+
+

डम्फु बनाएर राम्रो आम्दानी

रासस रासस
२०८० असार २५ गते १४:०८

२५ असार, बनेपा। काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका-४ स्थित सलान्दुबगरका लीलाबहादुर स्याङ्तानछन् । तामाङ समुदायले शुभकार्यमा प्रयोग गर्दै आएको बाजा डम्फुको माग राम्रो भएपछि उद्योग नै स्थापना गरी काम गर्दै आएको उनले बताए ।

‘तामाङ समुदायको बिहेमा गीत गाउनका लागि डम्फु अनिवार्य हुन्छ तर एउटा आफन्तको बिहेको निम्तो मान्न जाने बेलामा जरकिन बजाएर गीत गाएको देखेपछि डम्फुको अभाव खड्किन नदिनका लागि मैले डम्फु बनाउने उद्योग सञ्चालन गरेको हुँ’, स्याङ्तानले भने, ‘पुर्खाले गर्दै आएको पेसा नभएर भावनाले डोहोर्‍याएकाले यो पेसा सुरु गरेँ।’

भाषणले मात्रै कला, भाषा र संस्कृतिको संरक्षण नहुने उनको भनाइ थियो। ‘तामाङ समुदायको विवाह, ब्रतबन्ध र मृत्यु संस्कार सबैमा डम्फु बजाएर खुसी र विरहको गीत गाउने चलन रहेकाले त्यसको अभाव पूर्तिका लागि पनि यो पेसा रोजेको हुँ’, उनको भनाइ थियो ।

एउटा डम्फु साइजअनुसार रु दुई हजार पाँच सयदेखि रु पाँच हजारसम्म लिने गरेको उनले बताए । काम गर्ने दौरानमा गाउँमा एक जनालाई मासिक रु २८ हजारका दरले तलब दिएर काम गर्दै आएकामा अहिले विदेशमा समेत जानथालेपछि सबै काम आफैँले गर्दै आएको स्याङ्तानले बताए ।

वार्षिक रुपमा करिब तीन सयको हाराहारीमा डम्फु उत्पादन गर्दै आएका उनले देशका पूर्वी क्षेत्रको काँकडभिट्टा, इलाम, झापा पाँचथर, तेह्रथुमल तथा पश्चिम क्षेत्रको लमजुङ, नवलपरासीलगायत जिल्लामा पनि पठाउने गरिएको जानकारी दिए ।

तामाङ समुदायको बसोबास रहेको संयुक्त अरब इमिरेट्स (युएई) मलेशिया, जर्मन, इजरायल, संयुक्त राज्य अमेरिकालगायत मुलुकमा पनि डम्फु पठाउने गरिएको छ ।

निरन्तर रुपमा उत्पादन गरेको डम्फुको माग धान्न नसकिएका कारण अरु युवालाई पनि सिकाएर उत्पादन गर्दै आइएको र प्रशस्त माग आउने गरेकाले गाउँका दुई जनालाई सीप सिकाएर डम्फु बनाउने काममा लगाइएको स्याङ्तानले बताए ।

‘सबै आवश्यक सामान आफैले उपलब्ध गराएर बनाउन लगाएको छु’, उनले भने, ‘यसरी उत्पादन गरेको डम्फु आफैँले खरिद गरेर बिक्री गर्दै गरेको छु । आफूले मात्रै गर्ने नभएर युवापुस्तालाई सीप हस्तान्तरण गर्नुपर्छ भनेर सिकाएको सीपले युवालाई रोजगार बनाएको छु।’

‘उत्पादन गरिएका सामान बिक्री भएन भन्ने चिन्ता छैन’, स्याङ्तानले थपे, ‘जति उत्पादन भए पनि मैले नै बजारीकरणको काम गर्ने गरेको छु ।’

समुदायसँगै भिजेर काम गरिएका कारण उहाँले डम्फु मात्रै नभएर झाँक्रीले प्रयोग गर्ने ढ्याङ्ग्रो, फुर्बा(थुर्पे)लगायत सामान पनि उत्पादन तथा बिक्री गर्दै आएको जानकारी दिए ।

डम्फु बनाउनलाई कोइरालोको काठ आवश्यक हुन्छ । बाख्राको छाला प्रयोग हुने र बाँसको किला प्रयोग गरेर बनाउनुपर्ने भएकाले बनाउन भने समय लाग्ने गरेको छ । सिजनअनुसारको छाला उपलब्ध हुन नसक्ने अवस्था रहेका कारण यस पेसालाई थप व्यवस्थित गर्न चुनौती रहेको स्याङ्तानले बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?