+
+

लघुवित्तकर्मीको चेतावनी : सुरक्षाको प्रत्याभूति नभए सेवा बन्द हुनसक्छ

लघुवित्तकर्मीहरु भन्छन् -सरकारले ऋण मिनाहा हुँदैन भनेर बोल्न समेत सकेन । यसले ‘क्रेडिट डिसिप्लेन’ बिग्रिए वित्तीय क्षेत्रमै समस्या आउँछ ।

अनलाइनखबर अनलाइनखबर
२०८० असार ११ गते १९:११

११ असार, काठमाडौं । लघुवित्तकर्मीहरुले शान्ति सुरक्षाको व्यवस्था नभएर सेवा बन्द हुनसक्ने चेतावनी दिएका छन् । सोमबार ७७ वटा जिल्ला प्रशासन कार्यालय मार्फत् प्रधानमन्त्री पुषकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएपछि आयोजित पत्रकार सम्मलेनमा लघुवित्तकर्मीले सेवा प्रवाहमा शान्ति सुरक्षाको माग गरेका हुन् ।

विगत डेढ वर्षदेखि लघुवित्त संस्था खारेज गर्नुपर्ने, ऋण मिनाहा गर्नुपर्ने, शून्य ब्याजदरमा ऋण दिनुपर्ने जस्ता माग राख्दै लघुवित्त संस्था विरुद्ध आन्दोलन भइरहेको छन् । तर, पछिल्लो समय आन्दोलन हिंसात्मक भएर कर्मचारीमाथि आक्रमण समेत हुने लागेको र कार्यालयमा तालाबन्दी जस्ता घटानाले सेवा प्रवाह गर्ने अवस्था नभएको नेपाल लघुवित्त बैंकर्स संघका निवर्तमान अध्यक्ष वसन्त लम्सालले बताए ।

‘कुनै लघुवित्तले गलत गरेको छ भने कारवाही हुनुपर्छ । तर, तल्लो तहमा वित्तिय सेवा प्रदान गरेको लघुवित्तमाथिको अराजक गतिविधि रोकिनु पर्छ। उजुरी गर्ने निकाय राष्ट्र बैक छ,’ उनले भने, ‘ आन्दोलन केही समय हो आफैं कम भएर जान्छ भन्ने थियो । तर, अहिले सेवा प्रवाह नै गर्न नसक्ने अवस्था बन्दै गएको छ। यसमा राजनीतिक दलमा आवद्ध व्यक्तिहरूको समेत संलग्नता देखिएको छ ।’

नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालय लगायतका निकायबाट समस्या समाधानका लागि उदासिन देखिएको लम्सालले बताए । ‘सरकारी निकायबाट कुनै पहल भएन भन्दा पनि निकाय मूकदर्शक भएर बसेको भन्छौं । सरकारले ऋण मिनाहा हुँदैन तपाईंहरू भ्रमममा नपर्नुस् समेत भनेको छैन । लघुवित्तविरुद्धको आन्दोलन रोक्न सरकार नकारात्मक छ भन्ने पनि होइन,’ उनले भने, ‘तर, ऋण मिनाहा हुँदैन भनेर समेत बोल्न नसक्नुमा चाहिँ चिन्ताको विषय हो । अर्थमन्त्री र मन्त्रालयका अधिकारीलाई भेटेर पटक-पटक जानकारी गराउँदा पनि सक्रियता देखिएन ।’

उनले सेवा नै बन्द गर्ने भनेको नभई सुरक्षा जोखिम बढ्दै जाने हो भने सेवा दिन नसक्ने अवस्था आउने भनेर पूर्व जानकारी भने गराएको बताए । ‘अहिलेको सबैभन्दा ठूलो समस्या लघुवित्त र कमर्चारीको सुरक्षा हो,’ उनले भने, ‘त्यसमा सरकारको सहयोगका लागि जिल्ला प्रशासन कार्यालयहरुमार्फत् ज्ञापन पत्र बुझाएका हौं ।’

यसले लघुवित्त संस्था मात्रै नभएर वित्तिय सेवामा नै समस्या सिर्जना हुन उनको तर्क छ । ‘सरकारको नियमभित्र रहेर सेवा प्रवाह भएको छ भने किन व्यवधान भयो ?,’ उनले भने, ‘पहिलो प्राथमिकता नियामक निकायमा हामीले गुनासो गर्दा त्यसको यथेष्ट सम्बोधन भएन । राष्ट्र बैंकले नीतिगत केही सम्बोधन गरेको भएपनि त्यो यथेष्ट भएन ।’

अहिले कर्जा रिभकरीमा सबै क्षेत्रमा समस्या भएको भन्दै ऋणीलाई ऋण तिर्ने समय थपेर पनि व्यवस्थापन गर्न सकिने उनले बताए । तर, अहिले सुरक्षा जोखिम भएकोले सेवा प्रवाहमा समस्या भएको उनको तर्क छ ।

नेपाल लघुवित्त बैंकर्स संघका महासचिव रामबहादुर यादवले लघुवित्तलाई माध्यम बनाएर राजनीति गर्ने र अन्य गलत गतिविधि भइरहेको बताए । ‘लघुवित्तहरू मूल्य, मान्यताभित्र रहेर काम गर्नुपर्छ भन्नेमा सजग छौं । सुधार गर्नुपर्ने ठाउँमा सुधार गरेर अगाडि बढेका छौं,’ उनले भने, ‘आन्दोलन गर्नेको उद्देश्य लघुवित्तको सुधार भन्दा पनि गरिबलाई आर्थिक स्रोतबाट बन्देज गराउने देखिन्छ ।’

आन्दोलन गर्नेले कर्जा तिर्छु भन्नेलाई पनि तिर्न नदिएको उनले बताए । यस्ता गतिविधिले ‘क्रेडिट डिसिप्लेन’ बिग्रिएर कर्जा नतिर्ने अवस्था आउँदा लघुवित्त मात्रै नभएर बैंकहरूमा समेत समस्या आउने उनले चेतावनी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?