+
+

विश्वकप क्रिकेट छनोट : नेपालको लागि राम्रो सिकाइ

अनलाइनखबर अनलाइनखबर
२०८० असार २२ गते १८:५७

२२ असार, काठमाडौं । नेपाल लिग टु र एसीसी प्रिमियर कपमा गरेर प्रदर्शन र लयलाई कायम राख्दै विश्वकप छनोट क्रिकेटमा नस केही अप्रत्यासित नतिजा निकाल्दै सुपर सिक्ससम्म पुग्ने लक्ष्य बनाएर जिम्बाव्वे गएको थियो ।

तर समूह चरणमा अमेरिकासँगको एउटा मात्र खेल जितेपछि नेपाल सुपर सिक्समा पुग्न सकेन ।

१० टिम सहभागी छनोट प्रतियोगिता आठौं भएर नेपाली टोली शुक्रबार बिहान स्वदेश फर्किसकेको छ ।

एक महिना भन्दा बढी समय अफ्रिकामा बिताएर नेपाल फर्केका कप्तान रोहितकुमार पौडेल र मुख्य प्रशिक्षक मोन्टी देसाईले नतिजा आफ्नो पक्षमा नआए पनि यस पटक धेरै कुरा सिक्न पाएको बताए ।

तीन टेष्ट राष्ट्र र तीन एसोसिएट टिमसँग खेलेको नेपालले टेष्ट राष्ट्रलाई हराउन सकेन ।

‘हामीले सोचेजस्तो नतिजा आएन । तर धेरै कुरा सिक्न पायौं । फुल मेम्बरसँग प्रतिस्पर्धा गर्न पायौं । राम्रो प्रतिस्पर्धा भयो । टेष्ट टिमलाई जित्नका लागि ब्याटिङ, बलिङ र फिल्डिङ सबैमा राम्रो गर्नुपर्छ । हाम्रो एक दुई वटा कुरा मिस भयो,’ स्वदेश फर्केपछि कप्तान रोहितले भने, ‘ठूलो सिकाइ भनेको टेष्ट टिमसँग खेल्दा ठूलो गेम भन्दा अगाडि कसरी तयारी गर्ने त्यो अनुभव सेयर भयो । अब हामी त्यो अप्लाई गर्न सक्छौं । हाम्रो लागि सिकाइ पनि धेरै महत्वपूर्ण थियो ।’

टेष्ट राष्ट्रसँग खेल्नुअघि नेपाली टिममा धेरै कौतुहलता थियो । वेष्ट इन्डिज र जिम्बाव्वेका बलरहले कस्तो बलिङ गर्लान् भन्ने चासो थियो ।

तर उनीहरुको बलिङ फेस गर्दा र उनीहरुलाई बलिङ गर्दा खासै फरक नभएको कप्तान रोहितले बताए ।

‘टेष्ट राष्ट्रसँग खेल्दा सबैमा उत्साह थियो । वेष्ट इन्डिज र जिम्बाव्वका बलरले कस्तो बलिङ गर्छ भनेर उत्साह थियो । त्यस्तो धेरै फरक भएन तर उनीहरुसँग धेरै अनुभव थियो’, रोहितले भने ।

नेपालले यसअघि हराइसकेका स्कटल्याण्ड र नेदरल्याण्ड्सले यस पटक विश्वकप छनोटमा सनसनी प्रदर्शन गरे । नेदरल्याण्ड्स त १० टिम सहभागी विश्वकप खेल्ने एक्लो एसोसिएट राष्ट्र समेत बन्यो ।

नेदरल्याण्ड्सले वेष्ट इन्डिजलाई हरायो । वेष्ट इन्डिज, जिम्बाव्वे र आयरल्याण्डलाई हराए पनि स्कटल्याण्ड रन रेटमा नेदरल्याण्ड्स भन्दा पछि पर्दै विश्वकपमा पुग्न सकेन ।

स्कटल्याण्ड र नेदरल्याण्ड्सको प्रदर्शनबाट भने नेपाल लगायत अन्य एसोसिएट राष्ट्र मोटिभेट भएका छन् । कप्तान रोहितले नेपालले पनि त्यो लेभलमा खेल्न सक्छ भन्ने उदाहरण यी दुई टिमबाट लिन सक्ने बताए ।

‘स्कटल्याण्ड र नेदरल्याण्ड्सले राम्रो क्रिकेट खेले । हामी त्यही पोजिसनमा छौं र हामीले पनि राम्रो खेल्यौं भने फुल मेम्बरलाई जित्न सक्छौं भन्ने मोटिभेसन भएको छ,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारिसत रोहितले भने, ‘एसोसिएटले टेष्ट टिमलाई जित्दा एकदमै खुशी छौं। हामीले स्कटल्याण्ड र नेदरल्याण्ड्सलाई जितिसकेका छौँ । त्यसले गर्दा पनि हामीलाई आशा जागेको छ र अर्को पटक हामी पनि राम्रो गर्न सक्छौँ भन्ने विश्वास बढेको छ ।’

