+
+

११ महिनामा बैंक वित्तीय संस्थाले कमाए चुक्ता पूँजीको १७ प्रतिशत नाफा

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ३ गते १७:३१

३ साउन, काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० को ११ महिनामा बैंक तथा वित्तीय संस्थाले ७३ अर्ब ८० करोड रुपैयाँ मुनाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको जेठ मसान्तसम्मको तथ्यांकअनुसार चुक्ता पूँजी ४ खर्ब २५ अर्ब ३ करोड चुक्ता पूँजी लगानी गरेका बैंक तथा वित्तीय संस्थाले यो परिमाणमा नाफा गरेका हुन् । यो नाफा बैंक तथा वित्तीय संस्थाको चुक्ता पूँजीको औसत १७ दशमलव ३६ प्रतिशत हो ।

तर, बैंक तथा वित्तीय संस्थाको पूँजीकोषको आकार भने ६ खर्ब ६६ अर्ब ३५ करोड पुगेको छ ।

बैंकहरुले नेपाल फाइनान्सियल रिर्पोटिङ स्ट्यान्डर्डअनुसार असुल हुनुपर्ने पाकेको ब्याजलाई समेत आम्दानी जनाउनुपर्ने हुन्छ । तर, त्यसरी असुल हुन नसकेको ब्याजलाई नाफाबाट सेयरधनी सञ्चित कोषमा लैजानुअगाडि नउठेको ब्याज बराबरको रकम रेगुलेटरी रिजर्भमा देखाउनुपर्ने हुन्छ । जसले गर्दा बैंकहरुको नाफा ७३ अर्ब माथि हुँदा समेत जेठमा सेयरधनी सञ्चित कोष भने ऋणात्मक देखिएको छ ।

असार मसान्तमा बैंकहरुको कर्जा असुली राम्रो हुँदा जेठको तुलनामा बैंकहरुको विवरण सुधार भएको बैंकरहरु बताउँछन् । जेठ मसान्तमा वाणिज्य बैंकहरुले मात्रै ६७ अर्ब २३ करोड रुपैयाँ नाफा कमाएको राष्ट्र बैंकले जनाएको छ । जेठ मसान्तमा वाणिज्य बैंकहरुको कुल पूँजीकोष ५ खर्ब ९९ अर्ब १२ करोड रुपैयाँ छ । जसमध्ये चुक्ता पूँजी ३ खर्ब ७९ अर्ब ८६ करोड साधारण जगेडा कोष १ खर्ब २५ अर्ब १४ करोड, सञ्चित नाफा २ अर्ब ९ करोड र अन्य जगेडा कोष ९८ अर्ब २ करोड रहेको राष्ट्र बैंकले जनाएको छ ।

जेठसम्म २१ वटा वाणिज्य बैंक सञ्चालनमा रहेकोमा असारमा लक्ष्मी र सनराइज बैंक मर्जर भई लक्ष्मी सनराइज बैंक भएका छन् । जेठ मसान्तमा सर्वाधिक नाफा कमाउनेमा नबिल बैंक छ । २७ अर्ब ६६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले ७ अर्ब ११ करोड रुपैयाँ मुनाफा आर्जन गरेको राष्ट्र बैंकको तथ्यांक छ ।

यस्तै ३५ अर्ब ७७ करोड चुक्ता पूँजी भएको ग्लोबल आईएमई बैंकले ६ अर्ब ५१ करोड रुपैयाँ नाफा कमाउँदा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ४ अर्ब ७७ करोड पुगेको छ । नेपाल इन्भेष्टमेन्ट मेगाको चुक्ता पूँजी ३४ अर्ब १३ करोड रुपैयाँ छ ।

११ अर्ब ५६ करोड रुपैयाँ चुक्ता पूँजी भएको एनआईसी एशिया बैंकले ४ अर्ब ४ अर्ब ६३ करोड रुपैयाँ नाफा कमाएको छ ।

यस अवधिमा विकास बैंकहरुले ५ अर्ब ११ करोड रुपैयाँ नाफा आर्जन गरेको छन् । जसमध्ये मुक्तिनाथ विकास बैंकले १ अर्ब १० करोड नाफा पुर्‍याएको छ । राष्ट्रिय स्तरको अन्य विकास बैंकमा गरिमा विकास बैंकले ८२ करोड नाफा कमाएको छ । त्यस्तै, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ७० करोड नाफा कमाउँदा महालक्ष्मी विकास बैंकले करिब ६७ करोड नाफा कमाएको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ३५ करोड रुपैयाँ छ । कामना सेवा विकास बैंकले करिब ४४ करोड, ज्योति विकास बैंकले ३७ करोड र लुम्बिनी विकास बैंकले ५२ करोड रुपैयाँ नाफा कमाएका छन् ।

जेठ मसान्तसम्म फाइनान्स कम्पनीहरुको नाफा करिब १ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ । जसमध्ये सर्वाधिक नाफा कमाउनेमा मञ्जुश्री फाइनान्स छ । कम्पनीले करिब २१ करोड नाफा कमाएको छ । यस्तै गोर्खाज फाइनान्सको नाफा करिब १२ करोड, गुडविल फाइनान्सको करिब १६ करोड र आईसीएफसी फाइनान्सको नाफा ११ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ ।

०७९/८० को ११ महिनामा वाणिज्य बैंकहरूको नाफा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?