+
+

१० महिनामै प्रणालीबाट किन बाहिरिए साढे ३५ हजार करदाता ? 

अच्युत पुरी अच्युत पुरी
२०८० असार २० गते १९:४९

२० असार, काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०७९/८० को १० महिनामै राजस्व प्रणालीबाट साढे ३५ हजार करदाता बाहिरिएका छन् । अर्थ मन्त्रालयका अनुसार वैशाख मसान्तसम्म साढे ३५ हजार करदाताको दर्ता खारेज भएको हो । वैशाखसम्म ३५ हजार ३ सय ८९ जना करदाताको दर्ता खारेज भएको मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

आन्तरिक राजस्व विभागका प्रवक्ता राजुराज प्याकुरेलका अनुसार सामान्यतया व्यवसाय बन्द गर्ने क्रम अनुसार दर्ता खारेजी गरिन्छ । करदाताले निवेदन दिएर कतिपय अवस्थामा पेन्डिङमा रहेका फाइलहरु समेत रहेका हुन्छन् । यस्ता फाइलहरुलाई लामो समय पेन्डिङमा नराखी फरफारक गर्दै जान विभागले मातहतका सबै कार्यालयलाई निर्देशन दिएको उनले जानकारी दिए । सोही अनुसार यस वर्ष करदाताको दर्ता खारेजीको संख्या ठूलो देखिएको हो ।

मन्त्रालयको तथ्यांक अनुसार वैशाखसम्म अन्तःशुल्क दर्ता मात्र २ हजार ४२९ वटा खारेज भएको छ । मूल्य अभिवृद्धि कर खारेजीको संख्या ४ हजार ६०७ वटा रहेको छ ।

विज्ञहरुका अनुसार एकसाथ ठूलो संख्यामा करदाताको दर्ता खारेजी हुनुले आन्तरिक अर्थतन्त्र समस्यामा छ र व्यवसाय बन्द भइरहेको छ भन्न सकिने संकेत गर्छ ।

करविज्ञ तथा सीए शेषमणि दाहाल अन्तःशुल्क र मूल्य अभिवृद्धि करको दर्ता खारेजीको संख्या ठूलो देखिनुको पछाडि दुई वटा कारणले भूमिका खेलेको हुन सक्ने अनुमान गर्छन् ।

उनका अनुसार एउटा कारण अर्थतन्त्रमा आएको मन्दीले पसल–व्यवसाय बन्द हुने क्रम बढेको छ ।

अर्को कारण कम्पनी/फर्म खोल्न जति सजिलो प्रावधान छ, अब बन्द गर्न समेत त्यति सहज बन्दै गएको संकेत यो तथ्यांकले गर्छ । यस अवस्थामा जुन प्रयोजनका लागि फर्म/कम्पनी खुलेको थियो, सो अनुसार काम नगरेका फर्महरु दर्ता खारेजीको प्रक्रियामा गए । जसका कारण एकसाथ ठूलो संख्यामा दर्ता खारेजीमा गएको देखिने उनको भनाइ छ ।

‘२ हजार ४२९ वटा अन्तःशुल्क खारेजीको संकेत यति नै संख्यामा रक्सी पसल बन्द भए भन्न सकिने अवस्था हो,’ उनले भने ।

त्यसो त यस आवमा राजस्व संकलनमा आएको कमीले समेत आन्तरिक अर्थतन्त्र सहज अवस्थामा नरहेको संकेत गरेको छ । मंगलबारसम्म कर राजस्व ८ खर्ब ६८ अर्ब ४९ करोड रुपैयाँ संकलन भएको छ । यो कुल लक्ष्यको ६१.९ प्रतिशत मात्र हो ।

यस आवमा सरकारले १४ खर्ब ३ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ । यस वर्ष भन्सार मात्र नभई आन्तरिक रुपमा समेत आर्थिक गतिविधि प्रभावित भएको स्वयम् अर्थ मन्त्रालयले स्वीकार गरिसकेको छ ।

प्यान खारेजीको संकेत 

तथ्यांक अनुसार वैशाखसम्म व्यावसायिक स्थायी लेखा नम्बर १५ हजार ७१६, व्यक्तिगत स्थायी लेखा नम्बर १२ हजार ६३५ र करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बर २ वटाको दर्ता खारेज भएको छ । स्थायी लेखा नम्बर खारेजीले समेत व्यावसायिकतर्फ व्यवसाय बन्द गरेको अवस्थालाई नै चिनिने करविज्ञ दाहाल बताउँछन् ।

व्यक्तिगत प्यान नम्बर खारेजीले भने व्यक्तिको मृत्यु भएको अवस्था वा देश छोडेको अवस्थामा स्वतः त्याग गरेको अवस्थालाई जनाउँछ ।

तर, विगतमा एउटै व्यक्तिका नाममा धेरै प्यान नम्बर जारी भएको नजिरका आधारमा यस वर्ष आन्तरिक राजस्व कार्यालयले दोहोरोपन हटाउँदा समेत ठूलो संख्यामा प्यान खारेजीमा परेको हुन सक्ने विभागका प्रवक्ता प्याकुरेलले बताए ।

उनका अनुसार प्यानले कर विवरण पेश गर्नु पर्दैन । सोहीकारण दोहोरो परेकोमा एक व्यक्ति एक प्यान गरी अन्य प्यान नम्बर खारेज गरिन्छ । मूल्य अभिवृद्धि कर कानुन अनुसार केही दर्ताहरु लामो समयसम्म विवरण नबुझाएर ‘ननफाइलर’का रुपमा रहेकाहरु समेत खारेज हुन सक्ने प्रावधान रहेको उनको भनाइ छ ।

कति छन् देशभर करदाता ?

अर्थ मन्त्रालयका अनुसार अहिले देशभर स्थायी लेखा नम्बर लिने करदाताको संख्या ५४ लाख ३३ हजार ८२४ रहेको छ । जसमा व्यक्तिगत स्थायी लेखा नम्बर लिने ३५ लाख ३७ हजार २४८ र व्यावसायिक स्थायी लेखा नम्बर लिनेको संख्या १८ लाख ७० हजार ४५७ रहेको छ ।

वैशाखसम्म देशभर करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बर २६ हजार ११९, मूल्य अभिवृद्धि करमा दर्ता भएका करदाता ३ लाख ७ हजार १२७ र अन्तःशुल्कमा दर्ता हुने करदाता १ लाख १८ हजार ९६१ रहेको छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?