+
+

सरकारले दिने खर्चले नै सम्भव छ धेरैजसो क्यान्सरको उपचार

डा. अरुण शाही डा. अरुण शाही
२०८० असार १९ गते १४:३२

हाम्रो शरीरमा अनगिन्ती कोषिकाहरु हुन्छन् । यसमध्ये नयाँ बन्ने कोष र कोषिकाहरुको वृद्धिको क्रम सामान्य अवस्थामा कोषभित्र रहेको डीएनएले नियन्त्रण गरिरहेको हुन्छ । तर खराब जीवनशैली र बाह्य वातावरणीय प्रतिकूलताको कारण कोष तथा कोषिकाहरुको वृद्धि अनियन्त्रित हुन्छ । कोषिकाहरुको अनियन्त्रित वृद्धि हुनु नै क्यान्सर हो । क्यान्सर आफैंमा गम्भीर प्रकारको रोग हो । अहिलेसम्म संसारभरिमा २०० भन्दा बढी क्यान्सर पत्ता लागिसकेको छ ।

नेपालमा फोक्सोको क्यान्सर, पेटको क्यान्सर, ठूलो आन्द्राको क्यान्सर, मुखको क्यान्सर र रगतको क्यान्सर बढी देखिएको छ । महिलाहरूमा भने पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, डिम्बाशयको क्यान्सर धेरै देखिएको छ ।

क्यान्सर लाग्नासाथ मान्छेको ज्यान नै जान्छ भन्ने कुरा शतप्रतिशत सही होइन । अपवादबाहेक प्राय: क्यान्सर सुरुवाती समयमै पत्ता लागे पूर्ण निको हुन्छ । क्यान्सर लाग्ने बित्तिकै नेपालीहरूको दिमागमा उपचार खर्च एकदमै धेरै हुन्छ, उपचारको लागि विदेश लैजानुपर्छ भन्ने कुरा आइहाल्छ । किनकि धेरैलाई नेपालमा क्यान्सरको राम्रो र पूर्ण उपचार सम्भव छैन भन्ने पनि लाग्छ । तर नेपालमा ९५ प्रतिशत क्यान्सरको उपचार हुन्छ ।

रोगको पहिचान नै ढिलो

कुनै गम्भीर समस्या नभई बिरामीहरू अस्पताल पुग्दैनन् । मानौं कुनै बिरामीलाई अत्यधिक पेट दुख्यो भने ऊ पहिले पेटको जाँच गर्न अस्पताल जान्छ । पेटको डाक्टरले पेटको जाँच गर्छ नदुख्ने औषधि दिन्छन् । केही समय निको हुन्छ । त्यसपछि फेरि समस्या देखियो भने डाक्टरले सम्पूर्ण जाँच गराउँछन् । त्यसपछि मात्र बिरामी क्यान्सर डाक्टरकहाँ पुग्छन् । डाक्टरले कस्तो क्यान्सर हो, कुन स्टेजको हो भनेर मूल्याकंन गर्छन् । कुनै क्यान्सर पहिचान गर्न त भारत वा अन्य देशमा पठाउनुपर्छ । त्यसको रिपोर्ट आउन पनि समय लाग्छ । यसरी रोगको पहिचानमा नै धेरै समय लागेपछि समस्या झन् बढिसकेको हुन्छ । त्यसैले समयमै क्यान्सरको पहिचान गर्नेतर्फ व्यक्ति र सरकारले ध्यान दिनुपर्छ ।

क्यान्सरको पहिचान गर्न धेरै खर्च लाग्छ भन्ने भ्रम पनि छ । तर बिरामीले रगत जाँच, कलेजो जाँच,  मिर्गौला जाँच, पिसाबको जाँच,  हड्डीको जाँच र भिडियो अक्सरे गर्‍यो भने ७० देखि ८० प्रतिशत क्यान्सरको लक्षण देखिन्छ । लगभग चारदेखि पाँच हजार रुपैयाँमा क्यान्सरको पहिचान हुन्छ । त्यसैले ५० वर्ष काटेका व्यक्तिहरूले वार्षिक रूपमा यी जाँचहरू गर्नुपर्छ । जसले गर्दा पहिचान छिट्टै हुन्छ र उपचार पनि सहज हुन्छ ।

