+
+

जबजको दृष्टिकोणमा विद्यार्थी आन्दोलनका कार्यभार

हाल नेपालमा चलिरहेको पूँजीवादी शोषणको विरुद्धमा पनि विद्यार्थी आन्दोलन क्रियाशील बन्दै आएको छ । जबजको सैद्धान्तिक मार्गदर्शनले विद्यार्थी आन्दोलनलाई पूँजीवादी शोषण विरुद्धको संघर्षमा निरन्तर मार्गदर्शन गर्ने गरिरहेको छ ।

समिक बडाल समिक बडाल
२०८० असार १४ गते १०:३७

नब्बेको दशकमा सोभियत संघको विघटन पश्चात् विश्व राजनीतिमा कम्युनिष्टहरूको प्रभाव कमजोर बन्दै गएको थियो । संघको विघटनले एउटा साम्राज्यको विघटन मात्र गराएन, एउटा राजनैतिक दर्शन र सिद्धान्तको सान्दर्भिकताको सन्दर्भमा समेत गम्भीर प्रश्नचिहृन खडा गरेको थियो । विश्वभर कम्युनिष्ट व्यवस्थाहरू कमजोर बन्दै जान थालेका थिए । समाजवादी विचारधारा कमजोर बन्दै र नवउदारवादी पूँजीवादी व्यवस्था विश्व अर्थ-राजनीतिमा एकछत्र रूपमा स्थापित हुँदै गएको थियो ।

यसै सन्दर्भर्मा नेपालको राजनीतिमा पनि कम्युनिष्ट व्यवस्थालाई पुनर्गठित र पुनःपरिभाषित गर्नुपर्ने अवस्थाको सृजना भएको थियो । नेपालमा विभक्त कम्युनिष्ट राजनीतिलाई एकीकृत गर्न, परिवर्तित विश्व व्यवस्थाको पृष्ठभूमिमा नेपालमा कम्युनिष्ट राजनीतिको सान्दर्भिकता पुनःपुष्टि गर्न र नेपालको परिवर्तित व्यवस्थामा कम्युनिष्ट आन्दोलनलाई बहुदलीय प्रजातान्त्रिक व्यवस्था अनुकूल विकसित गर्दै जान जनताको बहुदलीय जनवाद -जबज)को प्रस्ताव स्थापित भयो । नेकपा एमालेका महासचिव मदन भण्डारीले २०४९ माघ महिनामा आयोजना भएको पार्टीको पाँचौं महाधिवेशनमा यस दस्तावेजलाई प्रस्तुत गर्नुभयो ।

जनताको बहुदलीय जनवाद (जबज) नेपालको तत्कालीन समयको राजनैतिक कार्यक्रमको रूपमा प्रस्तावित भयो र क्रमिक रूपमा नेपालको मौलिक राजनैतिक सिद्धान्तको रूपमा स्थापित हुँदै गयो । राजनीतिले समाजका हरेक अवयवलाई परिभाषित गरेको हुन्छ । जबज एक राजनैतिक दस्तावेज हो तसर्थ यसले पनि समाजका पृथक् आयामहरूलाई परिभाषित गरेको छ । यस लेखमा जबजको दृष्टिकोणमा विद्यार्थी राजनीतिका मूल्य, मान्यता र कार्यभारलाई परिभाषित गर्न प्रयास गरिनेछ ।

विद्यार्थी नै सामाजिक, राजनैतिक, आर्थिक, सांस्कृतिक आन्दोलनका मूल संवाहक हुन् । आजका विद्यार्थीको सिकाइले भोलिको भविष्य निर्दिष्ट गर्ने गर्दछ । विद्यार्थीको माध्यमबाट नै आजको ज्ञान परिमार्जित हुँदै, नवीनतम अभ्यास अवलम्बन गर्दै भविष्यको ज्ञान निर्माणको दिशा अगाडि बढ्दछ । विश्वका हरेका समाजलाई अगाडि बढाउने सन्दर्भमा सो समाजका विद्यार्थीको नेतृत्वदायी भूमिका रहृयो । विश्वका हरेक आन्दोलनलाई प्रभावकारी र निर्णायक बनाउने सन्दर्भमा विद्यार्थी नै अग्रपंक्तिमा रहे ।

