+
+

यू-१६ च्याम्पियन कप्तान अभिषेकको राष्ट्रिय टिमको सपना

नमिता दाहाल नमिता दाहाल
२०८० असार २७ गते १०:०६

२७ असार, काठमाडौं । देशको प्रतिनिधित्व गरेर खेल्ने सपना बुन्दै गर्दा पढाइको झोला छुट्यो । क्रिकेट नै खेल्छु भनेर कक्षा ७ को पढाइ सक्ने बित्तिकै पढाइबाट विश्राम लिएका अभिषेक तिवारीले जिल्ला प्रदेश हुँदै राष्ट्रिय स्तरको उमेर समूहलाई प्रतिनिधित्व गर्ने अवसर पाए ।

‘देशलाई ह्याट्रिक उपाधि दिलाउने टिमको नेतृत्व गर्न पाएँ । निकै खुसी छु, अझै माथि बढ्दै जाने हौसला यो उपाधिले थपेको छ’, अभिषेकले अनलाइनखबरसँग यू-१६ इस्ट जोन कपको उपाधि जित्दाको अनुभव सुनाए ।

उनी नेतृत्वको नेपालले मलेसियामा भएको प्रतियोगिताको फाइनलमा गत हप्ता घरेलु टोलीलाई हराउँदै उपाधिमा हृयाट्रक गरेको थियो ।

उमेर समूहमा राम्रो प्रदर्शनसहित चर्चा बटुलिसकेपछि उनी राष्ट्रिय सिनियर टिमसम्म पुग्न चाहन्छन् । ‘अब यू-१९ र सिनियर टिमसम्म देशका लागि खेल्ने इच्छा छ’, उनले भने ।

च्याम्पियन कप्तान, ‘अभिषेक’

 ठूलो कद भएका अभिषेक अब आउने भदौमा १६ वर्षका हुन्छन् । उनी उमेर समूहको घरेलु प्रतियोगितादेखि नै मिडियम पेस बलिङ अलराउन्डर हुन् । त्यति मात्रै होइन उनी मधेश प्रदेशका यू-१६ कप्तान हुन् ।

नेपाली टिमले यू-१६ इस्ट जोन कप खेल्न जानको लागि २४ सदस्यीय टोली १७ दिने प्रशिक्षणमा राख्यो । बन्द प्रशिक्षणमा २४ जना खेलाडीलाई दुई टिममा विभाजन गरेर उनलाई र सुदूरपश्चिमका नरेन भट्टलाई दुई समूहमा टिम विभाजन गरी कप्तानी दिइ खेलाइन्थ्यो । ‘मलाई प्रदेशमा बटुलेको अनुभवले कप्तानी गर्न सहज भयो । प्रशिक्षकहरुले पनि ममाथि विश्वास गर्नु भयो र मैले त्यो प्रमाणित पनि गरें’, अभिषेकले भने ।

सोही समयमा उनले आफ्नो प्रदर्शन र टिमवर्कमा आफ्नो क्षमता देखाएपछि उनी टिमको कप्तानको रुपमा छनोट भएका थिए । ‘मेरो लागि गर्वको कुरा हो । मैले मेरो देशको कप्तानी गरेर देशलाई उपाधि दिलाउन सकें ।’

उनको लागि यो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो । जसका कारण उनीमा थोरै कौतुहलता, धेरै उत्साह अनि त्यसैमा डर पनि मिसिएको थियो । तर मलेसिया पुगिसकेपछि भने उनलाई राहत भयो । ‘मलेसिया पुगिसकेपछि डर लागेन । सबैभन्दा महत्वपूर्ण भनेको हाम्रो लागि नेपाल र मलेसियाको वातावरण एकै खालको थियो । जसले गर्दा हामीलाई घरेलु मैदानमा नै खेलेको जस्तो अनुभव भयो’, अभिषेकले आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेलको अनुभव यसरी साटे ।

‘विपक्षी टिमहरु सबै उस्तै थिए । तर मलाई सिंगापुरको बलिङ र ब्याटिङ दुवै राम्रो लागेको थियो, हामीलाई टक्कर दिने टिम थियो’, उनले प्रतियोगिताका टिमहरुको बारेमा भने, ‘हाम्रो लागि सेमिफाइनल खेल अन्यभन्दा प्रतिस्पर्धात्मक भएको थियो । तर हामीले ‘थ्री डी’ प्रदर्शनले जित्यौं । सेमिफाइनलमा हाम्रो फिल्डिङ उत्कृष्ट थियो ।’

समूह चरणको खेलमा मलेसियालाई २२१ रनले हराएको थियो । घरेलु टिम मलेसियासँग नेपालले पुन फाइनलमा भेट गर्दा उनीहरुलाई ३१ रनमै अलआउट पार्न कप्तान अभिषेकले ५ विकेट लिएका थिए । ‘फाइनलमा मेरो पनि बल राम्रो सुइङ भइरहेको थियो । नरेनको शतक निकै महत्वपूर्ण रह्यो । ओपनर दुईले पनि राम्रो सुरुवात दिलाएका थिए । जसले गर्दा हामीले अपराजित हुँदै उपाधि जित्यौं’ अभिषेकले भने ।

