+
+

नेपाली फिल्म ‘गुराँस’को चेक गणतन्त्रमा विश्व प्रिमियर

अनलाइनखबर अनलाइनखबर
२०८० असार २२ गते १२:१४

काठमाडौं । युरोपेली मुलुक चेक गणतन्त्रमा आयोजित द कार्लोभी भारी इन्टरनेसनल फिल्म फेस्टिभलमा नेपाली फिल्म ‘गुराँस’को प्रिमियर गरिएको छ । अभिनेत्री मेनुका प्रधानसहित फेस्टिभलमा पुगेका निर्देशक सौरभ राईले प्रिमियरमा खचाखच दर्शकले फिल्म हेरेर रुचाएको जानकारी दिए ।

‘दर्शक पनि खचाखच हुनुहुन्थ्यो र फिल्म हेरेर धेरैले इमोसनल भएको प्रतिक्रिया दिनुभयो । यो हाम्रा लागि पहिलो दर्शक प्रतिक्रिया थियो । यसले हामीलाई सन्तुष्ट बनाएको छ,’ उनले भने ।

स्थानीय समयानुसार बुधबार अपरान्ह ४ बजे फिल्मको स्क्रिनिङ भएको थियो । अभिनेत्री प्रधानका लागि यो पहिलो विश्व प्रिमियर समेत हो । उनले अन्तर्राष्ट्रिय फेस्टिभलमा आफ्नो यो पहिलो अनुभव हुने भन्दै फेस्टिभलमा धेरैभन्दा धेरै फिल्म हेर्ने योजना रहेको बताएकी थिइन् ।

हराएको कुकुरको खोजीमा निस्किएकी १० वर्षीय बालिकाको आँखाबाट वाचन गरिएको फिल्मले दार्जिलिङको बदलिंदो आर्थिक र सामाजिक सम्बन्धको कथा प्रस्तुत गर्छ । फिल्मले दुई पुस्ताका चरित्रमार्फत छोरी र आमाबुबाको फरक-फरक चिन्तालाई पनि उजागर गर्ने प्रयास गरेको छ ।

‘गुराँस’लाई लोआईक्यु प्रोडक्सनसँगै रामकृष्ण पोखरेल र सञ्जय गुँलाटीले निर्माण गरेका हुन् । फिल्ममा तुलसी खवासले ‘गुराँस’को रुपमा शीर्ष भूमिका निर्वाह गरेकी छन् फिल्ममा खगेन्द्र लामिछानेको पनि अभिनय छ ।

फिल्मको प्राविधिक काम मुम्बईमा गरिएको थियो । छायांकन सुबल केआरले गरेका हुन् भने सम्पादन सौरभ राई र अंकिता पुरकायस्थले गरेका हुन् । अंकिता फिल्मको साउन्ड डिजाइनर पनि हुन् । अंकिताले यसअघि नेटफ्लिक्स सिरिज ‘बेताल’, ‘टाइपराइटर’, ‘कोटा फ्याक्ट्री’ र अमेजन प्राइमको सिरिज ‘पञ्चायत’मा पनि काम गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?