+
+

एमाले अब व्यवस्थापिकाको नेतृत्वमा मात्रै

अनलाइनखबर अनलाइनखबर
२०८० असार १५ गते १६:२८

१५ असार, काठमाडौं। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत नपाएसँगै नेकपा एमाले सातै प्रदेश र संघमा प्रतिपक्षी दल बन्न पुगेको छ। नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) ले समर्थन फिर्ता लिएपछि एमाले नेता कार्कीले शुक्रबार विश्वासको मत लिएका थिए।

तर कार्कीले सरकार जोगाउन एक सिट कम पाए। सरकारलाई निरन्तरता दिनुपर्ने पक्षमा एमालेका ४० र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ६ सांसदले मात्रै मतदान गरे। विपक्षमा ४३ मत परेको छ। यसले नयाँ सरकार निर्माण थप अन्योलमा परेको छ।

तर कार्कीले विश्वासको मत नपाएसँगै एमाले सातै प्रदेश सरकारबाट अलग भएको छ। १० पुसमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा सहित सात दलको गठबन्धन बनाएर एमाले सत्तामा गएको थियो।

त्यही गठबन्धनबाट गएको २४ पुसमा मुख्यमन्त्री नियुक्त भएका थिए । तर कार्कीलाई समर्थन गर्ने माओवादी केन्द्र र जसपाले समर्थन फिर्ता लिएर नयाँ गठबन्धन निर्माणको अभ्यासतिर लागेका छन् ।

एमालेले त्यसबेला कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री पाएको थियो भने बागमती र कर्णालीको मुख्यमन्त्री माओवादी केन्द्रले लिएको थियो । मधेश प्रदेशमा जसपाले नेतृत्व लिएको थियो ।

तर माओवादी र जसपाले नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा जाने निर्णय लिएसँगै एमाले नेतृत्वको सरकार ढल्न थालेको हो । २७ पुसमा सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्त एमाले नेता राजेन्द्र रावल विश्वासको मत नपाएर एकमहिनामै पदमुक्त भएका थिए । त्यहाँ अहिले कांग्रेस नेतृत्वको सरकार छ ।

सुदूरपश्चिमसँग एकैदिन (२७ पुसमै) लुम्बिनीको मुख्यमन्त्री नियुक्त एमाले नेता लिला गिरी गत १० वैशाखमा पदमुक्त भए । माओवादीले समर्थन फिर्ता लिएपछि गिरीले विश्वासको मत लिदा अल्पमतमा परे ।

यसको एक दिन अगाडि गत ९ वैशाखमा एमाले नेता खगराज अधिकारी मुख्यमन्त्रीबाट पदमुक्त भएका थिए । २५ पुसमा माओवादी, राप्रपा र स्वतन्त्र सांसदको समर्थनमा अधिकारी मुख्यन्त्री नियुक्त भएका थिए । तर गत १० चैतमा समर्थन फिर्ता लिएपछि अधिकारी पदमुक्त भए । मधेश, बागमती र कर्णाली सरकारबाट पनि एमाले अलग भइसकेको छ ।

यी प्रदेशहरु मध्ये कोशी, मधेश र लुम्बिनीमा एमाले पहिलो दल हो । बागमती र गण्डकीमा दोस्रो दल रहेको एमाले कर्णाली र सुदूरपश्चिममा तेस्रो शक्ति हो ।

प्रतिनिधिसभामा पनि दोस्रो शक्ति रहेको एमाले सबैतिर प्रतिपक्षी बन्ने परिस्थिति भने राष्ट्रपतिको निर्वाचनसँगै माओवादीले गठबन्धन बदल्नु हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्व सहमति तोड्दै राष्ट्रपतिमा कांग्रेसका रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेपछि एमालेले संघीय सरकारबाट समर्थन फिर्ता लिएको थियो । त्यसपछि सत्ताबाट बाहिरिन थालेको एमाले बिहीबार कोशीमा पुगेर टुंगिएको छ ।

अब एमाले १० पुसको सहमति अनुसार, आफ्नो भागमा परेको संघ र प्रदेश व्यवस्थापिकाको नेतृत्वमा मात्रै छ । प्रतिनिधिसभाको सभामुखमा देवराज घिमिरे छन् ।

कोशीमा उपसभामुख सिर्जना दुनुवार, मधेशमा सभामुख रामचन्द्र मण्डल, बागमतीमा उपसभामुख अप्सरा चापागाइँ, गण्डकीको उपसभामुखमा बिनाकुमारी थापा, कर्णालीमा सभामुख नन्दा गुरुङ र सुदूरपश्चिमको उपसभामुखमा कोइलीदेवी चौधरी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?