+
+
प्रविधि :

थ्रेड्स सुरु भएको ७ घण्टामै १ करोड प्रयोगकर्ता, कसरी प्रयोग गर्ने ?

अनलाइनखबर अनलाइनखबर
२०८० असार २२ गते १९:२४

२२  काठमाडौं । फेसबुकको मातृ कम्पनी मेटाले ट्वीटरलाई टक्कर दिने उद्देश्यका साथ ल्याइएको थ्रेड्स नामक सोसल मिडिया प्लाटफर्मले सुरुवातमै तहल्का मच्चाएको छ ।

बिहीबार  सार्वजनिक गरिएक थ्रेड्स नामक एप सुरूको ७ घण्टाभित्रै १ करोडभन्दा धेरैले डाउनलोड गरेका छन् । मेटाका सीईओ मार्क जुकरबर्गले थ्रेड्स एपमा पहिलो ७ घण्टाभित्रै १ करोडभन्दा धेरैले साइनअप गरेका बताएका हुन् ।

प्रयोगकर्ताको सुरुवाती रुझान हेर्दा इन्स्टाग्रामसँग आबद्ध गरिएको यो एपले माइक्रो ब्लगिङ साइट ट्वीटरलाई ठूलो चुनौति खडा गर्ने देखिएको छ । जबकि ट्वीटर पछिल्लो समय विभिन्न अलोकप्रिय निर्णय तथा अनेक खालका प्राविधिक कमजोरीका कारण अलोकप्रिय बनिरहेको छ ।

टेक्स्ट शेयरिंग तथा सार्वजनिक छलफलको प्लाटफर्मको रुपमा मेटाले अघि सारेको थ्रेड्स एपमा टेक्स्टसँगै फोटो तथा भिडियो पनि शेयर गर्न सकिन्छ ।

थ्रेड्सलाई मेटा स्वामित्वकै इन्स्टाग्रामको टिमले विकास गरेको हो । यसमा ५ सय अक्षर, अंक तथा चिह्न (क्यारेक्टर) सम्मको टेक्स्टसँगै भिडियो तथा फोटो पनि शेयर गर्न सकिन्छ । यसमा ५ मिनेटसम्मको भिडियो शेयर गर्न सकिने सुविधा दिइएको छ भने लिंक समेत शेयर गर्न सकिन्छ ।

एप स्टोरहरुमा उपलब्ध भएको पहिलो २ घण्टामै थ्रेड्सलाई २० लाखले साइन अप गरिसकेका थिए भने ४ घण्टाभित्र त्यो संख्या ५० लाख नाघेको थियो । जबकि ७ घण्टा पुग्दा उक्त संख्या दोब्बरले बढेर एक करोड पुगेको थियो ।

स्मरण रहोस् फेसबुकलाई प्रयोगकर्ताको संख्या १ करोड पुग्नका लागि ८५२ दिन लागेको थियो भने ट्वीटरलाई ७८० दिन लागेको थियो ।

मेटा कम्पनीले ट्वीटर जस्तै थ्रेड्स प्लाटफर्म ल्याउन लागेको चर्चा चलेसँगै ट्वीटरका सीईओ एलन मस्कले थ्रेड्स अरु केही नभएर ट्वीटरको डिजाइनको कपी पेस्ट मात्र रहेको टिप्पणी गरेका थिए । साथै उनले दु:ख लुकाएर झुटो खुसीमा रमाउने इन्स्टाग्राममा भुल्नुभन्दा आफू ट्वीटरमा अपरिचितबाटै भए पनि आक्रमणमा पर्न रुचाउने बताएका थिए ।

हाल थ्रेड्स एप विश्वका १ सयभन्दा धेरै देशमा उपलब्ध भइसकेको भए पनि युरोपेली युनियन सम्बद्ध देशहरुमा भने उपलब्ध छैन ।

 कसरी गर्ने प्रयोग ?

मेटाले यो एपलाई गुगल प्ले स्टोर र एप्पलको एप स्टोर दुबैमा उपलब्ध गराएको छ । दुवै प्लाटफर्मबाट यो एप नि:शुल्क रुपमा डाउनलोड गर्न सकिन्छ । साथै आफ्नो इन्स्टाग्राम अकाउन्टको सहायताले थ्रेड्समा साइनअप गर्न सकिन्छ ।

त्यसैले यसका लागि नयाँ अकाउन्ट बनाउनु पर्दैन । यदि तपाईको फोनमा पहिलेदेखि नै इन्स्टाग्राम छ भने तपाईले त्यसमा थ्रेड्स इन्स्टल गरेर साइनअप गर्न सक्नुहुन्छ ।

यसमा लगइन गरेसँगै तपाइँले ती सबै मानिसहरुको सूची देख्नुहुनेछ जसले तपाईलाई इन्स्टाग्राममा फलो गर्दछन् । तपाईले त्यसमध्ये जो कोहीलाई पनि फलो गर्न सक्नुहुन्छ । तपाईले आफ्नो थ्रेड्सको प्रोफाइललाई पब्लिक गर्न पनि सक्नुहुन्छ र प्राइभेट गराउन पनि सक्नुहुनछ ।

थ्रेड्समा पोस्ट गर्न पनि निकै सजिलो छ । यसमा एउटा नोट प्याडको साइन देखिन्छ । त्यसमा गएर आफ्नो टेक्स्ट मेसेज वा विचार लेखेर पोस्ट गर्न सकिन्छ । यसमा ५ सय अक्षरसम्म मात्रै लेख्न सकिन्छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?