+
+

मानबहादुरलाई जुरेको आकस्मिक संयोग

अब उनको अन्तिम लक्ष्य भनेको नेपाललाई उपाधि जिताउने नै हो। त्यसका लागि धेरै मिहिनेत गर्नुपर्ने र धेरै खेल खेल्नुपर्ने मानबहादुरले बताए। 

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०८० साउन ३ गते १९:५६

३ साउन, काठमाडौं। राष्ट्रिय भलिबल खेलाडी मानबहादुर श्रेष्ठले तत्काल राष्ट्रिय टिमकै नेतृत्व गरौंला भनेर सोचेकै थिएनन्।

तर परिस्थिति यस्तो बन्यो कि ९ वर्षदेखि राष्ट्रिय टिममा खेल्दै आएका मानबहादुर एकाएक कप्तान बने। उनकै कप्तानीमा नेपालले सेप्टेम्बर-अक्टोबरमा चीनमा हुने एसियन गेम्स भलिबलमा प्रतिस्पर्धा गर्ने छ। एसियन गेम्स र एसियन च्याम्पियनसिप नेपाली भलिबल टिमले खेल्ने सबैभन्दा ठूला प्रतियोगिता हुन्।

‘अहिले नै कप्तान बन्छु भन्ने थिएन। एक्कासी नै अवसर आयो’ कप्तान नियुक्त भएपछि मानबहादुरले अनलाइनखबरसँग भने, ‘ममा अझै जिम्मेवारी थपिएको छ।’

एक महिनाअघि किर्गिस्तानमा भएको काभा नेसन्स लिगमा हरिहजुर थापाको कप्तानीमा नेपालले ६ खेल खेलेको थियो। उनकै कप्तानीमा नेपालले चीनमा एसियन गेम्स खेल्ने तयारी थियो। त्यसैले मानबहादुरसँग तत्काल कप्तान नै हुने सपना थिएन।

तर सातौं पीएम कप एनभीए महिला तथा पुरुष राष्ट्रिय क्लब भलिबल लिगमा गण्डकी प्रदेश भलिबल संघसँगको खेलमा त्रिभुवन आर्मी क्लबका धनबहादुर भट्ट सहितका खेलाडीले दर्शकदीर्घामा नै गएर दर्शकलाई कुटे।

दर्शकमाथि हातपात तथा खेलका क्रममा अनुशासनहीन गतिविधि गरेको भन्दै भलिबल संघले भट्टलाई ६ महिना तथा राजेन्द्र विष्ट र धनपति कुँवरलाई ३ महिनाको प्रतिबन्ध लगाएको छ।

त्रिभुवन आर्मी क्लबका कप्तान रहेका हरिहजुरलाई राष्ट्रिय टिमको कप्तानबाट बर्खास्त गर्‍यो। कप्तान भएर पनि क्लबका खेलाडीलाई अनुशासनमा राख्न नसक्नेले देशको नेतृत्व गर्न नसक्ने भन्दै हरिहजुर बर्खास्त भएपछि उनकै टिमका मानबहादुरले अवसर पाएका हुन्।

राष्ट्रिय टिममा ९ वर्षको अनुभवप्राप्त उनले थपे, ‘आफ्नो अनुभव टिमसँग बाँड्छु। मेरो नेतृत्वमा टिमलाई ठूलो सफलता दिलाउने लक्ष्य लिएर अघि बढ्छु।’

आर्मीको नेतृत्व   

उनीसँग आफ्नै विभाग आर्मीको कप्तानी गरिसकेको अनुभव छ। त्यसमा एउटा संयोग पनि छ। राष्ट्रिय टिममा जस्तै उनले विभागीय टिममा पनि हरिहजुरको स्थान लिएका थिए। हरिहजुर मिसनका लागि बाहिर गएपछि मानबहादुरले त्यो जिम्मेवारी पाए। दुई वर्ष टिमको नेतृत्व गरेका मानबहादुर र आर्मी त्यतिबेला दुवै लयमा थिए। त्यस वर्ष आर्मी वर्षकै उत्कृष्ट टिम बनेको थियो।

उनकै कप्तानीमा आर्मीले २०७४ सालमा राखेप च्याम्पियनसिप, प्रधानसेनापति कप र एनबीए कप जितेको थियो। राखेप च्याम्पियनसिप र एनबीए कपमा उनी बेस्ट प्लेयर बने भने प्रधानसेनापति कपमा उत्कृष्ट स्पाइकर। ‘मैले नेतृत्व गरेको बेला आर्मी उत्कृष्ट लयमा थियो। कप्तानी गर्दै उपाधि उचाल्दा धेरै खुशी लाग्छ’, ६ फिट अग्ला मानबहादुरले भने।

तर २०७५ सालमा आठौं राष्ट्रिय खेलकुदमा सहभागी नहुँदा उनको कप्तानी पद गुम्यो। उनी राष्ट्रिय टिममा पनि परेनन्। जसले गर्दा घरेलु कोर्टमा भएको सेन्ट्रल जोन भलिबल समेत खेल्न पाएनन्। पछि उनले मिहिनेत गर्दै आर्मी र राष्ट्रिय टिममा पुनरागमन गरे। त्यसयता नवलपरासीको कावासोतीका उनले राष्ट्रिय टिममा लगातार खेल्दै आएका छन्।