२००७ सालदेखिका नेपालका हरेक आन्दोलनमा विद्यार्थीको नै मुख्य भूमिका रहृयो । जुन आन्दोलनमा विद्यार्थी सहभागी भए, ती आन्दोलन प्रभावकारी र सफल रहे, जुन आन्दोलनमा विद्यार्थीको सहभागिता कम रहृयो ती आन्दोलन निर्णायक बन्न सकेनन् । हजारौं माओवादी सेनाहरूले मात्रै स्थापित गर्न नसकेको गणतन्त्र अनेरास्ववियुका विद्यार्थी नेताहरूको सक्रियतासँगै सडकबाटै सफलताको दिशातर्फ अगाडि बढ्यो ।

नेपालको राजनीतिमा गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता जस्ता आम सरोकारका मुद्दालाई राजनैतिक रूपमा स्थापित गर्ने कार्य २०४७ सालको संविधानलाई आलोचनात्मक समर्थन गर्दै मदन भण्डारीले प्रस्तुत गरेका असहमतिका २७ बुँदा मार्फत भएको थियो । सोही मान्यताको आधारमा नेकपा (एमाले)को विद्यार्थी संगठन अनेरास्ववियु सधैंभरि अग्रगमनको पक्षधरतामा उभियो । अनेरास्ववियुको अग्रगमनकारी र प्रगतिशील कार्यदिशाको कारणले नै यो विद्यार्थीको सर्वपि्रय संगठनको रूपमा स्थापित भयो । अनेरास्ववियुले व्यवस्था परिवर्तनको आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्‍यो ।

नेपाली विद्यार्थीलाई साम्राज्यवाद विरोधी आन्दोलनहरूमा अग्रसर हुन जनताको बहुदलीय जनवादले सैद्धान्तिक मार्गदर्शन गरिरहेको छ । नेपालमा अन्तर्राष्ट्रिय वित्त संस्था तथा अन्तर्राष्ट्रिय दातृ निकायहरू मार्फत भइरहेको साम्राज्यवादी औपनिवेशीकरणको सशक्त प्रतिवाद गर्नु अत्यावश्यक भइसकेको छ । त्यो नै नेपालको विद्यार्थी आन्दोलनको आजका कार्यभारहरू मध्ये एक हो

यिनै विद्यार्थी नेताहरूको साहसको आडमा २०६२/६३ को आन्दोलन संचालन र सफल भयो । जबजको मूल कार्यदिशा आम जनतालाई सचेत, सङ्गठित र परिचालित गर्ने कार्यभार थियो । जबजको त्यो कार्यभार करिब तीन दशकदेखि अनेरास्ववियुले आत्मसात् गर्दै आएको छ । जसको परिणाम स्वरूप यो संगठन पार्टीलाई ऊर्जाशील कार्यकर्ता उत्पादन गर्ने, संगठित गर्ने, प्रशिक्षित र परिचालित गर्ने कार्यमा क्रियाशील छ । अनेरास्ववियुका नेताहरू सधैंभरि पार्टीलाई अग्रगामी तथा प्रगतिशील दिशातर्फ निर्देशित गर्न अग्रसर हुन्छन् ।

मातृ पार्टीका नेताहरू गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतामा अनिर्णयको बन्दी बनिरहेको बेला अनेरास्ववियुका नेता तथा कार्यकर्ताले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको विगुल फुकेका थिए । त्यसको दबाब स्वरूप अन्ततः मूल पार्टीले पनि यी मुद्दाहरूलाई प्राथमिकताका साथ अंगीकार गर्‍यो ।

