+
+

टिकट दर आधा घटाएपछि लुम्बिनी केबलकारमा यात्रु बढे

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ३ गते १५:१७

३ साउन, बुटवल । बुधबारका लागि साविक टिकट दर घटाएर आधा सस्तो बनाएपछि लुम्बिनी केबलकार चढ्ने यात्रुको संख्या पहिलो दिन नै दोब्बरले बढेको छ । केबलकारले हरेक बुधबार बिहान ९ देखि १२ बजेसम्म टिकट खरिदमा ५० प्रतिशत छुटसहित ‘मर्निङ अफर’ सुरु गरेको छ । यसअघि केबलकारमा प्रति दिन औसतमा ५ सय जना यात्रु आउने गरेकामा ‘मर्निङ अफर’को पहिलो दिन ३ घण्टामै ९९६ जना आएको अपरेसन म्यानेजर डिएन कायस्थ सैंजूले जानकारी दिए ।

यो अफ सिजन भएको र सर्वसाधारणको मागलाई समेत मध्यनजर गरेर भदौ मसान्तसम्म यस्तो अफर ल्याइएको सैंजूले बताए । आईएमई ग्रुपको अगुवाईमा कुल ५ अर्ब लागतमा बनेको लुम्बिनी प्रदेशकै पहिलो यो केबलकार गत जेठ १५ गतेदेखि व्यवसायिक सञ्चालनमा आएको थियो ।

केबलकारको दुईतर्फी यात्राका लागि साधारण टिकट दर ७५० रुपैयाँ रहेकोमा ‘मर्निङ अफर’ को लागि ३७५ रुपैयाँ मात्र कायम गरिएको छ । भदौ मसान्तसम्म यो अफर कायम रहने भएको छ । यो अफरमा भारतीय नागरिकले समेत ३७५ भारुमा र तेस्रो मुलुकका विदेशी पर्यटकले ११ अमेरिकी डलरमा यात्रा गर्न पाउने प्रालिले जनाएको छ ।

२.६ किलोमिटर दुरीको केबलकारको टप स्टेशन पाल्पाको बसन्तपुरमा बनेको कामाख्या देवीको मन्दिर हिन्दु धर्मावलम्बीबीच आकर्षक गन्तब्य हो । कामाख्या मन्दिरको दर्शन गर्न भारतको उत्तर प्रदेशका विभिन्न शहरबाट समेत उल्लेख्य मात्रामा पर्यटकहरु आउने गरेको आयोजना प्रमुख गोकुल साउदले जानकारी दिए । जेठ १५ देखि असार मसान्तसम्म केबलकारमा करिब ३० हजार जना पर्यटक आएका र ४० प्रतिशत भारतीय रहेका साउदले बताए ।

समुद्री सतहबाट ९६० मिटर उचाइमा रहेको बसन्तपुरमा तराईका ठाउँ भन्दा ७ देखि १० डिग्री सेल्सियस कम तापक्रम हुने भएकाले गर्मी मौसममा शितल र जाडो याममा घाम लागेर न्यानो हुने भएकाले पर्यटकको लागि रोजाइको थलो बनेको छ ।

केबलकारले प्रत्येक टिकट शुल्कको २ प्रतिशत सेवा शुल्क वापत बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकाका लागि छुटाएको छ । उक्त रकम दुई पालिकाले ५०–५० प्रतिशतका दरले बाँडफाट गर्ने गरी सम्झौता भएको छ । टप स्टेशनमा २ वर्षभित्र १ सय ५० कोठा, एक हजार जना क्षमताको बैंक्वेट हल, क्यासिनो सहित पाँच तारे होटेल बनाउने तयारी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?