+
+

प्रचण्ड, ओली र देउवा फेरि भेट्दै, रवि लामिछानेको असन्तुष्टि

अनलाइनखबर अनलाइनखबर
२०८० असार २४ गते १७:०४

२४ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख विपक्षी दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओली र प्रमुख सत्ताघटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसदको अवरोध खुलाउने विषयमा फेरि छलफलमा जुट्दैछन् ।

‘तीन नेताको बीचमा फेरि भेट गर्ने तय भएको छ । तर, आज आइतबार साँझ भेट्ने कि भोलि बिहान टुंगो लाग्न बाँकी छ’, एमाले अध्यक्ष ओलीको सचिवालयले भनेको छ ।

प्रधानमन्त्री प्रचण्डको सचिवालयले पनि आइतबार बिहान भएको तीन नेताको सहमति कार्यान्वयनका सन्दर्भमा पुनः भेट गर्नुपर्ने निष्कर्षमा शीर्ष नेताहरु पुगेको तर, भेटको समय तय हुन बाँकी रहेको बताएको छ ।

‘आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको’ भनी विवादित अभिव्यक्ति दिएका प्रधानमन्त्री प्रचण्डले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग राख्दै एमालेले गत बुधबारदेखि संसद चल्न दिएको छैन । आइतबार प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवासँग अध्यक्ष ओलीले भेटेपछि एमाले प्रधानमन्त्रीको स्पष्टीकरण सुन्न तयार भएको थियो ।

तीन नेताको बैठकपछि नेताहरुले संसदको अवरोध खुल्ने गरी सहमति भएको बताएका थिए । तर, प्रधानमन्त्रीको जवाफपछि संसद खुल्ने ग्यारेण्टी हुनुपर्ने सत्तापक्षीय दलहरुको शर्त र प्रधानमन्त्रीको जवाफ सुनेपछि मात्रै सदन खुल्ने वा नखुल्ने निर्णयमा पुग्ने एमालेको अडानका कारण आइतबार पनि प्रतिनिधिसभाको बैठक बस्दै नबसी सोमबार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ ।

तीन पार्टीका तीन नेता निरन्तर भेटिरहँदा संसदको चौथो ठूलो दल रास्वपाले असन्तुष्टि जनाएको छ । तीन प्रमुख दलका नेताहरुले चौथो ठूलो दललाई निरन्तर बेवास्ता गर्दै अघि बढेको भन्दै रास्वपाका नेताहरुले सार्वजनिक रुपमै असन्तुष्टि जनाएका हुन् ।

‘संसद कुनै नेताको आफ्नो मूडमा चल्ने चीज होइन । सदन जनताप्रति उत्तरदायी हुनुपर्ने हो’ रास्वपा सभापति रवि लामिछानेले संसद भवन परिसरमा पत्रकारहरुसित भने, ‘जनताले कति अपेक्षा गरेर बसेका छन् । कैयौं कानुनहरु बन्ने विधेयकहरु आउन बसिरहेका छन् ।’

जनताको अपेक्षा अनुसार तीन ठूला दलले भूमिका नखेलेको र आफ्नो पार्टीलाई समेत वास्ता नगरिएको भन्दै सभापति लामिछानेले असन्तुष्टि जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?