क्यान्सरको उपचार

नेपालमा क्यान्सर रोगलाई हेर्ने दृष्टिकोण नै अन्य रोगको भन्दा फरक छ । यो रोग लागेपछि ‘सम्पत्ति र मान्छे दुवै सकिन्छ’ भन्ने समाजमा धारणा छ । आर्थिक अवस्था कमजोर भएका बिरामीलाई रोगले भन्दा पनि चिन्ताले धेरै पिरोल्छ । रोग लाग्यो अब उपचार खर्च कसरी जुटाउने भनेर बिरामी लागि पर्छन् । जसले गर्दा उपचारमा ढिलाइ हुन्छ र रोग अझै बल्झिसक्छ ।

क्यान्सर रोग लाग्ने बित्तिकै सरकारले एक लाख रुपैयाँ बिरामीलाई दिने गर्छ त्यसबारेमा धेरैलाई थाहा नै छैन । आर्थिक स्थिति कमजोर भएका बिरामीहरूले पहिले सरकारले दिने एक लाख रुपैयाँ लिएर उपचार गर्दै अन्य उपचार खर्च जुटाउनतिर लागेको खण्डमा समयमा उपचार पनि हुन्छ र खर्च पनि कम लाग्छ ।

ढिलो पहिचान गरेर ढिलो उपचार भयो भने उपचार नै सम्भव नहुन पनि सक्छ । क्यान्सर मात्र होइन, ढिलो रोग पत्ता लागे मिर्गौलाको समस्या, मुटुको समस्या र अन्य समस्यामा पनि बिरामीको ज्यानै जाने खतरा हुन्छ । अन्य रोगको तुलनामा क्यान्सरको पहिचान ढिलो हुने भएकाले नै क्यान्सरको बिरामी अन्य बिरामी जस्तो पूर्ण रूपमा निको नहुन हो ।

उपचारपछि क्यान्सर निको हुन्छ ?

पहिलो, दोस्रो र तेस्रो स्टेजको क्यान्सर ८० देखि ९० प्रतिशत निको हुन्छ । त्यसमा  १० देखि १५ प्रतिशत दोहोरिन पनि सक्छ । पाठेघरको मुखको क्यान्सर त झन् चौथो स्टेजको पनि निको हुन्छ । तेस्रो स्टेजसम्मको प्राय: सबै क्यान्सर निको हुन्छ । चौथो स्टेजको क्यान्सर भने पाँचदेखि १० प्रतिशत मात्र निको हुन्छ ।

सरकारले दिने उपचार खर्चले धेरै क्यान्सरको उपचार सम्भव छ

सरकारले क्यान्सरका बिरामीलाई दिने सहुलियत एक लाख रुपैयाँले धेरै क्यान्सरको उपचार सम्भव छ । पहिलो, दोस्रो स्टेजको क्यान्सरमा ७० देखि ८० प्रतिशत खर्च त्यही रकमले धान्छ । सरकारी अस्पतालमा निजीको तुलनामा खर्च पनि कम लाग्छ, त्यसैले बिरामी आत्तिनुभन्दा पनि छिटो उपचार गर्नतिर लाग्नु पर्छ ।

यो सरकारले दिने रकम कसरी पाइन्छ भन्ने बिरामीले मेलोमेसो पाएका हुँदैनन् । जसले गर्दा बिरामीलाई यो झन्झटिलो होला भन्ने लाग्छ । तर क्यान्सरको उपचार खर्चबापत सरकारले दिने रकम पाउन झन्झटिलो छैन ।

सरकारको सहुलियत रकम लिन विपन्न बिरामीले स्थानीय तहको वडा कार्यालयमा निवेदन दिई सिफारिस लिनुपर्छ ।  जसका लागि चिकित्सकको प्रेस्क्रिप्सन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाबालकको हकमा जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि र निवेदन  सम्बन्धित स्थानीय तहमा पेश गर्नुपर्छ । स्थानीय तहको सिफारिसको आधारमा बिरामीले सूचीकृत अस्पतालबाट सहुलियत रकम बराबरको सेवा निःशुल्क पाउँछन् ।

