+
+

नारायणगढ-मुग्लिन सडकखण्ड तत्काल नखुल्ने, बिहान अवस्था हेरेर पहिरो पन्छाइने

सुवास पण्डित सुवास पण्डित
२०८० असार १४ गते २२:५०

१४ असार, चितवन । पहिरोले अवरुद्ध बनेको नारायणगढ-मुग्लिन सडकखण्ड आज रातभर नखुल्ने भएको छ ।

दिउँसो साढे १ बजेबाट पूर्ण रुपमा अवरुद्ध बनेको सडक खुलाउने प्रयास गरे पनि निरन्तर सुख्खा पहिरो आएका कारणले सडक खुलाउन सम्भव नभएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डीएसपी विजयराज पण्डितले जनाएका छन् ।

मुग्लिनबाट करिब २ किलोमिटर नारायणगढतर्फ इच्छाकामना गाउँपालिका वडा नं. ५ मा पर्ने तुइन खोला भन्ने ठाउँमा बिहानैदेखि पहिरो झरेको थियो । सो ठाउँमा पुल बनाउन भन्दै ६० मिटर अग्लो पहाड काट्ने काम गरिए पनि नसकेपछि मुग्लिन नारायणगढ सडक आयोजनाले यसै छाडेको थियो ।

तुइन खोलाको नारायणगढतर्फको भागमा पहिरो झरेको छ । बिहान झरेको पहिरो पन्छाएर सञ्चालनमा आए पनि दिउँसो साढे १ बजे पुनः पहिरो आएपछि सडक दुईतर्फी अवरुद्ध बनेको हो ।

डीएसपी पण्डितका अनुसार आज रातभर पहिरो पन्छाउने काम जोखिमका कारणले गर्न नसकिएकोले पहिरो पन्छाउन राखिएका डोजरलाई फिर्ता पठाइएको छ । शुक्रबार बिहान ३ बजेतिर अवस्था हेरेर डोजर बोलाई सडक खुलाउने प्रयास गरिने डीएसपी पण्डितले अनलाइनखबरलाई जानकारी दिए । ‘अहिले त सम्भव नै भएन, रात परेर अँध्यारो भयो, ठाडो भीर भएकाले झरिरहेको छ, पन्छाउन जान सक्ने अवस्था नै भएन,’ उनले भने, ‘बिहान पहिरो झर्न रोकिने वित्तिकै पन्छाउन लाग्छौं ।’

सडकमा सवारीको लामो लाइन छ । कयौं सवारी साधनहरु फर्किएका छन् । मुग्लिन, कुरिनटार, आँबुखैरेनी लगायतका क्षेत्रका होटलमा यात्रुहरु बास बस्न गएका छन् । पहिरो झर्ने ठाउँ वरपर कुनै पनि सवारी साधन राख्न नदिइएको डीएसपी पण्डितले बताए ।

काठमाडौंबाट भरतपुरतर्फ आएका ठूला सवारीसाधन मुग्लिन र कुरिनटार क्षेत्रमा तथा नारायणगढबाट काठमाडौं, पोखरातर्फ जाँदै गरेका सवारीसाधन जलबीरे, जुगेडी क्षेत्रमा रोकिएका छन् ।

बर्खा लागेसँगै नारायणगढ–मुग्लिन सडक खण्डमा पटक–पटक पहिरो जाने र बाटो बन्द हुने गरेको छ । बर्खा लागिसकेपछि पहिरो जाने सम्भावित ठाउँको अध्ययन थालिएको थियो । विश्व बैंकको सहयोगमा अध्ययन गरिए पनि हालसम्म रिपोर्ट बुझाइएको छैन ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?