+
+

भियतनामले हलिउड फिल्म ‘बार्बी’को प्रदर्शनमा लगायो रोक

अनलाइनखबर अनलाइनखबर
२०८० असार १९ गते १३:३०

काठमाडौं । नेपालमा समेत प्रदर्शनको तयारीमा रहेको प्रतीक्षित हलिउड फिल्म ‘बार्बी’लाई भियतनामका अधिकारीहरुले प्रदर्शनमा प्रतिबन्ध लगाएका छन् । मार्गोट रोबी र रायन गोस्लिङ अभिनित वार्नर ब्रदर्स स्टुडियोको यो फिल्म आगामी साउन ६ गते विश्वभर प्रदर्शन हुँदैछ । यो फिल्मलाई हलिउडमा गर्मी यामको प्रतीक्षित फिल्म मानिएको छ ।

फिल्मको एक दृश्यमा समावेश गरिएको ‘नाइन ड्यास लाइन’को एक नक्साप्रति भियतनामले आपत्ति जनाएको हो । चीनले दक्षिणी चिनियाँ सागरको उक्त क्षेत्रमा आफ्नो दाबी गरिरहेको छ । तर भियतनामले उक्त चिनियाँ दाबीलाई सार्वभौमसत्ताको उल्लंघन भनेको छ ।

नेपाल चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले सामरिक कूटनीतिको यो विवादलाई कसरी प्रतिक्रिया जनाउँछ, यो भने हेर्न बाँकी नै छ । नेपालले ‘एक चीन नीति’प्रति पटक–पटक प्रतिबद्धता जनाउँदै आएको छ भने असंलग्न परराष्ट्र नीतिलाई विदेश नीतिको मूल आधार मान्दै आएको छ ।

संस्कृति, खेलकुद र पर्यटन मन्त्रालय अन्तर्गत भियतनाम सिनेमा विभागका महानिर्देशक भि किएन थान्हले सोमबार राष्ट्रिय चलचित्र मूल्यांकन परिषद्ले प्रतिबन्ध लगाउने निर्णय गरेको बताए ।

भियतनाम लगायत चीनका धेरै छिमेकीले उक्त भूभाग मिचिएको दाबी गर्दै आएका छन् । उनीहरुले चिनियाँ दाबीलाई कडाइका साथ विरोध गर्दै आएका छन् । सन् २०१६ मा हेगमा संयुक्त राष्ट्र संघको विवाद समाधान न्यायाधिकरणले ’नौ ड्यास लाइन’को वैधताविरुद्ध सर्वसम्मतिले निर्णय गरेको थियो । यद्यपि, दक्षिण चीन सागर विवादमा मध्यस्थता गर्ने कुनै स्पष्ट संयन्त्र छैन । चीनले हेगको उक्त निर्णयलाई मान्यता नदिने बताउँदै आएको छ ।

‘हामी अमेरिकी फिल्म बार्बीलार्ई भियतनाममा रिलिज गर्न लाइसेन्स प्रदान गर्दैनौं किनभने यसमा नाइन–ड्यास लाइनको अपमानजनक दृश्य समावेश छ,’ राज्य सञ्चालित टोइ ट्रे नामक अखबारले अधिकारीहरुलाई उध्दृत गर्दै लेखेको छ । ‘नाइन ड्यास लाइन’को उक्त चित्रणले पहिले पनि भियतनाममा धेरै फिल्म र टिभी शृङ्खलाहरूको लागि समस्या निम्त्याएको छ । ड्रिमवर्क्सको एनिमेटेड फिल्म ‘एबोमिनेबल’लाई सन् २०१९ मा सोही कारणले प्रतिबन्ध लगाइएको थियो र गत वर्ष सोनीको ‘अनचार्टर्ड’ले पनि त्यस्तै नियति भोगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?