विद्यार्थी कुनै पनि समाजको सबैभन्दा तार्किक, न्यायिक, तथ्यपरक, समतामूलक समूह हो । विद्यार्थी स्वभावैले तथ्यपरक, समतामूलक र न्यायिक हुन्छन् जसको कारण उनीहरूले समाजलाई प्रगतिशील मार्गमा डोर्‍याउने गर्दछन् । अनौपचारिक रूपमा भन्दा विद्यार्थी कुनै पनि समाजको सबैभन्दा सभ्य समूह हो । आजको विद्यार्थीको प्रतिभाले नै उक्त समाज कुन दिशामा अगाडि बढ्छ भन्ने निक्र्योल हुने गर्दछ । विद्यार्थी नै समाज विकासका संवाहक हुन् । नवीनतम सोच र प्राविधिक क्षेत्रको ज्ञान र प्राज्ञिक ज्ञानले विद्यार्थीलाई आम मानिस भन्दा चतुर, तीक्ष्ण र चुस्त बनाएको हुन्छ ।

जनताको बहुदलीय जनवाद (जबज)को लक्ष्य नेकपा (एमाले)को माध्यमबाट नेपालमा गरिबी, अभाव तथा सबै प्रकारका शोषण र असमानतालाई अन्त्य गरी प्रगतिशील, विकासित, सम्पन्न र समृद्ध समाज निर्माण गर्नु हो । जबजको यस लक्ष्य प्राप्तिको दिशामा विद्यार्थी वर्ग नै सबैभन्दा भरपर्दो वर्गीय समूहको रूपमा देखा परेको छ । जबजकै सैद्धान्तिक निर्देशन अनुरूप नेपालको विद्यार्थी आन्दोलन गरिबी र शोषणको विरोध तथा समतामूलक समृृद्ध निर्माणको दिशामा अग्रपंक्तिमा क्रियाशील छ र त्यसको नेतृत्व अनेरास्ववियुले गर्दै आएको छ । वैज्ञानिक समाजवाद हुँदै साम्यवादसम्मको लक्ष्य प्राप्तिको मार्ग अवलम्बन गरेको प्रगतिशील दस्तावेज जबज र नवीनतम सोचका प्रवर्तक विद्यार्थीबीचको सामञ्जस्यबाट मात्र नेपालका प्रमुख राजनैतिक समस्याको समाधानको अपेक्षा गर्न सकिन्छ ।

जनताको बहुदलीय जनवाद (जबज)को अर्को मूलभूत लक्ष्य भनेको साम्राज्यवाद र विस्तारवादका चक्रहरूबाट मुलुकलाई सुरक्षित गर्नु हो । सामन्तवाद र दलाल नोकरशाही पूँजीवादको अन्त्य गर्नु हो । अहिलेको विश्व व्यवस्थामा साम्राज्यवाद र विस्तारबाट आयात र निर्यातको मार्ग हुँदै कुनै पनि राष्ट्रिय परिधिमा प्रवेश गर्ने गर्दछ र राष्ट्रिय स्वाधीनतालाई संकुचित गर्न थाल्दछ । जबजले एकैपल्ट साम्राज्यवाद, विस्तारवाद, सामन्तवाद, दलाल नोकरशाही पूँजीवादको विरोधको संकल्प गरेको छ । नेपालको विद्यार्थी आन्दोलनको जग पनि साम्राज्यवाद, विस्तारवाद, सामन्तवाद र दलाल नोकरशाही पूँजीवाद विरुद्धको संघर्षमा अडिएको छ ।

सोभियत संघको पतन पश्चात् विश्व व्यवस्थामा अमेरिकी साम्राज्यवादको एकल दबदबा स्थापित भयो । दिन प्रतिदिन अमेरिकाले विश्वका विभिन्न स्थानमा आफ्नो नियन्त्रण स्थापित गर्ने जबरजस्त प्रयत्न निरन्तर कायम राख्यो । जसको कारण आजसम्म पनि विश्वका केही भूभागमा दशकौंदेखि युद्धहरू संचालनमा रहेका छन् । विगतमा भियतनाम, कम्बोडिया र दक्षिण अमेरिकी मुलुकहरूमा संचालित युद्धहरूमा अमेरिकाको प्रत्यक्ष संलग्नता रहृयो भने हाल अफगानिस्तान, इराक, सिरिया र युक्रेनमा संचालन भइरहेको युद्धहरूमा पनि अमेरिकाको प्रत्यक्ष संलग्नता रहेको छ । जसको कारण लाखौं नागरिकले ज्यान गुमाइसकेका छन् । आजको युगमा साम्राज्यवादले नयाँ-नयाँ स्वरूपमा औपनिवेशीकरण र कमजोर मुलुकहरूलाई शोषण गर्दै गएको देखिन्छ । आजको औपनिवेशीकरण अन्तर्राष्ट्रिय वित्त संस्थाहरू तथा अन्तर्राष्ट्रिय दातृ निकायहरू म्ाार्फत हुने गरेको छ ।