सातौं स्थानको लागि भएको आफ्नो अन्तिम खेलमा नेपालले आयरल्याण्डलाई कडा चुनौती दिँदै जित नजिक समेत पुगेको थियो । नेपाल सामु टेष्ट राष्ट्रलाई पहिलो पटक हराउने अवसर थियो । तर नेपालले केही गल्ती गर्दा जितबाट बन्चित भएको रोहितले स्वीकारे ।

‘अरु गेम भन्दा पनि आयरल्याण्डको खेल क्रुसियल थियो । अलि सचेत भएर क्याचहरु नसमातेका कारण हामी पछाडी पर्‍यौं । आउने गेममा हामीले त्यहाँबाट सिकेर राम्रो गर्नुपर्छ ।’

रोहितले फिल्डिङमा दबाब भन्दा पनि उत्साह धेरै भएकोले धेरै सोचेर पनि गल्ती भएको हुन सक्ने बताए ।

‘समग्रमा अन्तिम खेलमा राम्रो गरेको थियो । आउने गेममा त्यही अनुसार तयारी गर्छौं ।’

आफ्नो प्रदर्शनबाट निराश रोहित

जिम्बाव्वे जानुअघि लिग टु मा कप्तान रोहित उत्कृष्ट लयमा थिए । केही खेलमा उनले एकल प्रदर्शन गर्दै नेपाललाई जिताएका थिए । त्यसैले पनि रोहितसहित ब्याटरबाट जिम्बाव्वेमा नेपालको ठूलो अपेक्षा पनि थियो ।

यद्यपि रोहितले यस पटक त्यो आशा पूरा गर्न सकेनन् । उनले नेदरल्याण्ड्स विरुद्ध बनाएको ३३ रन नै व्यक्तिगत उच्च रह्यो ।

रोहित आफैं पनि आफ्नो प्रदर्शनबाट सन्तुष्ट रहेनन् । ‘यो पालि म अलि बढी आत्मविश्वासी थिएँ । तर आफ्नो प्रदर्शनबाट अलि निराश छु । सोचे जस्तो दिन सकिनँ,” रोहितले आफ्नै प्रदर्शनको विश्लेषण गरे, ‘समग्रमा टिमको रुपमा राम्रो भयो । जिम्बाव्वे विरुद्ध हामीले राम्रो ब्याटिङ सुरुवात गर्‍यौं । वेष्ट इन्डिङ विरुद्ध पनि बलिङ राम्रो भयो ।’

जिम्बाव्वे विरुद्धको खेलमा कुशल भुर्तेल ९९ रनमा आउट भए । उनले शतक पूरा गर्न नपाएकोमा  दु:ख लागेको रोहितले बताए । छनोटको पहिलो खेलमा घरेलु टोली जिम्बाव्वे विरुद्ध पहिलो ब्याटिङ गर्दै नेपालले राम्रो सुरुवात गरेको थियो ।

९९ रनमा आउट भएर कुशल टेष्ट राष्ट्र विरुद्ध पहिलो शतक प्रहार गर्ने कीर्तिमान बनाउनबाट एक रनले चुके । ‘एकदम नराम्रो फिल भयो । त्यो बेला सबैले सोचेको थियौँ कि अब शतक हुन्छ अनी क्ल्याप गर्ने भन्ने थियो । अकस्मात योर्करमा आउट भयो । केही सोच्नै पाएनौँ । केही रियाक्ट गर्न पाएनौं के भयो ।’

जिम्बाव्वेमा नेपालको लागि सम्भावना देखाउने खेलाडी गुल्सन झाले पनि यो भ्रमणबाट धेरै कुरा सिक्ने अवसर पाएको बताए ।

‘नतिजा हाम्रो फेभरमा नरहे पनि राम्रो खेल्यौं । टेष्ट टिमसँग खेल्दा धेरै कुरा सिक्न पायौं । अरु के सुधार गर्न सकिन्छ त्यो थाहा पायौं,’ गुल्सनले भने, ‘टेष्ट टिमसँग खेल्दा धेरै फरक छैन । फरक भनेको डिसिप्लिन हो । उनीहरु बढी डिसिप्लन हुन्छन् ।’

पहिलो पटक विश्वकप छनोट खेलेका गुल्सनले आफ्नो प्रदर्शन पनि ठिकै भएको र प्ल्याटफर्म पाए राम्रो हुने बताए । ‘मेरो प्रदर्शन ठिकै भयो । अझै राम्रो गर्न सकिन्थ्यो । एकदमै खुशी लागेको छ । यस्तो अवसर आए अझ धेरै खेल्न पाइन्छ ।’

