+
+

बदलिएको टीयूको घडीघर परिसर (फोटो कथा)

आर्यन धिमाल आर्यन धिमाल
२०८० असार ३० गते १९:५३
पहिलेको दृश्य र अहिलेको ताजा दृश्य ।

३० असार, काठमाडौं । ‘अहिले त विभाग पुग्दा मन फुरुङ्ग पर्छ । फलिरहेको फलफूल, फुलेका फूलहरू र सफा बाटिका देखेपछि मन भित्रैबाट आहा भन्ने लाग्छ ।’

त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरको विम्ब बनेको घडीघरको भवनमा मानवशास्त्र केन्द्रीय विभाग छ ।

विभागको फेरिएको स्वरुपले दिने अनुभूति एमफीलका विद्यार्थी पवित्र नारायण यादवले यसरी सुनाए ।

करिब पाँच वर्षअघिसम्म घडीघर परिसर गौचरन सरह थियो । त्यहाँ गाईहरू चर्ने मात्रै नभएर कक्षाकोठामै पसेर फोहोर गर्ने स्थिति थियो ।

बन्सो, कुरो, सुँगुरे काँडाका झाडी छोपिएका थिए बगैंचा । करिब पाँच वर्ष अघि विभाग पुग्दा परिसरमा गाइहरु चरिरहेको देखेका यादव अहिले फलफूल तथा फूलहरु फुलेको, सफा दुबो फैलिएको बगैंचा देख्दा फुरुंगको अनुभूति गर्छन् ।

नेपालमा कोभिडको (२०७७ साल) प्रभाव बढ्दै जाँदा विभाग प्रमुख डा.डम्बर चेम्जोङ भने विभाग परिसर सौन्दर्यकरणका व्यस्त हुन थाले ।

कोभिडका कारण अनलाइन कक्षा पढाउनबाट बाँकी रहेको समयमा बगैंचामा रोप्नको लागि कहिले किनेर, कहिले मागेर विभिन्न प्रजातिका फलफूल, जडीबुटी तथा फूलहरु स्कुटरबाट ओसार्दै रोपे ।

उनको मिहेनत र लगनबाट प्रभावित भएर कतिपय आफैंले फलफूल तथा फूलका बिरुवाहरु ल्याइ पनि दिए । त्यहि बिरुवाहरु हुर्केर अहिले हरियालीमय बगैंचा बनेको छ ।

पछिल्लो चार वर्षभित्र घडीघरको परिसरको स्वरुप नै परिवर्तन भएको छ । करिब ८० प्रजातिका फलफूल र वनस्पतिका विरुवा रोपिएका मध्ये अम्बा, सुन्तला, जुनार, जामुन, नास्पाती, आरु, एभोकाडो, ओखर फल्न थालेको छ ।

त्यसैगरी विभिन्न प्रजातीका फूलहरु फुलेर ढकमक्क छ । रुखमा झुन्ड्याइएका चराका घरहरु भरिएका छन् । चराका चिरबिर, फुलमा झुम्मिएका पुतली र माहुरीको दृश्यले मन आल्हादित बनाउँछ ।

विद्यार्थी यादव क्याम्पसको सुन्दरताको महत्व र प्रभावबारे अगाडि भन्छन् ‘क्याम्पसको सुन्दरता र सफाइले विद्यार्थीको पढाइमा, सिकाईमा ठूलो प्रभाव पार्छ । सुन्दरताले मनमा खुशी दिने हो, मन खुशी भएर पढेको कुरा, सिकेको कुराको प्रभाव गहिरो हुन्छ ।’

विभाग परिसर तथा कक्षा कोठाको परिवर्तित स्वरुपले उनलाई खुब आनन्द दिएको छ । फेसबुकमा बगैंचाको फोटो हाल्दै ‘डम्बर बाटिका’ क्याप्सन दिने गरेको सुनाउँछन् ।

विभाग प्रमुख डा.चेम्जोङ यसलाई संस्थागत तथा प्राज्ञिक विकासको प्रक्रिया मान्छन् ।

विश्वविद्यालयको केन्द्रीय क्याम्पस भएकोले ‘शिक्षाको सिंहदरबार’ रुपमा लिने र सिंहदरबार जस्तै सफा र सुन्दर हुनुपर्ने मान्यता राखेर काम गरिरहेको बताउँछन् ।

‘यो विश्वविद्यालय केन्द्रीय क्याम्पस भएकाले मुलुकको शिक्षाको सिंहदरबार नै हो । जसरी सिंहदरबार छिर्दा त्यहाँको सौन्दर्यता र सफाइले आनन्द दिन्छ,’ उनी भन्छन्, ‘त्यसैगरी शिक्षाको सिंहदरबार छिर्दा उत्साह र ऊर्जा दिने भौतिक तथा प्राज्ञिक वातावरण बनाउनुपर्छ भन्ने मेरो मान्यता हो ।’

अनलाइनखबरले बगैंचाको नयाँ स्वरुपबारे चासो राख्दा डा.चेम्जोङले विश्वविद्यालयको भौतिक र प्राज्ञिक विकासको लागि गरेको मिहेनतको प्रभाव देखिन थालेको दाबी गरे ।

‘मानवशास्त्र विभागले भौतिक वातावरण मात्रै नभएर प्राज्ञिक वातावरण पनि स्थापित भएको छ,’ उनी भन्छन्, ‘नेपालमा नीतिगत तथा प्राज्ञिक अनुसन्धानको क्षेत्रमा मानवशास्त्र केन्द्रीय विभागले आफ्नो क्षमता र पहिचान स्थापित गरिसकेको छ ।’

विश्वविद्यालयको भौतिक र प्राज्ञिक विकासको काममा विभागका सहकर्मी शिक्षक र कर्मचारीको भरथेग र सहयोगका कारण अहिलेको वातावरण सिर्जना भएको बताउँछन् ।

विभागको पार्केटिङ गरिएको भुइँ, झ्यालमा नयाँ र सफा पर्दा लगाइएका सफा कक्षा कोठाहरूमा चिटिक्क डेस्कबेन्च, इन्टरनेट सुविधा सहित विद्यार्थी पढ्न पाउँछन् ।

विभागको पुस्तकालयको भुईंमा थुपारिएको रिसर्च पेपरहरुले र्‍याक पाएको छ, करिब पाँच हजार थेसिसले स्याहार पाइरहेको छ ।

विद्यार्थीले पुस्तकालयमा चिया पिउँदै पढ्न पाउँछन् । शौचका लागि विद्यार्थी घर दगुर्नेपर्ने स्थितिबाट मुक्त छन् ।

अर्थशास्त्र विभागका विद्यार्थी पुष्कर काफ्ले भन्छन्, ‘त्यहाँको सुधारबाट विभागकाले मात्रै नभएर हामी पनि लाभान्वित भएका छौं । गार्डेनमा, लाइब्रेरीमा बसेर पढ्न पाइन्छ ।’

दुबोले सजिएको बगैंचामा बसेर पढ्ने विद्यार्थीको घुइँचो हुने गरेको छ । कतिपय लोकसेवाको तयारी गरिरहेका विद्यार्थी पढ्ने वातावरण खोज्दै मानवशास्त्रको बगैंचामा पुग्ने गरेको उनी बताउँछन् ।

पुष्कर भन्छन्, ‘पढ्नको लागि वातावरण चाहिन्छ । त्यो भौतिक रुपमा र प्राज्ञिक रुपमा मानवशास्त्रमा त्यो वातावरण बन्दै गइरहेको छ ।’

        

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?