+
+

पाममा हुर्किएका दाजुबहिनी सँगै एसियन गेम्समा

नमिता दाहाल नमिता दाहाल
२०८० असार २९ गते ९:००

२९ असार, काठमाडौं । १९ औं एसियन खेलकुदमा जुडो खेलबाट नेपालको प्रतिनिधित्व गर्ने इन्द्रबहादुर श्रेष्ठ र देवकीमाया श्रेष्ठ दाजु–बहिनी हुन् ।

इन्द्रले ६६ केजी मुनिको तौल समूहमा र देवकीले ५२ केजी माथिको समूहमा प्रतिस्पर्धा गर्नेछन् । यति ठूलो प्रतियोगितामा दाजु–बहिनीसँगै जान पाउँदा उनीहरु निकै खुसी छन् ।

देवकी भन्छिन्, ‘दादासँग म पहिलो पटक यति ठूलो प्रतियोगितामा सँगै जान पाएको छु । यसभन्दा अगाडि हामी जुनियर प्रतियोगिता खेल्न २०१२ मा बंगलादेश र २०१३ मा भुटान गएका थियौं ।’

जुनियरमा आफ्नो समूहमा नेपाल च्याम्पियन रहेकी २१ वर्षकी देवकीका लागि सिनियरमा एसियन गेम्समा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।

इन्द्रले भने इन्डोनेसियाको जाकार्तामा भएको १८ औं एसियन गेम्समा पनि नेपालको प्रतिनिधित्व गरेका थिए । १३ वर्षयता जुडो खेलिरहेका इन्द्रले १३ औं सागमा पनि नेपालको प्रतिनिधित्व गर्दै रजत पदक जितेका थिए ।

इन्द्रबहादुर श्रेष्ठ

अब आउने एसियन गेम्समा यसअघि हारेको भन्ने बिर्सेर खेल्ने योजनामा छन् इन्द्र । ‘आफ्नो गल्ती सुधारेर स्वर्ण जित्ने नै मेरो लक्ष्य हो’, उनले भने ।

इन्द्रले २०६७ सालबाट जुनियर प्रतियोगिता खेल्दै जुडो करिअर सुरु गरेका थिए । इन्द्रले जुनियर र सिनियर गरेर २४ अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् जसमा उनले ६ स्वर्ण, १ रजत र १ कास्य जितेका छन् ।

देवकी भने जुनियरमा नेपालमा उनको तौल समूहमा एक पटकभन्दा पराजित भएकी छैनन् । अन्तर्राष्ट्रियमा उनले हालसम्म १० प्रतियोगिता खेल्दै ८ स्वर्ण पदक जितेकी छिन् । उनले २०२२ मा थाइल्यान्डमा भएको एसियन क्याडेट एण्ड जुनियर जुडो च्याम्पियनसिपमा दक्षिण एसियाको जायन्ट भारतीय खेलाडीलाई क्वार्टरफाइनमा पराजित गरेकी थिइन् ।

देवकी जुनियरमा आफूले गरेको प्रदर्शनका कारण एसियन गेम्समा पनि राम्रो गर्ने आँट बढेको बताउँछिन् । ‘मलाई जुनियरमा पाएको सफलताले सिनियरमा पनि राम्रो गर्ने हौसला मिलेको छ । उनीहरु पनि हामी जस्तै खेलाडी हुन्, म सक्छु भन्ने छ,’ उनले भनिन् ।

उनी एसियन गेम्समा आफ्नो उत्कृष्ट प्रदर्शन सहित नेपाललाई कुनै एक मेडल दिलाउने सोच राख्छिन् । ‘खेलाडीले मानसिकता बलियो बनाएर खेल्यो भने नेपालले स्वर्ण जित्न सक्छ । म पनि नेपालका लागि मेरो तौलमा मेडल ल्याउन चाहन्छु, हार मान्दिनँ,’ उनले भनिन् ।

