+
+

साउनदेखि वीर अस्पतालको ओपीडी सेवा ८ बजेदेखि सञ्चालन हुने

अनलाइनखबर अनलाइनखबर
२०८० असार २४ गते १२:१०

२४ असार, काठमाडौं । राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स) वीर अस्पतालमा ओपीडी सेवा अबदेखि ८ बजेबाट सञ्चालन हुने भएको छ ।

शुक्रबार न्याम्सको परिषद् बैठकले १ साउनदेखि ओपीडी सेवा बिहान ८ बजेदेखि गर्ने निर्णय गरेको हो । अर्थात, अबदेखि अस्पतालको समय बिहान ८ देखि ४ बजेसम्म कायम गरिएको छ । हाल, बिहान ९ देखि ५ बजेसम्म कार्यालय सेवा हुँदै आइरहेको छ ।

न्याम्सका उपकुलपति प्रा.डा भुपेन्द्र बस्नेतले बिरामी बिहान चाँडै आउने र बढी भीडभाड हुने भएकाले ओपीडीलगायतका अन्य सेवा सहज बनाउन समय तालिका छिट्टै बनाइएको बताए ।

‘बिरामी सेवा लिनको ७ बजे नै अस्पताल आइसक्छन् । ९ बजेसम्म कुर्नुपर्ने भएकाले बढी भिडभाड भइरहेको छ,’ डा. बस्नेतले अनलाइनखबरसँग भने, ‘बिरामीलाई सहज र छिट्टै सेवा दिनका लागि ओपीडीलगायत अस्पतालका अन्य सेवाअबदेखि ८ बजेबाट सञ्चालन हुनेछन् ।’

अस्पतालमा ९ बजेदेखि सेवा हुँदा अस्पतालका कर्मचारी र बिरामी आउने क्रममा सवारी जाममा पर्ने समस्या देखिएकाले समय तालिका परिवर्तन गरी सेवालाई सहज बनाउन खोजिएको उनको भनाइ छ ।

आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा सबै सरकारी अस्पतालमा बिहान ८ देखि बेलुका ८ सम्म ओपीडी सेव सञ्चालन गर्ने उल्लेख गरिएको थियो । तर, यो विषयलाई बजेटले भने समेट्न सकेको थिएन ।

‘अबदेखि प्रयोशाला, ओपीडी टिकट काउन्टर विहान ७ बजेनै खुलिसक्छन् । नर्सिङ सिफ्ट पनि ८ बजे परिवर्तन हुन्छ,’ डा. बस्नेतले भने, ‘अप्रेशन, ओपीडी सेवा, लगायतका अन्य सेवा विहान ८ देखि ४ बजेसम्म सञ्चालन हुनेछन् ।’

वीरमा बिरामीको चाप बिहान ८ देखि १२ बजेसम्म बढी चाप हुन्छ । त्यसैगरी, ४ बजेपछिको समय इएचएस सेवा सञ्चालन कसरी प्रभावकारी बनाउने भन्ने बिषयमा छलफल भइरहेको उनले बताए ।

वीरमा दैनिक २ हजार पाँच सयभन्दा बढी बिरामीले ओपीडी सेवा लिने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?