प्रशिक्षक देसाईको नजरमा नेपालको सकरात्मक पक्ष

मोन्टी देसाईको आगमनपछि नेपाली क्रिकेटको अवस्था नै फेरियो । लिग टु मा असम्भव जस्तै देखिएको १२ मध्ये ११ खेलमा जित हात पार्दै नेपाल विश्वकप छनोटमा पुगेको थियो । छनोटमा नेपालले नतिजा सोचेजस्तो ल्याउन नसकेपछि धेरै सकरात्मक पक्ष रहेको प्रशिक्षक देसाईले बताए ।

‘धेरै राम्रो क्षणहरु छन् जसमा गर्व गर्न लायक छ,‘ देसाईले सूची सुनाए, ‘पहिलो खेलमा ओपनिङ पार्टनरसिप, अमेरिका विरुद्ध केसीको स्पेल, वेष्ट इन्डिज विरुद्ध ललितको लेप्ट आर्म स्पीन, अन्तिम खेलमा गुल्सन र सन्दीपको ब्याटिङ साझेदारी र सन्दीपको बलिङ नेपालको हाइलाइटको रुपमा रह्यो ।’

उनले युवा कप्तान रोहितको पनि तारिफ गरे । ब्याटबाट राम्रो प्रदर्शन गर्न नसके पनि रोहितले प्रशिक्षकबाट प्रशंसा पाए । उनले टिमलाई राम्रो नेतृत्व गरेको देसाईले बताए । ‘रोहित लिडरसिप पनि हाइलाइट रह्यो । युवा कप्तानले राम्रोसँग टिमको नेतृत्व गरे ।’

देसाईले नतिजा राम्रो नआए पनि सकरात्मक तरिकाले हेर्नु पर्ने बताए । ‘हामीले चाहेजस्तो नतिजा आएन । तर एक दुई खेल खेलेको भए सुपर सिक्समा पुग्न सकिन्थ्यो । कसलाई के थाहा त्यसपछि के हुन्थ्यो ।’

पछिल्लो पाँच महिना नेपाली क्रिकेटले स्टेप बाई स्टेप खुडकिलो उक्लिरहेको उनले बताए ।

अबको बाटो

पछिल्लो समय नेपाली क्रिकेट अन्तर्राष्ट्रिय रुपमा निकै व्यस्त बनिरहेको छ । अब नेपालले खेल्ने खेलको सूची पनि लामै छ । नेपालले एक साता पछि श्रीलंकामा एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्नेछ । जहाँ टेष्ट राष्ट्रका ए टोली सहभागी हुनेछन् । यस्तै सेप्टेम्बरमा एसिया कप क्रिकेट र त्यसपछि एसियन गेम्समा पनि क्रिकेट खेल्नेछ ।

नोभेम्बरमा घरेलु मैदानमै टी-२० विश्वकपको एसिया छनोट खेल्नेछ ।

अहिले सिकेका कुराहरु आउने प्रतियोगितामा लागु गर्ने कप्तान रोहितले बताएका छन् । ‘अहिले सिकेका कुराहरु अब आउने प्रतियोगिताहरुमा अप्लाई गर्छौं । इमर्जिङ कप आउँछ । त्यसपछि एसियन गेम्स छ एसिया कप छ । त्यसमा राम्रो हुन्छ ।’

रोहितले अब आउने चार वर्षको साइकल नेपाली क्रिकेटका लागि महत्वपूर्ण हुने बताए । ‘अबको आउने चार वर्ष एकदमै महत्वपूर्ण छ । ओडीआई गेमहरु हुने वाला छ । नेदरल्याण्ड्ससँग पनि छ । अरु टिमसँग पनि हुन्छ । टेष्ट नेसन्ससँग खेल्न पाए अझ राम्रो हुनेछ । राम्रो एक्सपोजर हुन्छ,’  रोहितले आगामी योजनाबारे भने, ‘आगामी चार वर्ष धेरै खेल खेल्दै राम्रो गयौं भने अर्को विश्वकपमा छतोट हुने अवस्था धेरै हुन्छ’, अर्को विश्वकप खेल्ने सम्भावनाबारे पत्रकारले सोधेको प्रश्नमा रोहितले भने ।

दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने ग्लोबल टी-२० लिग खेल्न क्यानडा जाने भएकोले यस पटक इमर्जिङ टिम्स एसिया कपमा हुने छैनन् । त्यसमा अरु खेलाडीलाई अवसर मिल्नेछ । ‘अरुलाई चान्स दिने छौं । अरुले अवसर पाउँछन् । एकदमै ठूलो अवसर हुनेछ । सबैले अवसर पाउनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?