हालैका दिनमा नेपालमा अन्तर्राष्ट्रिय वित्त संस्थाहरू तथा अन्तर्राष्ट्रिय दातृ निकायहरू म्ाार्फत साम्राज्यवादको हस्तक्षेपको कारण नेपाली सार्वभौमिकता अत्यन्त कमजोर बन्दै गएको छ । अन्तर्राष्ट्रिय दातृ निकायहरू म्ाार्फत प्रवाह भएको ऋणको दुष्चक्रमा नेपाल फसिसकेको छ । फलतः नेपाल ऋणको ब्याज तिर्न ऋण लिनुपर्ने अवस्थामा पुगेको छ ।

त्यस्तै नेपालमा साम्राज्यवादको निर्देशनमा दातृ निकायहरू मार्फत संचालित विकास परियोजनाले नेपालको नीतिगत व्यवस्थालाई पराधीन बनाउँदै लगेका छन् । विभिन्न निकायले मनमौजी तरिकाले आफ्ना नीतिहरू हस्तक्षेपकारी रूपमा लागू गर्नाले नेपालको आफ्नो मौलिक नीतिगत विकासको अवधारणा कमजोर बन्दै गएको छ । नेपालका विकासका परम्परागत र स्थानीय आयामहरू विस्थापित हुँदैछन् । जसको कारण नेपाल अत्यन्त अस्थिर विकासका अवधारणामा फस्दै गएको छ ।

आरामदायी र सुरक्षित भविष्यको कामना हरेक विद्यार्थीको आँखामा हुन्छ । आफू बाँच्ने विश्व व्यवस्था युद्धरहित होस् भन्ने कामना विद्यार्थीको हुने गर्दछ । तसर्थ, विश्वभरका विद्यार्थी सधैंभरि साम्राज्यवादी नीतिहरूको विरोधमा संघर्षरत छन् । जबजले पनि नेपालमा साम्राज्यवादको हस्तक्षेपको अन्त्य नगरी नेपाली क्रान्ति सफल नहुने निष्कर्ष निकालेको छ । नेपाली विद्यार्थीले पनि निरन्तर अमेरिकाको नेतृत्वमा विश्वका विभिन्न भागमा भइरहेका हिंसात्मक हस्तक्षेपको विरोध गर्दै आएका छन् ।

नेपाली विद्यार्थीलाई साम्राज्यवाद विरोधी आन्दोलनहरूमा अग्रसर हुन जनताको बहुदलीय जनवादले सैद्धान्तिक मार्गदर्शन गरिरहेको छ । नेपालमा अन्तर्राष्ट्रिय वित्त संस्था तथा अन्तर्राष्ट्रिय दातृ निकायहरू मार्फत भइरहेको साम्राज्यवादी औपनिवेशीकरणको सशक्त प्रतिवाद गर्नु अत्यावश्यक भइसकेको छ । त्यो नै नेपालको विद्यार्थी आन्दोलनको आजका कार्यभारहरू मध्ये एक हो ।

भारतीय विस्तारवादी नीति नेपालको राष्ट्रियता माथिको सबैभन्दा ठूलो चुनौती हो । भारतले नेपालमा सिमाना मिच्ने कामहरू मात्र गरेको छैन, नेपालका प्राकृतिक स्रोत र साधनहरूमा आफ्नो एकल आधिपत्य स्थापित गर्दै गएको र बजारमा एकाधिकार स्थापित गरेको छ । विगतमा भएका असमान सन्धिहरूको फाइदा उठाउँदै निरन्तर नेपाललाई असमान सम्बन्धको दुष्चक्रमा फसाउँदै लगेको छ । असमान व्यापार, वाणिज्य, पारवहन, जलस्रोत र सीमा सम्बन्धी सन्धि तथा सम्झौताहरूको माध्यमबाट भारतले नेपालको सार्वभौमसत्तामा निरन्तर हस्तक्षेप जारी राखेको छ ।

