+
+

हिमालय रोडिजको पाँचौं सिजन साउन ८ गतेदेखि प्रसारण हुने

अनलाइनखबर अनलाइनखबर
२०८० असार १८ गते १७:२८

काठमाडौं । हिमालय रोडिज सिजन-५ आगामी साउन ८ गतेदेखि प्रसारण हुने भएको छ । सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा यो साहसिक रियालिटी शोका प्रायोजकसँग सम्झौता गरिएको छ । साथै शोमा अनुबन्धित ग्याङ लिडर र होस्ट पनि सार्वजनिक गरियो ।

‘पावर अफ फाइभ’को थिममा निर्माण भएको यसपटकको रोडिजलाई सुरजसिंह ठकुरीले होस्ट गर्दैछन् । प्रियंका कार्की ग्याङ लिडरको रुपमा जोडिएकी छन् । र्‍यापर आशिष राना लाउरे, अभिनेता अनुपविक्रम शाही र अभिनेत्री दीया मास्के ग्याङ लिडरको रुपमा छन् ।

समारोहमा हिमालय टिभी एचडीका अध्यक्ष धर्मराज भुसाल र मुख्य प्रायोजक यामाहा नेपालका व्यवस्थापन निर्देशक विष्णु अग्रवालसहित अन्य प्रायोजकसँग सम्झौतापत्रमा हस्ताक्षर भयो । इन एसोसिएसनमा माउन्टेन ड्यु, स्टाइल बाईमा प्रोस्टाइल, एसोसिएट स्पोन्सरमा केएफसी, सफ्टारिका कलेज, युनाइटेड अजोड इन्स्युरेन्स र एचपी लुब्रिकेन्ट र मेडिकल पार्टनरको रुपमा स्टार अस्पताल छन् । बजार व्यवस्थापन पार्टनर मिडिया सेन्स छ ।

हिमालय टिभीका अध्यक्ष भुसालले पाँचौं सिजन पनि दर्शकमाझ लोकप्रिय हुने विश्वास व्यक्त गरे । यामाहा नेपालका प्रवन्ध निर्देशक अग्रवालले मुख्य प्रायोजकको रुपमा हिमालय रोडिजसँग जोडिन पाउँदा खुसी लागेको बताए । चौथो सिजनलाई १.९ मिलियन दर्शकले हेरेको तथ्य उनले प्रस्तुत गरे । यामाहाको ब्राण्ड भ्यालु नै स्पोर्टी भएकाले रोडिजसँग जोडिएको उनले बताए । पाँचौं सिजनसँग पनि युवा दर्शक जोडिने आशा आफूले राखेको उनले बताए ।

हिमालय टिभीका कार्यकारी निर्देशक श्याम कँडेलले पछिल्लो समय नेपाली टेलिभिजनमा युवा दर्शक बढेको र रोडिजको पाँचौं सिजन अघिल्लाभन्दा भव्य र परिष्कृत हुने बताए । शोका निर्देशक सिमोस सुनुवारले सिजन ५ मा कार्यक्रमको संरचनामा केही परिवर्तन गरी पाँचजना ग्याङ लिडरको टिमबीच रोचक प्रतिस्पर्धा गराइएको बताए ।

कोरोना महामारीका कारण अघिल्ला सिजनमा फिजिकल अडिसन गर्न नसकिएको भए पनि यो सिजनमा डिजिटल र फिजिकल दुवै अडिसनमार्फत प्रतिभाको छनोट गरिएको सिमोसले बताए । समारोहमा ग्याङ लिडरहरु अनुप र प्रियंकाले पाँचौं सिजनमा आफ्नो भूमिका र अपेक्षाबारे कुरा राखे । प्रियंकाले आफ्ना लागि पूर्णरुपमा नयाँ अनुभव भएको बताइन् ।

कार्यक्रम होस्ट सुरजले अडिसनका क्रममा ७० वर्षका वृद्धदेखि अन्य रोचक पात्रहरुले अडिसन दिएको बताए । ‘कोही ७० वर्ष पुगेको वृद्ध, कोही मुटुमा प्वाल परेको युवा र कोही डाक्टरले २२ वर्षभन्दा बढी बाँच्दैनस् भन्ने युवा अडिसन दिन आएका थिए । यसले रोडिजप्रतिको क्रेज पुष्टि हुन्छ,’ उनले भने ।

डिजिटल अडिसनमा ४ हजार ४०० र फिजिकल अडिसनतर्फ १ हजार ११६ जना सहभागी भएका थिए । एमटीभी इन्डियाको फर्म्याटमा आधारित भएर हिमालय रोडिजले २०७५ सालदेखि नेपालमा प्रसारण थालेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?