+
+

उत्तरपुस्तिका सच्याएर छोरीलाई पास गराउने लोकसेवाका अधिकृत भ्रष्टाचारी ठहर

६ महिना कैद र २० हजार रुपैयाँ जरिवाना

अनलाइनखबर अनलाइनखबर
२०८० असार २९ गते १७:४५

२९ असार, काठमाडौं । उत्तरपुस्तिका सच्याएर छोरीलाई पास गराएका लोक सेवा आयोगका शाखा अधिकृत मिमबहादुर शाहीलाई विशेष अदालतले भ्रष्टाचारको आरोपमा दोषी ठहर गरेको छ ।

विशेष अदालतका सदस्यहरु यमुना भट्टराई, शालिग्राम कोइराला र डा. खुसीप्रसाद थारुको इजलासले उनलाई ६ महिना कैद र २० हजार रुपैयाँ जरिवाना हुने आदेश गरेको हो ।

शाहीले नेपाल बायुसेवा निगमको परीक्षामा सामेल छोरीको उत्तरपुस्तिकमा सच्याएर पास गराएका थिए । बस्तुगत उत्तरपुस्तिका सच्याएर उनले पछि केरमेट गरेका थिए ।

छोरीले परीक्षा दिँदा शाखा अधिकृत मिमबहादुर शाही लोक सेवा आयोगको सुरक्षा निकाय तथा संगठित महाशाखा अन्तर्गत लिखित नतिजा तयारी शाखामा कार्यरत थिए ।

उनकी छोरीले नेपाल वायुसेवा निगमको सहायक चौथो(खरिदार सरहको) परीक्षा दिएकी थिइन । उनले बस्तुगत प्रश्नका सबै ५० वटा प्रश्नहरु मिलाएकी थिइन ।

उनले बदमासी गरेको थाहा पाएपछि लोकसेवा आयोगले कार्यदल बनाएको थियो । कार्यदलले उत्तरपुस्तिका परीक्षणका लागि राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा पठाएको थियो । घटनामा छोरीको भूमिका नदेखिएको भन्दै लोकसेवाले उनको नाम गोप्य राखेको थियो ।

प्रयोगशालाले बस्तुगत उत्तर लेख्ने क्रममा पछि अक्षर थपिएको भनी प्रतिवेदन दिएको थियो । प्रतिवेदन पाएपछि लोकसेवा आयोगले मिमबहादुरकी छोरीको सबै प्रक्रिया रद्द गरेको थियो ।

लोकसेवाले अधिकृत शाहीलाई ५ वर्ष ग्रेड र बढुवा पनि रोक्का गरेको थियो । यसवारे उजुरी परेपछि अख्तियारले छानबिन गरेर विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?