+
+

सुनसरी र मोरङमा अति भारी वर्षा, ११ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८० असार २९ गते ६:३०

२९ असार, काठमाडौं । सुनसरी र मोरङमा अति भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे सार्वजनिक गरेको सूचना अनुसार पछिल्लो तीन घण्टायता सुनसरीको इटहरी, मोरङको लेटाङ, हरैचा आसपास अति भारी वर्षा भएको छ । थप वर्षा हुने पूर्वानुमानसमेत गरिएको छ ।

त्यसैले बुढीखोला, खेसलिया, सुनसरी खोला, लोहन्द्रा लगायत सुनसरी र मोरङका साना खोलाहरुमा आकस्मिक बाढीका साथै होचा स्थानमा डुबानको उच्च जोखिम रहेको महाशाखाले जनाएको छ ।

त्यसैले आज बिहान ११ बजे सम्म अतिउच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । बाढी र डुबानका कारण सम्भावित जोखिम क्षेत्रका बासिन्दालाई एसएमएस पठाएर सतर्कता अपनाउन भनिएको छ ।

त्यसअघि आज बिहान ५ बजे महाशाखाले सार्वजनिक गरेको सूचनामा मोरङको कानेपोखरी र त्यस आसपासमा पनि ठूलो वर्षा भएको उल्लेख छ ।

गएराति सिन्धुलीको मरिन, रानिबास र आसपासको क्षेत्रमा भारी वर्षा मापन भएको छ । सो क्षेत्र भई बहने साना खोलाहरुमा जलसतह बढ्ने तथा कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकीका केही स्थानहरुमा हल्कादेखि मध्यम र थोरै स्थानहरुमा भारी वर्षा भइरहेको छ ।

आज सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा–हुरीको पनि सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?