क्यान्सरको सबै बिरामीलाई एकै प्रकारको सहुलियत दिदा बिरामी मारमा

सबै प्रकारको क्यान्सरको बिरामीलाई एक लाख रुपैयाँको सहुलियत रकम दिनु गलत हो । क्यान्सरको प्रकृति, स्टेजअनुसार सरकारले रकम थपघट गर्नुपर्छ । एक प्रकारको ‘कोरियोकार्सिनोमा’क्यान्सर १० देखि १५ हजारमा नै निर्मूल हुन्छ । पहिलो स्टेजको स्तन क्यान्सर पनि थोरै खर्चबाट पनि निको हुन्छ । तर तेस्रो र चौथो स्टेजको क्यान्सरको उपचरमा उपचार खर्च पाँच लाखभन्दा माथि पनि लाग्छ । त्यसैले सबै क्यान्सर बिरामीलाई एक लाख रुपैयाँ दिनुभन्दा क्यान्सरको प्रकृति र स्टेजअनुसार सहुलियत रकम दिइनुपर्छ ।

यही वर्षबाट सरकारले बच्चाको क्यान्सरमा लगभग ३० देखि ४० वटा औषधि निःशुल्क दिने भनेको छ । त्यसरी नै वयस्कका लागि पनि औषधि उपचार खर्चको बारेमा सरकारले सोच्नुपर्छ ।

क्यान्सरको उपचारमा पाटन अस्पताल अब्बल

क्यान्सरको औषधि अन्यको तुलनामा महंगो हुन्छ । दुई हजारदिख आठ लाखसम्म पर्ने औषधिहरू हुन्छन् । पाटन अस्पतालले अमेरिकाको ‘म्याक्स फाउन्डेसन’सँग समन्वय गरेर विभिन्न क्यान्सरमध्ये केही क्यान्सरको निःशुल्क औषधि उपलब्ध गराइरहेको छ ।

एक किसिमको रगतको क्यान्सर ‘सीएमएल’को सम्पूर्ण औषधि पाटन अस्पताल र भरतपुर अस्पतालमा निःशुल्क पाइन्छ । त्यस्तै ‘जिस्ट’ एक किसिमको पेटको क्यान्सर यसको पनि सम्पूर्ण औषधि निःशुल्क पाइन्छ ।

एक किसिमको फोक्सोको क्यान्सर ‘रोस वान’को औषधि, एक किसिमको मिर्गौलाको क्यान्सरको औषधि निःशुल्क पाइन्छ । साथै ‘मेटासेटिक’ स्तन क्यान्सरको औषधि पनि पाटन अस्पतालमा निःशुल्क पाइन्छ ।

सरकारी अस्पतालमा उत्कृष्ट डाक्टरहरू छन् । उपचार खर्च पनि कम लाग्छ, त्यसैले पाटनजस्तै अन्य सरकारी अस्पताललाई पनि व्यवस्थित  र सर्वसुलभ बनाउनतर्फ सरकारले ध्यान दिनुपर्छ । सरकारी अस्पतालको क्षमता र गुणस्तर बढाउनैपर्छ ।

सरकारले उपचारमा सहुलियतभन्दा पनि क्यान्सरको रोकथाममा लगानी बढाउनुपर्छ

सरकारले रोग लागिसकेपछि उपचारमा सहुलियत दिनुभन्दा रोग नै लाग्न नदिन के गर्ने भन्ने कुरामा ध्यान दिनुपर्छ । सुर्तीजन्य पदार्थको सेवनबाट हुने क्यान्सरलाई न्यूनीकरण गर्न सुर्तीजन्य पदार्थ सेवनलाई निरुत्साहित गर्नुपर्छ ।

वातावरण प्रदूषणको कारण हुने क्यान्सरलाई न्यूनीकरण गर्न वातावरण प्रदूषणलाई कम गर्नुपर्छ । मोटोपनको कारण हुने क्यान्सरको न्यूनीकरण गर्न प्रशोधित खाना, प्याकेट बन्द खानाको सेवनले स्वास्थ्यमा पर्ने असरको बारेमा जनचेतना फैलाउने कुरामा सरकारले चासो देखाउनुपर्छ ।

साथै सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप सबै बालिकामा निःशुल्क उपलब्ध गराउने लगायतका कुरामा ध्यान दिएमा क्यान्सरको बिरामी नै कम हुन्छन् ।

(क्यान्सररोग विशेषज्ञ डा. शाहीसँग अनलाइनखबरकर्मी सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?