‘सबैजना टिममा अत्यन्तै खुसी थियौं रमाइलो गयौं । गर्व लाग्छ जिताएर आयौं ।’ मधेशको उमेर समूहबाट लड्दै, उठ्दै र गल्ती गर्दै सिकेको कप्तानी राष्ट्रिय टिमको ‘च्याम्पियन कप्तान’को रुपमा परिणत भएका अभिषेकले भने

राष्ट्रिय टिममा मौका

यू-१६ का बलिङ अलराउन्डर अभिषेकले विद्यालयस्तरको क्रिकेट प्रतियोगिताबाट खेल्न सुरु गरेका हुन् । ८ वर्षको उमेरबाट टेनिस बलबाट क्रिकेट खेल्न सुरु गरेका उनले १२ वर्षको उमेरमा महोत्तरी जिल्लामा प्रशिक्षणको मौका पाए ।

विद्यालय स्तरको क्रिकेटमा राम्रो प्रदर्शन गरेका अभिषेकमाथि महोत्तरीका प्रशिक्षक सुनिलकुमार साहको आँखा पर्‍यो । साहले तिखारेर अभिषेकलाई यत्तिको बनाएका हुन् । ‘सरले नै मलाई सिकाएर यहाँसम्म ल्याउनु भएको हो । उहाँले मेरो टेष्ट लिनुभयो । उहाँले नै सिकाउनु भयो । त्यसपछि मैले जिल्लाको टिममा मौका पाएँ । त्यसपछि प्रदेश र उमेर समूहका घरेलु प्रतियोगिता खेल्न थालें’, तिवारीले भने ।

‘मेरो सुरु सुरुमा खेल्दा ब्याटिङ राम्रो थियो, अहिले बलिङमा धेरै ध्यान दिइरहेकाले आफूलाई बलिङ अलराउन्डर भन्न मन पराउँछु’, अभिषेकले भने ।

जिल्ला र प्रदेशमा उमेर समूह खेलिरहेका अभिषेकले घरेलु खेलकुदमा देखाएको प्रदर्शनले उनलाई राष्ट्रियस्तरको ढोका खुल्यो । ‘मैले जिल्लामा र प्रदेशमा सिनियरमा खासै प्रदर्शन देखाउन सकेको थिइनँ । तर मैले उमेर समूहमा प्रदर्शन देखाउने मौका पाएँ । जसका कारण म आज यहाँ छु’, अभिषेकले कुराकानीमा भने ।

जिल्लामा सिनियरमा खासै पहिचान बनाउन नसकेका उनलाई उमेर समूहको खेलले राष्ट्रिय स्तरमा पहिचान बनायो । उनले धनगढीमा भएको यू-१६ को राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशको कप्तानी गर्दै खेलेका थिए । उक्त प्रतियोगितामा एक अर्धशतक र ६ विकेट लिएपछि उनलाई राष्ट्रिय टिममा बोलाइएको थियो । ‘सोही प्रतियोगिता नै मेरो लागि कोशेढुंगा बन्यो । मैले क्याम्पमा परेपछि पनि राम्रो प्रदर्शन गरें । जसका कारण मैले राष्ट्रिय टिमको नेतृत्व नै लिने अवसर पाएँ’, अभिषेकले भने ।

पढाइ छोडेर सुरु भएको क्रिकेट यात्रा

महोत्तरी मनरा सिसवा नगरपालिका-८ का अभिषेकलाई पढ्न मल लाग्दैनथ्यो । पढाइको साटो साथीभाइसँग क्रिकेट खेल्न उनलाई खुब रमाइलो लाग्थ्यो । ‘मलाई पढ्न मन पर्दैन तर क्रिकेट भनेपछि जहाँ पनि पुग्थें । घरमा पनि क्रिकेट मन पराउने भएकाले पढ्नु पर्ने प्रेसर भएन ।’

सात कक्षाको परिक्षा दिएका उनी ८ मा भर्ना नै भएनन् ।

तर अब उनी पुन क्रिकेटसँगै पढाइलाई पनि निरन्तरता दिने सोचमा छन् । ‘अब भने मेरो स्तर बढाउन भए पनि मैले पढ्नुपर्छ । अब स्कुल भर्ना भएर पढ्छु ।’

श्री लक्ष्मी चण्डी मुर्राका माध्यमिक विद्यालयमा पढी रहेका उनी पुन सोही विद्यालयमा विद्यालयस्तरको पढाइ पूरा गर्ने सोचमा छन् ।

परिवारबाट राम्रो सहयोग पाइरहेका अभिषेक क्रिकेटको माथिल्लो स्तरमा पुग्न सक्दो मिहिनेत गरिरहेको बताउँछन्, ‘घरमा आमा र दाइहरुले तिमी क्रिकेट खेल हामी सक्दो सहयोग गर्छौ भन्न हुन्छ ।’

अभिषेकका बुवा भने वैदेशिक रोजगारीमा साउदी अरेबियामा छन् । बुवाको पनि इच्छा आफू क्रिकेटर बनेको हेर्ने रहेको उनी बताउँछन् ।

लेखकको बारेमा
नमिता दाहाल

नमिता दाहाल अनलाइनखबरको खेलकुद संवाददता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?