+
+

खर्च घटाउने धेरै ठाउँ छ, सेनाको संख्याबारे बहस नगरौं : बामदेव गौतम

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ४ गते १५:२१

४ साउन, काठमाडौं । राष्ट्रियसभा सदस्य बामदेव गौतमले नेपाली सेनाको संख्या घटाउने विषय औचित्यहीन र अनावश्यक भएको बताएका छन् । बिहीबार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै उनले खर्च घटाउने नाममा सेनाको आकार घटाउने विषयमा छलफल गर्नु उचित नहुने बताएका हुन् ।

कुनै पनि राज्य बन्नका लागि भूमि, अधिकार सम्पन्न जनता, स्वतन्त्र सरकार र सेना गरी चार अंग आवश्यक पर्ने गौतमले बताए । ती चार अंगमध्ये एउटा अंग कमजोर भए पनि दुर्घटना व्यहोर्नुपर्ने उनको भनाइ छ । ‘राज्यका चार अंग छन्, एउटा अंग कमजोर भयो भने हामीले दुर्घटना ब्यहोर्ने भन्दा केही हुन्न । त्यसैले नेपाली सेनालाई हामीले अपमान गर्न हुँदैन’ उनले भने ।

नेपाली सेनाले धेरै अप्ठयारो परेका बेला नेपालको रक्षा गरेको भन्दै गौतमले सेनाबारे बहस गर्नेहरुलाई इतिहास पढ्न सुझाव दिए । राजाले निर्माण गरेको शक्ति भए पनि नेपाली सेनाले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानलाई समर्थन गरेर जनताले जे निर्णय गर्छन्, त्यो हामी शिरोधार्य गर्छौ भनेर भनेको उनले बताए ।

‘त्यो सेना, गौरवगाथा बोकेको सेना, त्यो इतिहास पढनुपर्छ, दोहोर्‍याएर पढनुस् म ती साथीहरुलाई अनुरोध गर्छु, जसले सेनाको संख्या घटाउनुपर्छ, त्यसबाट बचेको पैसाले देश विकास गर्नुपर्छ भन्छ’ उनले भने ।

खर्च घटाउन प्रतिनिधिसभाका सदस्यहरुको संख्या घटाउन सकिने, राष्ट्रियसभा नै खारेज गरे पनि हुने भन्दै उनले सेनाको आकार घटाउन नहुने बताए । उनले संविधानमा संघीय व्यवस्था भएकाले मात्र प्रदेश संरचना आवश्यक देखिएको नभए त्यसको पनि कुनै अर्थ नभएको बताए ।

‘पैसा जोगाउनका लागि त धेरै ठाउँहरु छन् । प्रदेशसभाको के काम छ ? संघीय संरचना भएको हुनाले काम छ । संविधानमा छ । त्यसो भएर मैले अन्यथा भन्दिन । तर काम के छ ? कहानिर गर्छ त्यसले काम ?’ उनले प्रश्न गरे ।

गौतमले अगाडि भने, ‘२७५ जनाको प्रतिनिधिसभा किन चाहिएको छ ? घटाउनुस् यसलाई । २ सयमा झार्नुस् । २ सय ५ जनाको बनाउनुस् । २०३ जनाको बनाउनुस । अथवा १५०÷१५१ जना बनाउनुस् । यसरी चल्छ । राष्ट्रियसभाको सदस्य हौं, भन्न त मिलेन । तर प्रतिनिधिसभाको भन्दा छुट्टै अधिकार र कर्तव्य के छ ?’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?