विगतको नाकाबन्दीले नेपाल-भारत सम्बन्धको जटिलतालाई उच्च बिन्दुसम्म पुर्‍याएको थियो । उक्त नाकाबन्दीले नेपालको राजनीतिमा भारतीय हस्तक्षेप कुन तहसम्म छ भनेर सतहमा नै ल्याएको थियो । नेपालको राजनीति, प्रशासनयन्त्र र अर्थतन्त्रमा भारतीय हस्तक्षेप नाकाबन्दीको अवस्थासम्म आइपुग्दा राष्ट्रियता माथिको गम्भीर आधारको तहमा पुगिसकेको थियो । भारत नेपालमा संविधान जारी हुन नदिने र नेपाललाई असफल राष्ट्रको दिशामा अगाडि बढाउने प्रयत्नमा थियो । नाकाबन्दीमा नेपालले गरेको प्रतिरोधको कारण भारत नेपालमा आफ्नो हस्तक्षेपकारी कदमलाई केही कदम पछाडि फर्काउन बाध्य भएको थियो । तर, हालैका दिनमा अप्रत्यक्ष रूपमा अरूले लगानी गरेर नेपालमा उत्पादन गरेको बिजुली नकिन्ने भारतको नीतिले नेपालको जलस्रोतमा भारतको एकाधिकार स्थापित हुने खतरा बढ्न थालेको छ ।

जनताको बहुदलीय जनवादलाई आम नेपाली विद्यार्थीमाफ पुर्‍याउने र क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने जिम्मेवारी फेरि पनि विद्यार्थी आन्दोलनको काँधमा रहेको छ

नेपालमा भइरहेको राजनैतिक अस्थिरता र अपवित्र गठबन्धनहरूको फाइदा उठाउँदै भारतले नेपाल माथिको आफ्नो हस्तक्षेप बढाउँदै लगेको छ । नेपाली बजारमा भारतीय उत्पादनको सहज पहुँच हुने तर, भारतीय बजारमा नेपाली उत्पादनले सहज पहुँच नपाउने असमान व्यवहार भारतीय पक्षबाट देखिंदै आएको छ । फलतः नेपाली बजारमा भारतीय सामग्रीहरूको आधिपत्य रहने तर, वनस्पति घ्यू, अदुवा, अलैंची, चिया तथा तरकारीहरू भारत निर्यातको प्रयास गर्दा नाकामा नै कुहिने अवस्थाको सृजना भएको छ । जनताको बहुदलीय जनवादले भारतसँग रहेका असमान सन्धि तथा सम्झौताहरूलाई निरस्त गर्ने र पञ्चशीलको आधारमा सन्धिहरू नवीकरण गरेर समानतामूलक सम्बन्ध स्थापित गर्ने लक्ष्य राखेको छ ।

नेपाली विद्यार्थी आन्दोलन राष्ट्रियताको सन्दर्भमा सदैव अग्रपंक्तिमा रहँदै आएको छ । आज नेपालको राष्ट्रियतालाई सबैभन्दा खतरा भएको अर्को पक्ष भनेको दलाल पूँजीवादी व्यवस्था हो । नेपालमा नोकरशाही राज्यसंयन्त्र र नवउदारवादी नीतिगत व्यवस्थाले दलाल पूँजीवादलाई पक्षपोषण गरिरहेको छ । नेपालको अर्थतन्त्रलाई क्रमिक रूपमा पराधीन बनाउँदै लगिएको छ भने त्यसलाई पक्षपोषण गर्न नेपालका शिक्षा र स्वास्थ्य नीतिलाई पूँजीवाद अनुकूल बनाउँदैछ ।

