+
+

‘सालार’को टिजर रिलिज, एक्सन अवतारमा प्रभास

अनलाइनखबर अनलाइनखबर
२०८० असार २१ गते ११:५१

काठमाडौं । ‘आदिपुरुष’को बक्स अफिस पराजयपछि दक्षिण भारतीय अभिनेता प्रभासले आफ्नो आगामी फिल्म ‘सालार’बाट धेरै आशा राखेका छन् । यसैबीच बिहीबार निर्माण पक्षले फिल्मको टिजर सार्वजनिक गरेको छ । टिजरमा हाई भोल्टेज एक्सन र जबर्जस्त स्टन्टका साथै प्रभासको शक्तिशाली झलक देखाइएको छ ।

टिजरमा दिग्गज अभिनेता टिनु आनन्द र अभिनेता पृथ्वीराज सुकुमारनले पनि दर्शकको ध्यान खिचेका छन् । यो फिल्म आगामी असोज ११ गते रिलिज हुँदैछ । निर्माण पक्षले फिल्मको पहिलो भागको नाम ‘सालारः द सिज फायर पार्ट-१’ राखेको छ । यस्तो अवस्थामा फिल्मको अर्को भाग पनि बन्ने अपेक्षा गरिएको छ ।

‘सालार’लाई प्रशान्त नीलले निर्देशन गरेका हुन्, जसले ‘केजीएफ’जस्ता बलियो एक्सन फिल्मलाई निर्देशन गरेका छन् । फिल्मको टिजर सार्वजनिक हुनेबित्तिकै प्रभासका फ्यानमा उत्साह बढेको छ । यो टिजर रिलिज भएको चार घण्टामै करिब एक करोड पटक हेरिएको छ । यससँगै टिजरलाई फ्यानबाट निकै सकारात्मक प्रतिक्रिया मिलिरहेको छ ।

टिजरको सुरुवात एक व्यक्ति (टिनु आनन्द) कारमा बसेकोबाट हुन्छ । धेरै मानिस उसतर्फ राइफल र अन्य हतियारहरू देखाउँदै उभिएका छन् । उनीहरु विदेशी भाषामा बोलिरहेका छन् । त्यसपछि टिनु आनन्द भन्छन्, ‘सिम्पल इङ्लिस, नो कन्फ्युज । चितुवा, बाघ, हात्ती धेरै खतरनाक हुन्छन् । तर जुरासिक पार्कमा होइन । किनकि त्यो पार्कमा…’ भन्दै गर्दा टिनु पात्रको बोली रोकिन्छ । यसपछि दृश्य काटिन्छ र प्रभास हातमा चक्कु र राइफल लिएर शत्रुलाई मारिरहेको देखिन्छ ।

प्रभासबाहेक टिजरमा खलनायकको भूमिकामा रहेका पृथ्वीराज सुकुमारन पनि छन् । व्यापार विश्लेषक मनोबल विजयबलनले ट्वीटरमा लेखेका छन्, ‘केजीएफ २ को क्लाइमेक्समा रकी भाइमाथि आक्रमण हुन्छ र त्यसपछि रकीको जहाज समुद्रमा डुब्छ । अब प्रभासको सालारको टिजर रिलिज गर्ने समय पनि त्यही राखिएको छ ।’ यस्तो अवस्थामा केजीएफ र सालारबीचको सम्बन्ध जोड्नका लागि यो प्रशान्त नीलको केही शक्तिशाली योजना हो भन्ने अनुमान गरिएको छ । सालारको टिजर हेरेपछि फ्यानले यसको भाइब ठ्याक्कै केजीएफ जस्तै भएको बताएका छन् ।

फिल्ममा श्रुति हासन र जगपति बाबुको पनि मुख्य भूमिका छ । फिल्म तेलुगू, तमिल, कन्नड, मलायालम र हिन्दी भाषामा रिलिज हुनेछ । प्रभास र प्रशान्त नीलले यो फिल्ममार्फत पहिलो पटक सहकार्य गरेका हुन् । एसएस राजामौली निर्देशित ‘बाहुबलीः द बिगिनिङ’ र ‘बाहुबलीः द कन्क्लुजन’ यता प्रभासको कुनै राम्रो फिल्म छैन । उनको फिल्म आदिपुरुषबाट दर्शकले ठूलो आशा राखेका थिए । तर फिल्म नराम्रोसँग फ्लप भयो । यति मात्र होइन, आदिपुरुषले प्रभासको करिअरमा पनि नकारात्मक प्रभाव पारेको छ । यस्तो अवस्थामा प्रभासलाई सालारबाट धेरै आशा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?