+
+

फर्सीडोलमा चम्किरहेको सर्भे क्याम्प 

अनलाइनखबर अनलाइनखबर
२०८० असार २३ गते १९:४१

२३ असार, काठमाडौं । झण्डै एक दशकदेखि धादिङमा होटल व्यवसाय गरिरहेका ठाकुर बुर्लाकोटीले कोभिड महाव्याधिपछि आफ्नो सोच बदले । धादिङबेसीबाट बाहिर निस्कन चाहिरहेका उनले होटल बेचेर काठमाडौं पसे ।

कोभिड महाव्याधि र आर्थिक मन्दीको असरले नयाँ काम सुरु गर्न सजिलो थिएन । नयाँ व्यवसाय सुरु गर्न अनुकूलता कम रहेको र के काम गर्ने भन्ने स्पष्ट योजना पनि नभएको अवस्थामा उनले केही वर्ष छटपटिएर बिताए । दिन बित्दै जाँदा बुर्लाकोटीमाथि छिटै काम सुरु गर्नुपर्ने दबाब बढ्दै गयो ।

होटल तथा रेष्टुरेन्ट व्यवसायलाई नै निरन्तरता पो दिने कि भन्ने सोचेर काठमाडौंमा बनेका नयाँ/पुराना घरका चोटाकोटा चहारे । तर सोचे/चाहेजस्तो भएन ।

अन्ततः बुर्लाकोटी नितान्त नयाँ कामतिर मोडिए । उनले फेला पारे ललितपुर महानगरपालिका-२२ फर्सीडोलमा कोभिडले थलिएको इन्जिनियरिङ सर्भे क्याम्प । झलक्क हेर्दा एउटा सिंगो गाउँ जस्तो देखिन्छ । त्यहाँ सञ्चालन भइरहेको रहेछ मार्स नेपाल इन्जिनियरिङ सर्भे क्याम्प ।

के हो सर्भे क्याम्प

डिप्लोमा तहमा सिभिल इन्जिनियरिङ अध्ययनरत विद्यार्थीले तेस्रो वर्षमा अनिवार्य रूपमा सर्वेको प्राक्टिकल गर्नुपर्छ । यसका लागि पर्याप्त क्षेत्रफलमा फैलिएको जमिन चाहिन्छ र १०-१२ दिनसम्म समय दिनुपर्छ । धेरै विद्यार्थी, धेरै दिन प्राध्यापकका साथ सर्वे गर्नु विद्यार्थीको लागि झञ्झटिलो काम हुन्छ ।

केही समय कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा गराइए पनि होटलमा बस्नुपर्ने लगायतका झञ्झट  विद्यार्थीले व्यहोर्नुपर्थ्यो ।

यही देखेर अर्जुन बोहरा लगायतको टिमले २०७४ मा ललितपुर-२२ बुङमतीको फर्सीडोलमा सर्वे क्याम्प सुरु गरेको रहेछ । तर कोभिड महाव्याधि र आर्थिक मन्दीले लगानीकर्ता छिन्नभिन्न भए । सर्वे क्याम्प बोहराको एकल नेतृत्वमा आयो तर उनी एक्लैलाई एकातिर लगानीको चाप पर्‍यो भने अर्कोतिर व्यवस्थापन र बजारीकरणमा एक्लै जिम्मेवारी निर्वाह गर्न मुस्किल पर्‍यो ।

मन मिल्ने लगानीकर्ता खोजिरहेको बेला बोहराको भेट बुर्लाकोटीसँग भयो । गत वर्षदेखि बुर्लाकोटी पनि थपिएपछि सर्वे क्याम्पले मुहार फेर्न थाल्यो । हरेक दिन विद्यार्थी भरिभराउ छन् । ‘म आएपछि केही समय थप लगानी गरेर मर्मत सम्भार र पूर्वाधार निर्माणमा ध्यान दिएँ’, उनी भन्छन्, ‘अहिले विद्यार्थीको खाँचो छैन, क्याम्प भरिभराऊ छ, हामीले एक/दुई दिन बिदा लिन सक्ने अवस्था पनि छैन ।’