संविधानले आफ्नो लक्ष्यको रूपमा समाजवादको स्थापनालाई राखे पनि व्यवहारमा नेपाल पूर्ण रूपमा पूँजीवादी शोषणको चंगुलमा फस्न थालेको छ । विश्वका अन्य देशमा जस्तै नेपालमा पनि दलाल नोकरशाही पूँजीवादलाई अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादले पक्षपोषण गरिरहेको छ । त्यसैको परिणाम स्वरूप देशका ५० लाखभन्दा बढी युवाहरू विदेशिन बाध्य छन् भने राष्ट्रिय उत्पादनमा ह्रास आउँदै जान थालेको छ । नीतिगत व्यवस्थाको असफलताको स्वरूप नेपाल रेमिट्यान्सको ‘हनी ट्रयाप’मा फस्दै गएको छ ।

जनताको बहुदलीय जनवादको एउटा महत्वपूर्ण पक्ष भनेको दलाल नोकरशाही पूँजीवाद विरुद्धको संघर्ष पनि हो । कम्युनिष्ट पार्टी र सर्वहारावर्गको संयुक्त प्रयासमा नै दलाल पूँजीवाद विरुद्धको संघर्ष अगाडि बढ्न सक्ने कल्पना जबजले गरेको छ । नेपालको विद्यार्थी आन्दोलन सुरुवातदेखि नै समाजका दमन र शोषण विरुद्धको आन्दोलनको रूपमा स्थापित छ । हाल नेपालमा चलिरहेको पूँजीवादी शोषणको विरुद्धमा पनि विद्यार्थी आन्दोलन क्रियाशील बन्दै आएको छ । जबजको सैद्धान्तिक मार्गदर्शनले विद्यार्थी आन्दोलनलाई पूँजीवादी शोषण विरुद्धको संघर्षमा निरन्तर मार्गदर्शन गर्ने गरिरहेको छ ।

यसरी नेपालको विद्यार्थी आन्दोलनलाई सामन्तवाद, दलाल नोकरशाही पूँजीवाद, साम्राज्यवाद, विस्तारवाद विरुद्धको संघर्षमा जनताको बहुदलीय जनवादले सैद्धान्तिक मार्गदर्शन गर्दै आएको छ । जबजकै सैद्धान्तिक मार्गदर्शनमा नेपालको पूँजीवादी क्रान्तिले एउटा सफलता हासिल गरेको छ, जसको आधार विद्यार्थी आन्दोलनले सृजना गरेको थियो । नेपालको संविधानले समाजवाद उन्मुख अर्थ-राजनीतिक व्यवस्थाको परिकल्पना गरेतापनि संविधानले प्रत्याभूत गरेका शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता युवा विद्यार्थीको सरोकारका रूपमा रहेका मौलिक हकहरूको कार्यान्वयनमा चुनौती देखा परेको छ ।

यसलाई पूर्ण रूपमा कार्यान्वयन गर्न विद्यार्थी संगठनले बृहत् आन्दोलन मार्फत खबरदारी गर्नुपर्ने देखिन्छ । साथै उच्च शिक्षाको अवसरबाट वञ्चित विद्यार्थीलाई स्वदेशमै उच्च शिक्षाको सहज पहुँचको आवश्यकता छ । दिनानुदिन प्रतिभा पलायनको सामना गर्नु परिरहेको वर्तमान अवस्थामा विश्वविद्यालय शिक्षालाई रोजगारी र उत्पादनसँग जोड्नलाई अभियान आवश्यक छ ।

जनताको बहुदलीय जनवादलाई आम नेपाली विद्यार्थीमाफ पुर्‍याउने र क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने जिम्मेवारी फेरि पनि विद्यार्थी आन्दोलनको काँधमा रहेको छ । जबजका मान्यतालाई आत्मसात् गर्दै विद्यार्थी आन्दोलनलाई राष्ट्रिय उत्पादनको वृद्धि गर्दै राष्ट्रिय स्वाधीनताको रक्षामा केन्द्रित गर्न सकेमा क्रान्तिका बाँकी कार्यभारलाई पनि विद्यार्थी आन्दोलनको बलमा सफलतामा पुर्‍याउन सकिने सम्भावना छ र हामी सबै सोही दिशामा केन्दि्रत हुनुपर्दछ ।

(लेखक अनेरास्ववियुका अध्यक्ष हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?