अहिलेको टिम राम्रो छ

अहिले नेपाली टिममा युवा र नयाँ खेलाडी धेरै छन्। कप्तान मानबहादुर र हरिहजुर नै राष्ट्रिय टिमका अनुभवी खेलाडी हुन्।

अर्का अनुभवी खेलाडी धनबहादुर भट्टलाई संघले कारबाही गर्दै ६ महिना राष्ट्रिय र अन्तर्राष्ट्रिय खेल खेल्न नपाउने गरी निलम्बनमा छन्।

गत महिना किर्गिस्तानमा काभा नेसन्स लिग खेल्दा तीन नयाँ खेलाडी थिए। अबको टिममा युवा खेलाडीकै बाहुल्य रहने छ।

युवा भए पनि सिनियर र जुनियर टिमबाट अनुभव पाइसकेका खेलाडी रहेकाले टिम राम्रो रहेको मानबहादुरलाई लागेको छ। ‘अहिले टिममा युवा खेलाडीहरु छन्। तर उनीहरु राम्रा छन्। युवा खेलाडीहरुले पनि नेपालको उमेर समूहका लागि खेलिसकेका छन्। सिनियर र जुनियर टिमबाट नेपालको प्रतिनिधित्व गरिसकेकोले सहज हुनेछ।’

एसियन गेम्समा अनुभव लिने

नेपालले अब खेल्ने अन्तर्राष्ट्रिय प्रतियोगिता १९औं एसियन गेम्स हो। मानबहादुरको कप्तानी इनिङ्स पनि त्यहींबाट सुरु हुनेछ।

एसियन गेम्समा सक्दो अनुभव लिने उनको र नेपाली टिमकै लक्ष्य छ।

‘जति धेरै अन्तर्राष्ट्रिय खेल खेल्यो उति नै राम्रो हुन्छ। खेलाडी जहिल्यै खेलको भोको हुन्छन्। अहिले हाम्रो अवस्था अनुसार संघले अन्तर्राष्ट्रिय खेल व्यवस्था गरेको छ’ उनी भन्छन्, ‘अझ धेरै खेल्न पायौं भने राम्रो हुन्छ। यसमा सरकार र निजी क्षेत्रले पनि साथ दिनुपर्छ।’

नेपालले २०१८ मा इन्डोनेसियामा भएको एसियन गेम्स खेल्दा दक्षिणकोरिया र ताइपेइ जस्ता बलिया टिमसँग खेल्ने अवसर पाएको थियो।

‘ठूला टिमसँग खेल्दा आफ्नो स्तर कहाँ छ पत्ता लाग्छ। नयाँ खेलाडीले एक्सपोजर पाउँछन्। एसियन गेम्स त्यही भएर ठूलो अवसर हो’, मानबहादुरले भने।

यसअघि नेपाल एसियन गेम्समा १५औं भएको थियो। चीनमा हुने एसियन गेम्समा त्योभन्दा राम्रो स्थान ल्याउने नेपालको लक्ष्य छ।

एसियन गेम्सका लागि नेपालले विदेशी प्रशिक्षकसँग प्रशिक्षण गर्नेछ।

बेल्जियन प्रशिक्षक जान डी ब्रान्ड नेपाल आइसकेका छन्। नेपाली टिमले बुधबारदेखि नै प्रशिक्षण सुरु गरेको छ।

नेपाललाई उपाधि जिताउने लक्ष्य

नेपालले अन्तर्राष्ट्रिय भलिबल खेल्न थालेको झण्डै पाँच दशक बितिसकेको छ। तर अहिलेसम्म पुरुष भलिबलले एउटा पनि उपाधि जित्न सकेको छैन।

सन् २०१७ मा माल्दिभ्समा भएको सेन्ट्रल जोनमा तेस्रो हुँदै कांस्य जित्नु नै नेपालको अहिलेसम्मको ठूलो सफलता हो। त्यसबेला मानबहादुरले उत्कृष्ट प्रदर्शन गर्दै बेस्ट आउटसाइट हिटरको अवार्ड पाएका थिए।

मानबहादुरकै कप्तानीमा नेपालले गत वर्ष बंगलादेशमा भएको अन्तर्राष्ट्रिय बिच भलिबलमा दोस्रो स्थान हात पारेको थियो।

अब उनको अन्तिम लक्ष्य भनेको नेपाललाई उपाधि जिताउने नै हो। त्यसका लागि धेरै मिहिनेत गर्नुपर्ने र धेरै खेल खेल्नुपर्ने मानबहादुरले बताए। ‘अन्तिम लक्ष्य नेपालको लागि उपाधि जित्नु नै हो। भलिबलमा तेस्रो भयौं। बिच भलिबलमा दोस्रो। अब पहिलो कहिले हुन्छौं थाहा छैन। तर अन्तिम लक्ष्य त्यही हो।’

त्यसका लागि एसियन गेम्स जस्तै एसियन च्याम्पियनसिप लगायत ठूलो प्रतियोगिता खेल्नुपर्ने उनले बताए। ‘एसियन गेम्समा हामीले ठूला टिमसँग खेल्न पाउँछौं। त्यो अनुभव अन्य अन्तर्राष्ट्रिय प्रतियोगिता प्रयोग गरेर जित्ने योजना बनाउनुपर्छ।’

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?