+
+
पल शाहको मुद्दा फैसलाको पूर्णपाठ :

‘पीडितले अस्वीकार गरेपछि जाहेरीकै भरमा दोषी भन्न मिलेन’

अमृत सुवेदी अमृत सुवेदी
२०८० असार ३१ गते १९:३७

३१ असार, पोखरा । बालिका बलात्कार मुद्दामा गत फागुन १५ गते थुनामुक्त भएका पल शाह (पूर्णविक्रम शाह) लाई पीडितले नै इन्कार गर्दा जाहेरीकै भरमा दोषी करार हुन नसकेको पाइएको छ । उच्च अदालत पोखराले पललाई फागुन १४ गते सफाइ दिएको थियो ।

न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले शाहमाथि लागेको अभियोगमा सफाइ दिएको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ । जबरजस्ती करणी मुद्दामा पीडित नै सर्वश्रेष्ठ प्रमाण हुने र उनले जबरजस्ती करणी नभएको बताएकाले पललाई दोषी करार गर्न नसकिएको पूर्णपाठमा उल्लेख छ ।

‘जबरजस्ती करणी मुद्दामा पीडित नै सर्वश्रेष्ठ प्रमाण हुने हुँदा निज पीडित अदालतमा उपस्थित भइ स्वयंले आफू उपर प्रतिवादीबाट जबरजस्ती करणी नभएको भनी स्वतन्त्र रुपले बकपत्र गर्दा गर्दै प्रतिवादी उपर किटानी जाहेरी परेकै कारणले मात्र प्रतिवादीलाई दोषी करार गर्नु न्यायसम्मत हुँदैन,’ फैसलामा भनिएको छ ।

पीडितले नै आफूमाथि करणी तथा यौन दुरुपयोग नभएको बताएको र स्वास्थ्य परीक्षण प्रतिवेदन र सो प्रतिवेदन लेख्ने चिकित्सकको वकपत्रबाटसमेत यो पुष्टि भएको फैसलामा भनिएको छ ।

जबरजस्ती करणी जस्तो गम्भीर मुद्दामा केवल जाहेरीको भरमा मात्र कसूर भएको अनुमान गरी प्रतिवादीलाई कसूरदार ठहर गर्नु फौजदारी न्यायको सर्वमान्य सिद्धान्त विपरीत हुने पूर्णपाठमा लेखिएको छ । पीडित र उनका बुबाले पनि उक्साहटमा जाहेरी गरेको बताएको, अन्य प्रमाणहरु पनि नमिलेको देखिँदा नवलपुर जिल्ला अदालतबाट भएको फैसला पनि मिलेको नदेखिएको उल्लेख छ ।

नाबालिग बलात्कारको उजुरी परे पनि जिल्ला अदालत नवलपुरले उनलाई बाल यौन दुरुपयोगमा दोषी ठहर गरेको थियो । पललाई तनहुँ जिल्ला अदालतले सफाइ दिए पनि पूर्वी नवलपुर जिल्ला अदालतले भने बाल यौन दुरुपयोगमा साढे दुई वर्ष कैद र पीडितलाई १० लाख क्षतिपूर्ति दिन आदेश दिएको थियो । त्यसविरुद्ध पहलले उच्च अदालत पोखरामा पुनरावेदन दिएका थिए । उच्चले नवलपुर अदालतको फैसलालाई उल्ट्याउँदै सफाइ दिएको थियो ।

प्रमाणका रुपमा पेश गरिएको अडियोको आंशिक तथ्यलाई पल शाहले स्वीकार गरे पनि पीडितले नै इन्कार गरेकी थिइन् । जबरजस्ती करणीसहितको यौन दुव्र्यवहार नभएको भनी बकपत्र गरेकी, जाहेरवालालसमेत आफ्नै जाहेरीको व्यहोरालाई अस्वीकार गरी प्रतिवादी कसूरदार होइनन् भनेकाले पनि पललाई सफाइ दिइएको फैसलामा उल्लेख छ । बलात्कारको मुद्दामा बाल यौन  दुर्व्यवहारमा जरिवाना, क्षतिपूर्तीसहित कैद सजाय गर्ने नवलपुर अदालतको फैसला नै मिलेको नदेखिएको पूर्णपाठमा लेखिएको छ ।

‘२ वर्ष ६ महिनाको कैद सजाय तथा रु. २५०००।– (पच्चिस हजार रुपैयाँ जरिवाना हुने र परिवर्तित नाम २०७८ गैडाकोट ५ (क) ले प्रतिवादीबाट रु.१०,००,०००।– (दश लाख रुपैयाँ क्षतिपूर्ती वापत भराई पाउने ठहय¥याएको सुरु नवलपुर जिल्ला अदालतको मिति २०७९/५/२१ को फैसला उल्लिखित आधार र कारणहरुबाट मिलेको देखिएन,’ उच्च अदालत पोखराको फैसलामा भनिएको छ ।

बलात्कार भएकै छैन भनी अदालतमै जाहरेवाला बुवाकै रोहवरमा पीडितले बकपत्र गरेकी थिइन् । पल शाह र पीडित भनिएकी नाबालिक बाग्लुङ, तनहूँ हुँदै गैंडाकोट सौराहा समेतका स्थानहरुमा सुटिङका क्रममा जाँदा बलात्कार भएको जाहेरी परेको थियो ।

घटना विवरण, विभिन्न व्यक्तिहरुको बयान र पीडितले नै मोबाइलमा म्यासेज गरेर माफी मागेको पाइएको फैसलामा उल्लेख छ । २०७८/५/१५ गतेका दिन परिवर्तित नाम २०७८ गैडाकोट ५ (क) ले प्रतिवादीलाई ‘हामीलाई थाहा छ, हामीबीच त्यस्तो केही भएन, यसबीच तिमीलाई परेको दुःखका लागि माफी माग्न चाहान्छु’ भन्ने समेत बेहोराबाट प्रतिवादीको मोबाइलमा म्यासेज गरेको देखिएको फैसलामा भनिएको छ ।

पोलिग्राफ परीक्षण गर्दा प्रतिवादीको प्रस्तुति अवस्था ठिक रहेको भन्ने प्रतिवेदनबाट देखिएको र अनुसन्धानको क्रममा संकलन भएका परिवर्तित नाम २०७८ गैडाकोट ५ (क) र प्रतिवादीका बीचको सम्वाद (अडियो) को विश्वसनियता शंकारहित प्रमाण एवं अन्य वस्तुनिष्ठ प्रमाणबाट समर्पित हुन नसकेको आधार र प्रमाणहरुबाट पललाई सफाइ दिइएको फैसलामा लेखिएको छ ।

नाबालिक बलात्कारको आरोप लागेपछि २०७८ फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका पल ठिक एक वर्षपछि फागुन १५ गते नै रिहा भएका थिए ।

एक गायिकाले सुटिङको क्रममा शाहले आफूलाई बलात्कार गरेको भन्दै २०७८ फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएकी थिइन् । त्यसपछि ती गायिकाले नवलपरासी पूर्वको एक रिसोर्टमा पनि २०७७ चैत ७ गते आफूमाथि शाहले बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वमा पनि जाहेरी दिएकी थिइन् । त्यसपछि शाहलाई नवलपरासी पूर्वमा पनि झिकाएर प्रहरीले बयान लिएको थियो ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?