+
+

ललितानिवास प्रकरणमा अन्तरिम आदेश खारेजीको माग गर्दै प्रहरी पुग्यो सर्वोच्च

अनलाइनखबर अनलाइनखबर
२०८० असार १९ गते १५:५४

१९ असार, काठमाडौं । ललितानिवास जग्गा अनियमितता प्रकरणमा सर्वोच्च अदालतले १७ जनालाई पक्राउ नगर्नू भनी दिएको आदेश खारेजीको माग गर्दै नेपाल प्रहरी अदालत पुगेको छ ।

१५ महिनाअघि न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले हदम्यादमा प्रश्न उठाई ललितानिवास जग्गा प्रकरणका १७ जना आरोपितलाई पक्राउ र धरपकड नगर्नु भनी अन्तरिम आदेश दिएको थियो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले ललितानिवास जग्गा प्रकरणमा किर्ते आरोपमा अनुसन्धान अघि बढाएपछि १२ असारमा पक्राउ परेका ७ मध्ये कलाधर देउजा, सुरेन्द्रमान कपाली र हुपेन्द्रमणि केसी सोही अन्तरिम आदेश देखाएर रिहा भएका थिए ।

पक्राउ परेकाहरु अदालतको अन्तरिम आदेश देखाएर छुटेपछि प्रहरी प्रधान कार्यालय र केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) सर्वोच्च अदालत पुगेको हो । दुवै निकायले अन्तरिम आदेश त्रुटीपूर्ण रहेको भन्दै खारेज हुनुपर्ने माग गरेका छन् ।

बालुवाटारस्थित ललितानिवासको १४३ रोपनी जग्गा व्यक्तिको नाममा नामसारी गरेको अनियमितता प्रकरणमा सीआईबीले अनुसन्धान अघि बढाइरहेको थियो । त्यतिबेलै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

विशेषमा भ्रष्टाचार मुद्दा परेपछि भ्रष्टाचारका आरोपित कलाधर देउजा, सुरेन्द्रमान कपाली, हुपेन्द्रमणि केसी लगायत १७ जना सर्वोच्च अदालत गएका थिए ।

हदम्याद छ : प्रहरी

नेपाल प्रहरीले ललितानिवास प्रकरणको जग्गा किर्तेवारे अनुसन्धान गर्ने हदम्याद कायमै रहेको दावी गरेको छ । किर्ते आरोपमा अनुसन्धानका लागि हाल सीआईबीको हिरासतमा रहेका मीनबहादुर गुरुङ, धर्मप्रसाद गौतम र सुधीरकुमार शाहले दायर गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनको जवाफ दिने क्रममा प्रहरीले यो प्रकरणमा हदम्याद कायमै भएकाले अनुसन्धान अघि बढेको जिकिर गरेको हो ।

आरोपितहरु जग्गा अनियमिततामा संलग्न देखिएको र उनीहरुलाई पक्राउ गर्न जिल्ला अदालतबाट अनुमति समेत रहेको भन्दै प्रहरीले स्वास्थ्य अवस्था प्रतिकुल भएकाहरुलाई अस्पताल लगेर उपचार गर्ने सुविधा दिएकाले गैरकानुनी र अमानवीय रुपमा थुनामा नराखिएको जिकिर गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?