इन्द्र आफ्नो लागि भन्दा पनि बहिनीको लागि निकै खुसी छन् । ‘म आफ्नो लागि भन्दा पनि बहिनीको लागि निकै खुसी छु । बहिनीहरुले अझै राम्रो गर्दा झन् राम्रो अनुभव हुन्छ । मेरो बहिनीहरुमाथि मलाई गर्व लाग्छ,’ उनले भने ।

इन्द्र र देवकीलाई २०६७ सालदेखि जुडो सिकाएका प्रशिक्षक सूर्यनारायण श्रेष्ठ उनीहरुको प्रदर्शनबाट आशावादी छन् । ‘आफूले हुर्काएका बच्चाहरु एसियन लेभलसम्म पुगेका छन् । अझै माथि पुगुन् भन्ने मेरो चाहना हुनेछ । यो मेरो लागि निकै खुसीको कुरा हो’ उनले भने ।

सूर्यनारायण अगाडि भन्छन्, ‘देवकी र इन्द्रमा जुडोलाई चाहिने जस्तै गुण छ । बलियो मसल र हड्डीको मजबुती निकै राम्रो छ ।’

राष्ट्रिय टिमलाई एसियन गेम्सको लागि गत ३ महिनायता प्रशिक्षण गराइरहेका वीरेन्द्र रञ्जित भन्छन्, ‘यी दुई बच्चाहरुलाई सिकाउन पर्दैन । अरुलाई जस्तो प्राविधिक कुराहरु यिनीहरुलाई भनीराख्नुपर्दैन । हाम्रो स्वयंसेवक प्रशिक्षक सूर्यनारायण श्रेष्ठको प्रशिक्षणबाट यिनीहरु दह्रो भइसकेका छन्’ उनले भने ।

प्रशिक्षक वीरेन्द्र रञ्जित

इन्द्र र देवकीकी कान्छी बहिनी निशा पनि जुडो खेलाडी हुन् । ४८ केजी मुनिबाट उनी पनि प्रतियोगिताहरु खेल्दै आएकी छन् । ४८ केजीमुनि तौल समुहकी निशा दाजु–दिदीको पथ पछ्याउँदै छिन् । १७ वर्षीया निशाले १० वटा राष्ट्रिय खेल्दा उनले ५ वटामा स्वर्ण जितेकी छिन् । उनले ३ वटा जुनियर प्रतियोगिता खेल्दा १ कास्य जितेकी छिन् ।

परिवारकी कान्छी सदस्य हुन्, निशा श्रेष्ठ । उनी आफैं पनि आफ्ना दाइ र दिदी एसियन गेम्समा छनोट हुँदा निकै खुसी छिन् । ‘म नपरे पनि दादा–दिदीले खेल्न लाग्नुभएको छ । मलाई धेरै खुसी लागेको छ ।’

पामको योगदान

यी इन्द्र, देवकी र निशा तीन दाजु-बहिनी काठमाडौं रानीवनस्थित बन्दी सहायता नियोग (पाम) मा हुर्किएका हुन् । २०६४ सालमा बुवा जेल चलान र आमाको दोस्रो विवाहपछि अलपत्र परेका इन्द्र, देविका र निशा पाममा ल्याइएका थिए । सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिका–७ घुमथाङ घर भएका उनीहरुले त्यहीँ जुडो सिकेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान बनाउन सफल भए ।

‘पहिला समाजले हामीलाई नराम्रो मात्रै भन्थे अहिले जुडोमा राम्रो गर्न थालेपछि, पदक र उपाधि जित्न थालेपछि सोही समाजले राम्रो भन्छ,’ इन्द्रबहादुरले भने । पाममा सूर्यनारायण श्रेष्ठसँग जुडो सिक्न सुरु गर्दा इन्द्र १० र देविका ७ वर्षका थिए ।

