+
+

१०० नर्सलाई बेलायत पठाउन श्रम मन्त्रालयले माग्यो आवेदन

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ४ गते १९:०६

४ असार, काठमाडौं । नेपाली नर्सलाई रोजगारीका लागि बेलायत पठाउने भन्दै  श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आवेदन खुलाएको छ ।  पाइलट प्रोग्रामको रुपमा पहिलो चरणमा १०० जना नर्सलाई रोगजारीका लागि बेलायत पठाउन आवेदन खुलाएको हो ।

नेपाल सरकार र बेलायत सरकारबीच द्विपक्षीय श्रम सम्झौता कार्यान्वयन सम्बन्धी कार्ययोजना मन्त्रिपरिषद्‍बाट स्वीकृत भएसँगै श्रम मन्त्रालयले पहिलो चरणमा एक सय जना नर्सिङ स्टाफ बेलायत पठाउन लागेको हो ।

श्रम मन्त्रालय र बेलायती दूतावास, काठमाडौंले जारी गरेको संयुक्त प्रेस विज्ञप्तिअनुसार, बेलायत जान इच्छुक नेपाली नर्सले शुक्रबारदेखि आवेदन दिन सक्नेछन् ।  श्रम मन्त्रालयले नेपाली नर्सलाई आवेदन दिन छुट्टै एप्लिकेसन पोट्रल समेत बनाएको छ ।

बेलायत जान इच्छुक नर्सले शुक्रबारदेखि कात्तिक २ गतेसम्म  https://ferms.dofe.gov.np मार्फत अनलाइन आवेदन दिन सक्नेछन् । सरकारले ‘गभर्मेन्ट टु गभर्मेन्ट (जीटुजी)  प्रक्रियाबाट बेलायतमा नर्सिङ जनशक्ति पठाउन लागेको हो ।

उनीहरूले वार्षिक झण्डै ४७ लाख रुपैयाँ तलब पाउनेछन् भने बेलायतमा रजिस्ट्रर नर्स भइसकेपछि वार्षिक ५८ लाख ५५ हजारसम्म तलब पाउनेछन् ।  उनीहरूले ५ वर्ष मात्र काम गर्न पाउनेछन् ।

नेपाली नर्सलाई रोजगारीका लागि बेलायतमा लैजान गत भदौमा दुई देशबीच सम्झौता भएको थियो । सम्झौता अनुसार बेलायतमा रोजगारीमा जान आईईएलटीएसमा न्यूनतम ७ अंक अनिवार्य रुपमा ल्याउनुपर्नेछ ।

त्यसैगरी, बेलायत जान चाहानेले कम्तीमा ३ वर्षको नर्सिङ कोर्स पीसीएल नर्सिङ वा बीएन सरहको शैक्षिक योग्यता हासिल गरेको हुनुपर्नेछ । २ वर्षको कार्यअनुभव (वर्किङ एक्सपिरियन्स) पनि अनिवार्य गरिएको छ ।

यस्तो योग्यता पूरा गरेकाहरुमध्ये संक्षित सूची तयार (सर्ट लिस्टिङ) गरेर अन्तर्वार्तामार्फत बेलायत जान पाउनेहरु छानिने छन् । त्यस्तै, रोजगारीका लागि छनोट भएर बेलायत पुगेकाहरूले फेरि त्यहाँको नर्सिङ काउन्सिलको परीक्षा पनि दिनुपर्नेछ ।

प्रोटोकलले यस्तो आवेदन दिन तोकिएका योग्यताहरु पूरा भएको हुनुपर्ने अनिवार्य गरेको छ । नेपाल नर्सिङ परिषद्को तथ्याङ्‍कअनुसार हालसम्म नेपालमा करिब ७४ हजार नर्सले सेवाका लागि अनुमति (लाइसेन्स) लिएका छन्  ।

नेपालमा कति सक्रिय र कति विदेशी नर्स छन् भन्ने तथ्यांक परिषद्‍सँग छैन । पढाइका लागि विदेश जानुअघि नर्सहरूले नर्सिङ काउन्सिलको स्वीकृति लिनुपर्ने भए पनि पढाइबाहेक अन्य कामका लागि विदेश जान स्वीकृति चाहिंदैन ।

नेपालमा ४५ हजार नर्सिङ जनशक्ति मात्र सक्रिय भएको नेपाल नर्सिङ संघको अनुमानित तथ्यांक छ । तीमध्ये नेपाल सरकार अन्तर्गत स्थायी र करारमा १८ हजार नर्स कार्यरत छन् ।

यस्तै, करिब १७ हजार नर्स निजी अस्पतालमा र बाँकी शैक्षिक क्षेत्रमा काम गरिरहेका छन् । यस्तै, करिब ३० हजार नर्स अहिले पनि बेरोजगार रहेको हुनसक्ने अनुमान छ । यस्तै, करिब २९ हजारले विदेश जानका लागि भेरिफिकेशन लिएका छन् ।

देशमा बेरोजगार भएका वा उचित पारिश्रमिक नपाएर नर्सहरु विभिन्न अवसरको खोजीमा विदेशिने क्रम जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?