जमिनका लागि वार्षिक ३० लाख रुपैयाँ भाडा तिर्नुपर्ने क्याम्पमा १६० विद्यार्थी एकसाथ बस्न र सर्भे गर्न सक्छन् । अहिले १६० जनासम्म सहभागी गराएर तालिम सञ्चालन गर्न सकिने संरचना पनि बनिसकेको बुर्लाकोटीले जानकारी दिए ।

क्याम्पभित्र अहिले तीन वटा माछा पोखरी छन् भने केही रोपनी जग्गामा तरकारी खेती भइरहेको छ । ‘क्याम्पभित्र खपत हुने अधिकांश तरकारी हामी आफैंले उत्पादन गर्न थालेका छौं, दूधका लागि गाई पालेका छौं भने मासुका लागि कुखुरा पाल्ने सोच पनि बनाइरहेका छौं’, बुर्लाकोटीले भने ।

सर्भे क्याम्पभित्र सञ्चालित फार्ममा कुरिलो, घिउसिमी, गोलभेंडा, फर्सी, लौका लगायतका तरकारी फलिरहेको छ ।  खाद्यान्न, तरकारी र माछा-मासु उत्पादनमा मेहनत गरिरहे पनि अहिले स्थानीयद्वारा उत्पादित तरकारी तथा खाद्यान्न मासिक ४/५ लाख रुपैयाँ भन्दा बढीको किनिरहेको बुर्लाकोटीले जानकारी दिए ।

‘हाम्रो उपस्थितिले स्थानीय खुशी हुनुहुन्छ, उहाँहरूको उपज यहीं खपत भइरहेको छ भने १५ जनाले प्रत्यक्ष रोजगारी पाउँदा कैयौं स्थानीय अप्रत्यक्ष रूपमा लाभान्वित भइरहनुभएको छ’, उनी भन्छन् ।

थपिंदै नयाँ परियोजना

‘अहिलेसम्म साढे ६ करोड लगानी गरिसकिएको र अझै लगानी थप्नुपर्ने अवस्था छ’ बुर्लाकोटी भन्छन्, ‘काठमाडौं उपत्यका नजिक भएकाले क्याम्पलाई अन्य व्यवसायसँग जोडेर विस्तार गर्नेबारे सोचिरहेका छौं ।’

बुङमतीदेखि पारी फर्पिङ हुँदै चन्द्रागिरिसम्मको हाइकिङ रुट सञ्चालन गर्ने र त्यसको सुरुवाती विन्दू मार्स सर्भे क्याम्पलाई बनाउने योजना मार्स नेपालले बुनिरहेको छ । ‘एक रात मार्स सर्भे क्याम्पमा बसेर चन्द्रागिरिसम्म हाइकिङ सञ्चालन गर्ने योजना बनाइरहेका छौं,’ उनले भने ।

पर्याप्त जग्गा भएकाले स्कुले विद्यार्थीलाई लक्षित गरेर मिनी जु सञ्चालन गर्ने पनि उनको योजना छ । उनले  थाहा पाएका छन्, अहिले स्कुलहरूसँग सानातिना एक्सकर्सन लैजाने विकल्प नै छैन ।

मध्यम वर्गीय परिवारलाई दुई/चार दिन ‘आउटिङ’ जान मिल्नेगरी संरचना र सुविधा थप्ने कम्पनीको योजना छ । ‘उपत्यकामा मध्यम वर्ग बढिरहेको छ, सामान्य खर्चमा एक रातदेखि केही दिन बाहिर जाऊँ, परिवारसँग रमाइलो गरौं भन्नेहरूका लागि पनि हामी उपयुक्त विकल्प बन्न सक्छौं,’ उनले भने ।

नयाँ सोच र लगावका साथ काम गर्ने हो भने हाम्रै वरिपरि नयाँ नयाँ उद्यम सफलतापूर्वक सञ्चालन गर्न सकिने बुर्लाकोटीको बुझाइ छ । ‘क्याम्पमा मानिसहरू काम गरिरहेका हुन्छन्, विद्यार्थीहरू सर्भे गरिरहेका हुन्छन्, यो चहलपहल देख्दा मन खुशी हुन्छ’ उनी भन्छन्, ‘स्वदेशमै बसेर दुई पैसा कमाउन, रोजगारी दिन र अर्थतन्त्र चलायमान बनाउन सकिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?