दाजु इन्द्रसँग बहिनीहरू देवकी र निशा

विगत १३ वर्षयता जुडोको प्रशिक्षणले देवकी र इन्द्रमा ओलम्पिक खेल्न सक्नेसम्मको क्षमता र सीप विकास भएको र त्यहाँसम्म पुग्न उनीहरु सक्षम रहेको सूर्यनारायणले बताए । ‘खेलाडीको र प्रशिक्षकको अन्तिम गन्तव्य ओलम्पिक नै हो । यिनीहरुमा पनि त्यहाँ पुग्ने क्षमता छ ।’

उनी यी दुईबाट भविष्यमा पनि निकै आशा गर्ने गर्छन्, ‘यिनीहरुले खेल्ने उमेरसम्म राष्ट्रको लागि नाम र उपाधि दिलाउने काम गर्नेछन् । त्यसका लागि यिनीमाथि राज्यले लगानी गर्नुपर्छ’, सूर्यनारायण भन्छन् ।

जुडोले दिएको इज्जत

इन्द्रले कैदीका छोरा–छोरी भनेर आफूहरुमाथि समाजले निकै हेपाहा व्यवहार गरेको बिर्सेका छैनन् । तर हिजोआज खेलकुदमा पाएको सफलताले हेर्ने नजर फेरिएको उनी बताउँछन् । ‘जुडोमा आएपछि र देश विदेशमा सफलता हात पार्न थालेपछि हामीलाई समाजले हेर्ने नजर नै परिवर्तन भएको छ’, इन्द्रले भने ।

जुडो प्रशिक्षणमा इन्द्रबहादुर श्रेष्ठ

यो कुरा दाजु–बहिनीहरुले पनि निकै अनुभव गरेका रहेछन् । देवकी भन्छिन्, ‘बाबा जेल जानुभयो, हामीलाई पामले जुडोबाट नयाँ पहिचान मिल्यो । समाजले हेर्ने नजर फेरियो ।’

निशा भन्छिन्, ‘अहिले घर गयो भने सबैले स्याबास भन्नुहुन्छ । राम्रो गरिरहेका छौं, अझै राम्रो गर भन्नुहुन्छ ।’

पाममा जुडो नै किन ?

पाममा आउने बालबालिकालाई अनुशासनमा ल्याउन जुडो सिकाउन थालेको सूर्यनारायण बताउँछन् । ‘सुरुमा त बच्चाहरुलाई अनुशासनमा ल्याउन निकै गाह्रो हुन्छ ।

उनीहरु फरक मनोवृत्ति फरक मनसाय र अलि बढी विचलित भएका हुन्थे । उनीहरुले सानोमा भोगेका घटना सामान्य हुँदैनथे । उनीहरुलाई हामीले २/३ महिना त निकै गाह्रो गरेर सम्हाल्छौं’ उनी भन्छन् ।

इन्द्र र देवकी मात्रै होइन पाम जुडोमा राष्ट्रिय खेलाडी उत्पादन गर्ने एक प्रमुख संस्था हो । हाल एसियन गेम्समा छनोट भएकी मनिता श्रेष्ठ प्रधान पनि पामकै उत्पादन हुन् । पाममा सूर्यनारायणले हाल ३२ जनालाई प्रशिक्षण दिइरहेका छन् ।

इन्द्र २०७८ सालदेखि नेपाल पुलिसको जागिरे छन् । उनी आफ्नो सफलताको कारण पाम, प्रशिक्षक सूर्यनारायण र जुडोलाई मान्छन् ।

‘जुडो सिकेपछि पहिलाको भन्दा अनुशासित र पढाइ पनि राम्रो भएर आयो अहिले म जहाँ छु जे छु त्यसमा पाम, सूर्य गुरु र जुडोले गर्दा छु’, इन्द्रले भने ।

फोटो/भिडियोः चन्द्रबहादुर आले/अनलाइनखबर

लेखकको बारेमा
नमिता दाहाल

नमिता दाहाल अनलाइनखबरको खेलकुद संवाददता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?