रित टिम कुवेतसँग ३-१ ले पराजित भएको नेपाल घरेलु टोली भारतसँग २-० ले पराजित भएको थियो ।

फिफाको निलम्बन फुकूवा भएपछि पहिलो पटक साफ खेलिरहेको पाकिस्तान भने भारत र पाकिस्तान दुवै टिमसँग समान ४-० को नतिजामा पराजित भयो ।

यस पटक नेपाली टिमले साफ च्याम्पियनसिपमा खासै ठूलो अपेक्षा राखेको थिएन । भयो पनि त्यस्तै । सुरुवाती दुई खेल हारेर बाहिरिसकेको अवस्थामा अब नेपालको एउटै लक्ष्य कम्तीमा एक खेल भए पनि जित्ने नै हो ।

भारतसँग पराजित हुँदै समूह चरणबाट बाहिरिएपछि नेपालका मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले पाकिस्तान विरुद्धको अन्तिम खेल राम्रो खेलेर जित्ने बताएका थिए ।

नेपालले साफ च्याम्पियनसिप खेल्नुअघि धेरै समय तयारी गर्न पाएन । साफअघि फिलिपिन्ससँग एक मात्र मैत्रीपूर्ण खेल खेलेको थियो । थोरै समयको तयारी र अन्तर्राष्ट्रिय प्रतियोगितामा कम अनुभव भएका खेलाडीहरुसहितको टिम लिएर बैंगलुरु आएका एनेसले युवा खेलाडीहरुले अनुभव लिनु राम्रो भएको बताएका छन् । उनले आफूले पाएको समयमा सक्दो प्रयास गरेको पनि बताए ।

पाकिस्तानको अवस्था भने झनै दयनीय नै छ । २०२२ जुनको अन्तिममा फिफा निलम्बन फुकुवा भएपछि पाकिस्तानले २०२२ नोभेम्बरमा नेपालसँग मैत्रीपूर्ण खेल खेलेको थियो । त्यो खेलमा नेपाल १-० ले विजयी भएको थियो । त्यसयता खेलेका सबै ७ खेलमा पाकिस्तान पराजित भएको छ ।

नेपालपछि माल्दिभ्ससँगको मैत्रीपूर्ण खेलमा पनि उही नतिजामा पराजित भएको थियो भने बैंगलुरु आउनुअघि मरिससमा भएको थ्री नेसन्स कपमा तीनवटै खेलमा पाकिस्तान पराजित भएको थियो ।

कुवेतसँगको खेल हारेपछि पाकिस्तानका अन्तरिम सहायक प्रशिक्षक जर्मन नागरिक तोर्बेन विटाजेवस्कीले यो लेभलमा खेल्न टिमलाई धेरै अनुभव चाहिने बताएका थिए ।

टिमको रुपमा अझ धेरै खेल खेल्नुपर्ने उनले बताएका थिए ।

पाकिस्तानले विदेशमा लिग खेल्ने खेलाडीहरुलाई समेटर टिम बनाए पनि मैदानमा त्यसअनुसार प्रदर्शन गर्न सकेको छैन ।

साफ च्याम्पियनसिपमा नेपालले १५ वर्षयता पाकिस्तानलाई पराजित गर्न सकेको छैन । त्यसैले पनि पाकिस्तान विरुद्धको जित नेपालको लागि महत्वपूर्ण बन्नेछ ।

साफ च्याम्पियनसिपमा नेपाल र पाकिस्तानबीचको खेलको नतिजा पनि मिश्रित नै छ । नेपाल र पाकिस्तानबीच साफ च्याम्पियनसिपमा अहिलेसम्म ७ खेल भएको छ । जसमा नेपालले २ खेल जितेको छ भने २ खेलमा हार बेहोरेको छ । ३ खेल भने बराबरीमा सकिएको थियो । नेपालले साफ च्याम्पियनसिपमा पछिल्लो पटक पाकिस्तानलाई २००८ मा पराजित गरेको थियो । माल्दिभ्समा भएको खेलमा नेपालले पाकिस्तानलाई ४-१ ले पराजित गरेको थियो ।

२०११ मा भारतमा भएको साफ र २०१३ मा काठमाडौंमा भएको साफमा नेपाल र पाकिस्तानले १-१ को बराबरी खेलेका थिए भने पाकिस्तानले पछिल्लो पटक सन् २०१८ मा साफ च्याम्पियनसिप खेल्दा नेपाल पाकिस्तानसँग समूह चरणको पहिलो खेलमै २-१ ले पराजित भएको थियो ।

समग्रमा भने नेपाल र पाकिस्तानबीच अहिलेसम्म १७ खेल भएको छ । जसमा नेपालले ६ खेल जितेको छ । पाकिस्तानले ५ खेल जित्दा ६ खेल बराबरीमा सकिएको छ ।

पछिल्लो पटक नेपाल र पाकिस्तान २०२२ मा काठमाडौंमा मैत्रीपूर्ण खेलमा भिड्दा नेपाल १-० ले विजयी भएको थियो ।

उक्त खेलमा अन्जन विष्टले नेपालका लागि एक मात्र गोल गरे । यस पटक भारत विरुद्धको खेलमा घाइते भएका अन्जन विष्ट पाकिस्तान विरुद्ध अन्तिम खेलमा खेल्ने सम्भावना कम छ । दुवै खेल हारेर बाहिरिसकेको अवस्थामा नेपालले पाकिस्तान विरुद्ध पहिलो रोजाईँमा परिवर्तन गर्ने सम्भावना छ ।

नेपाल भर्सेस पाकिस्तान :

मिति : १२ असार २०८०

समय : दिउँसो ३:४५ बजे नेपाली समय अनुसार

स्थान : श्री कान्तिरवा स्टेडियम, बैंगलुरु

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?