+
+

नेपाली वायुसेवा कम्पनीले अब जहाजमा पसल राख्न पाउने 

अच्युत पुरी अच्युत पुरी
२०८० साउन ४ गते १७:४४
र्‍यानएयरको विमानमा यात्रुलाई सामान बेच्दै एयरहोस्टेस/तस्वीर : नवीन ढु‌गाना 

४ साउन, काठमाडौं । नेपालका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले उडानका दौरान अब ‘अनबोर्ड ड्युटी पेड सप’ सञ्चालन गर्न सक्ने भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उडानका बखत वायुयान भित्र यस्तो पसल सञ्चालन गर्न सहजीकरण गर्ने उद्देश्यले अनबोर्ड ड्युटी पेड सप सञ्चालन कार्यविधि जारी गरेको छ । यस कार्यविधि अनुसार वायुसेवा कम्पनीले अनुमति लिएर जहाज भित्रै पसल सञ्चालन गर्न सक्नेछन् ।

यसबाट वायुसेवाको अतिरिक्त आम्दानी बढ्ने, वायुसेवालाई थप सवल, सुदृढ र दीगो बनाउने तथा राजस्व संकलन र विदेशी मुद्रा आर्जनमा समेत सहयोग पुग्ने मन्त्रालयको विश्वास छ ।

मन्त्रालयका अनुसार यस कार्यविधिमा टेकेर वायुसेवा कम्पनीले उडानरत विमानमा करयुक्त सामग्री बिक्री गर्ने पसल राख्न सक्ने भएका छन् । नेपालबाट नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र बुद्ध एयरले नियमित अन्तर्राष्ट्रिय उडान गरिरहेका छन् ।

नेपाल एयरलाइन्सले दुई दशक अगाडिसम्म यस्तो पसल राख्दै आएको थियो । भन्सार ऐन आएपछि सो ऐनको प्रावधानमा टेकेर २०६० को दशकपछि यस्तो पसल राख्न बन्द गराइएको नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।

‘निकै राम्रो आम्दानी यो पसलबाट हुन्थ्यो, बन्द भएपछि पुनः सुचारु गर्न निकै प्रयास गरेका थियौं, यो राम्रो पहल हो,’ उनले भने ।

मन्त्रालयबाट अनुमति लिनुपर्ने

वायुयान भित्र पसल राख्न चाहने वायुसेवा कम्पनीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट अनुमति लिनु पर्ने भएको छ । जसका लागि मन्त्रालयका सेवा सञ्चालनको आर्थिक तथा प्राविधिक सम्भाव्यता सहितको निवेदन पेश गर्नुपर्ने भएको छ । जसमा तोकिएका शर्त पुरा गरी आन्तरिक सञ्चालन कार्यविधि बनाएर सो समेत मन्त्रालयलाई बुझाउनु पर्ने कार्यविधिमा उल्लेख छ ।

आन्तरिक सञ्चालन कार्यविधिमा खरिद गरिने सामग्रीको बिक्रेता छनोट प्रक्रिया, विभिन्न प्रकृतिका सामग्रीको खरिद र गुणस्तर कायम गर्न अवलम्बन गर्ने प्रक्रिया, गोदाम व्यवस्थापन तथा वायुयानसम्म ओसार पसारको प्रक्रिया पेश गर्नुपर्ने भएको छ ।

यसै गरी खाद्यवस्तु समेत बिक्री गर्ने भए खाद्य सुरक्षाका लागि अवलम्बन गरिने उपाय, उपभोक्ता हकहितको सुनिश्चितता, सुरक्षाका उपाय, बिक्री पश्चात भुक्तानीका उपाय र सरोकारवालासँगको अन्तरसम्बन्ध सुदृढ गर्ने विषय समेत वायुसेवा कम्पनीले मन्त्रालयलाई बुझाउनु पर्ने भएको छ । यी कागजातको मूल्यांकनबाट उपयुक्त देखिएमा मन्त्रालयले निवेदक वायुसेवा संस्थालाई यस्तो पसल सञ्चालनको अनुमति दिने भएको छ ।

सुरक्षा जाँच गराउनु पर्ने

कार्यविधि अनुसार प्रत्येक उडानमा बिक्रीका लागि चलान गरिएका सामग्री सिल गरी नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा तोकिए अनुसार सुरक्षा जाँच गराउनु पर्ने भएको छ ।

यस्तो सामान राख्ने गोदम सम्बन्धित विमानस्थलले तोकिदिने भएको छ । गोदामको सुरक्षाको जिम्मेवारी विमानस्थलले तोकिए अनुसार हुने भएको छ ।

भन्सारको प्रावधान के हुन्छ ?

मन्त्रालयका अनुसार पसल सञ्चालन गर्ने वायुसेवा कम्पनीले बिक्री गर्ने सामग्रीको सूची सम्बन्धित अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट सेवा सञ्चालन गर्नु अगाडि नै पूर्वस्वीकृति लिनु पर्ने प्रावधान छ । हरेक उडानमा बिक्रीका लागि चलान गरिने सामानको विवरण, बिक्री वितरणको विवरण तथा यसरी बिक्री भएको आम्दानीको विवरण सम्बन्धित वायुसेवाले जुनसुकै बखत पेश गर्न सक्ने गरी अध्यावधिक गर्नुपर्ने भएको छ ।

प्रत्येक उडानमा बिक्रीका लागि पठाइने सामान तथा उडान सम्पन्न भएपछि गोदममा फिर्ता आउने सामानको मौज्दात विवरण पेश गर्ने ढाँचा तथा प्रक्रिया भन्सार कार्यायलले तोकिदिने भएको छ । कानुनले बन्देज लगाएका सामग्री भने बिक्री गर्न नपाइने कार्यविधिमा उल्लेख छ ।

बिल अनिवार्य

आकासमा किनबेच हुने यस्तो सामानको आधिकारिक बिल वायुसेवा कम्पनीले जारी गर्नु पर्ने भएको छ । बिक्री गर्ने सामानको गुणस्तर र यससँग सम्बन्धित उपभोक्ता हक हित तथा अधिकारका विषयमा वायसेवा कम्पनी जिम्मेवार हुनु पर्ने भएको छ ।

यस्तो सेवा सञ्चालनका दौरान राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, मूल्य अभिवृद्धि कर ऐन, आयकर ऐन र सम्बन्धित कानुनहरु समेत वायुसेवा कम्पनीले पूर्ण पालना गर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।

प्रगति विवरण तीन महिनामा बुझाउनु पर्ने

सेवा सञ्चालनको प्रगति विवरण त्रैमासिक रुपमा मन्त्रालयमा बुझाउनु पर्ने भएको छ । सो क्रममा नेपाल नागरिक उड्डयन प्राधिकरण, विमानस्थल सेवा शूल्क नियमावली २०७८ को पूर्ण पालना गर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।

यसबाहेक प्राधिकरण र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले तोकेका सुरक्षा विधि तथा कानुनहरु पालना गर्नुपर्ने भएको छ । कार्यविधिको पालना भए–नभएको अनुगमन मन्त्रालय स्वय‌ंले गर्ने भएको छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?