+
+

दयाहाङलाई भ्याईनभ्याई : ‘राजागञ्ज’लगत्तै ‘डिग्री माइला’, अर्को वर्ष ‘कबड्डी ५’

अनलाइनखबर अनलाइनखबर
२०८० असार १८ गते १३:०५
अभिनेता दयाहाङ राई । फाइल तस्वीर

काठमाडौं । लगातार दुई ब्लकबस्टर- कबड्डी ४ र जारी । लगातार दुई हिट- फूलबारी र के घर के डेरा । २०७९ र ८० सालको प्रारम्भ दयाहाङ राईका लागि लाभदायक बन्यो । दयाहाङले अभिनय गरेका यी चार फिल्मको कुल कमाइ जोड्दा ५० करोडभन्दा माथिको ग्रस कलेक्सन हुन आउँछ ।

बिहेपास र नीरफूलले बक्स अफिसमा कमाल देखाउन नसके पनि राईको अभिनय यात्रा बक्स अफिस सफलतासँगै अघि बढिरहेको छ ।

फिल्मको यो चटारोबीच दयाहाङले लगातार फिल्म साइन गरिरहेका छन् । उनले हालै ‘नांगो गाउँ’ र ‘दिमाग खराब’को छायांकन सके । ‘दयारानी’ र ‘गाउँ आएको बाटो’ प्रदर्शनको तयारीमा छन् । आगामी बिहीबारदेखि ‘हात्तीछाप’ सुटिङ हुँदैछ । ‘राजागञ्ज’ र ‘डिग्री माइला’ उनका प्रतीक्षित फिल्म हुन् जुन निर्माणको तयारीमा छन् ।

हालै उनले अर्को फिल्म ‘कार्साङ’ पनि साइन गरे । यी त भए औपचारिक रुपमै निश्चित भएका प्रोजेक्ट । प्रस्ताव आएका तर निधो नभएका दर्जनभन्दा फिल्म पेन्डिङमा छन् । यस्तोमा २०८० र ८१ साल अहिलेदेखि नै दयाहाङका लागि व्यस्त हुने देखिन्छ । उनले जस्ता फिल्महरु साइन गरेका छन् यिनले बक्स अफिसमा राम्रै कमाइ गर्न सक्ने प्रक्षेपण गरिएको छ ।

२०८१ सालमा दयाहाङको प्रतीक्षित ‘कबड्डी ५’ निर्माणको तयारी छ । निर्माताले कबड्डीको पाँचौं श्रृंखलाको लागि प्रि-प्रोडक्सन थालेका छन् ।

दयाहाङ यतिबेला यति व्यस्त छन् कि फिल्मको कार्यशाला, अभिनय र प्रवर्द्धनबाहेक उनको दैनिकीमा अर्को तालिका छैन । ‘राजागञ्ज’को घोषणा हुँदै गर्दा उनी अबको चार दिन ‘हात्तीछाप’को वर्कसपमा व्यस्त हुनेछन् । यो फिल्म बिहीबारदेखि सुटिङ हुँदैछ । त्यसपछि उनी ‘राजागञ्ज’मा व्यस्त हुनेछन् । त्यसपछि ‘डिग्री माइला’ उनको अर्को प्रतीक्षित प्रोजेक्ट हो ।

‘सबैतिर मिलाएर समय व्यवस्थापन गरिरहेको छु । टाइम मिलाएर काम गरिरहेको छु,’ उनले भने । यीबाहेक अन्य केही नाम चलेका ब्यानरले पनि दयाहाङलाई अफरको प्रयत्न गरिरहेका छन् । तर उनले यसबारे निधो दिइसकेका छैनन् । रिलिज फिल्मलाई आधारभन्दा दयाहाङको कुल फिल्म संख्या ५० नाघेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?