
१८ असार, काठमाडौं । लगातार तेस्रो दिन पनि सेयर बजार उच्च अङ्कले घटेको छ । गत साता बुधबारदेखि घट्न थालेको नेप्से सोमबार लगातार तेस्रो दिन पनि घटेको हो ।
आइतबार ५३.७० अंकको उच्च गिरावट भएको नेप्से सोमबार उताचढावबीच २१.३२ अङ्कले घटेर २०७५.९७ विन्दुमा झरेको छ । यो १.०२ प्रतिशतको गिरावट हो । सोमबार नेप्सेमा ६४ हजार ८६८ कारोबारबाट ९४ लाख १८ हजार ९५२ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा ४ अर्ब ५ करोड १० लाखको कारोबार भएको छ ।
घटेको बजारमा लगानीकर्ताले सेयर बिक्री गर्न नचाहेको देखिएको छ । जसले गर्दा नेप्सेमा कारोबार रकम घट्दै गएको छ । लगातार ५ अर्बमाथिको कारोबार भइरहेको बजारमा सोमबार कारोबार रकम घटेको हो । सोमबार नेप्सेमा होटल तथा पर्यटन र व्यापार उपसूचकमा वृद्धि हुँदा अन्य सबै उपसूचकमा गिरावट भएको छ । होटल तथा पर्यटन उपसूचक २.०७ प्रतिशतले वृद्धि हुँदा व्यापार उपसूचक ०.६६ प्रतिशतले वृद्धि भएको छ ।
अरु सबै उपसूचकमा कम गिरावट भएका छ । म्युचुअल फण्ड, लघुवित्त, उत्पादनमूलक हाइड्रोपावर र बैंकिङ उपसूचकमा १ प्रतिशत भन्दा माथिको गिरावट हुँदा जीवन बीमा उपसूचक सर्वाधिक १.८३ प्रतिशतले गिरावट भएको छ ।
घट्दो बजारमा सोमबार हिमालयन लाइफ इन्स्योरेनसको सेयमरा लगानीकर्ताको आकर्षण देखिएको छ । ३ वटा कम्पनी मर्जर भई कारोबार खुलेको केही दिन मात्रै भएको कम्पनीको सेयर सोमबार २३ करोड ९४ लाखको कारोबार भएको छ । यस्तै सोल्टी होटलको २० करोड ९४ लाख रुपैयाँको कारोबार हुँदा नागरिक लगानी कोषको २० करोड ३३ लाख रुपैयाँको कारोबार भएको छ ।
सोमबार नेप्सेमा कुल २२५ सूचीकृत कम्पनीका सेयर कारोबार भएका छन् । जसमध्ये १७४ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ४१ कम्पनीको सेयरमूल्य बढेको छ । सोमबार कारोबार भएकामध्ये सीवाईसी नेपाल लघुवित्त र बीपीडब्लु लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । त्यस्तै सिटी होटल लिमिटेडको सेयरमूल्य ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको हो ।
आँधीखोला लघुवित्तसँग मर्जरपछि सोमबारबाट मात्रै सेयर कारोबार खुलेको सीवाईसी लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।
लक्ष्मी इक्विटी फण्डको इकाइमूल्य सर्वाधिक ८.९५ प्रतिशतले गिरावट हुँदा सामुदायिक लघुवित्तको सेयरमूल्य ७.१३ प्रतिशत र पाँचथर पावर कम्पनीको सेयरमूल्यमा ६.०१ प्रतिशतले गिरावट भएको हो ।
प्रतिक्रिया 4