+
+

अमेरिकाले दिएको खतरनाक क्लस्टर बम युक्रेनले रुसविरुद्ध प्रयोग गरेको खुलासा

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ५ गते ७:१६

५ साउन, काठमाडौं । युक्रेनले रुसी सेनाविरुद्ध अमेरिकी क्लस्टर बम प्रयोग गरिरहेको अमेरिकाले पुष्टि गरेको छ । अमेरिकाको राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले प्रारम्भिक प्रतिक्रियाबाट क्लस्टर बम रक्षात्मक कदमका लागि प्रभावी ढंगले प्रयोग गरिरहेको पत्ता लागेको बताएका छन् ।

क्लस्टर बमले धेरै बमहरु खसाल्ने र त्यसबाट सर्वसाधारणमा वर्षौंसम्म पनि नराम्रो असर पर्ने भन्दै १०० भन्दा धेरै देशले त्यसलाई प्रतिबन्ध लगाएका छन् । तर रुसविरुद्ध लडिरहेको युक्रेनलाई सैन्य सहयोग गर्ने क्रममा अमेरिकाले क्लस्टर बम सहयोग गरेको थियो ।

अमेरिकाको राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले युक्रेनले क्लस्टर बमको उचित उपयोग गरिरहेको दाबी गरेका छन् । ‘उनीहरुले त्यसलाई प्रभावी ढंगले उपयोग गरिरहेका छन् । त्यसले रुसविरुद्धको युद्धमा प्रभाव पारिराखेको छ,’ उनले भनेका छन् ।

रुसविरुद्धको लडाइँमा युक्रेनसँग गोलाबारुद्ध समाप्त हुन थालेको भन्दै युक्रेनले अमेरिकासँग क्लस्टर बम दिन आग्रह गरेको थियो । अमेरिकी राष्ट्रपति जो बाइडनले यसबारे निर्णय लिन ‘धेरै गाह्रो’ भएको बताएका थिए । तर सहयोगी देशहरु बेलायत, क्यानडा, न्युजिल्याण्ड र स्पेनको विरोधका बाबजुद अमेरिकाले क्लस्टर बम युक्रेनलाई दिएको थियो । युक्रेनले उक्त बम रुसी सैनिकलाई पछि हटाउनका लागि मात्र प्रयोग गर्ने प्रतिबद्धता जनाएको थियो ।

के हो क्लस्टर बम ? किन खतरनाक मानिन्छ ?

क्लस्टर बम सयौं साना–साना बमहरुको संग्रह हो । रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी)का अनुसार क्लस्टर बमलाई विमान, तोपखाना वा मिसाइलबाट प्रहार गरिन्छ । यसलाई आकाश र जमिन दुवै ठाउँबाट प्रहार गर्न सकिन्छ ।

यो बम प्रहार गर्दा ठूलो इलाकालाई क्षति पुर्याउँछ । यसको प्रयोग खासगरी दुश्मनको एकत्रित फौजलाई क्षति पुर्याउने उद्देश्यले गरिन्छ ।

बम जमिनमा खस्नासाथ विष्फोट हुने ढंगले बनाइएको हुन्छ । कतिपय बम तुरुन्तै विष्फोट नहुन पनि सक्छन् । तर ती बारुदी धरापको रुपमा लामो समयसम्म खतरापूर्ण अवस्थामा रहिरन्छन् । क्लस्टर बम प्रहार भएको वर्षौंसम्म पनि यसको असरले मानिसको मृत्यु हुने वा अपाङ्ग हुने जोखिम रहन्छ ।

सन् २००८ मा डबलिन कन्भेशन अन क्लस्टर म्युनिशन नामको एक अन्तर्राष्ट्रिय सन्धि अनुसार क्लस्टर बम राख्न, बेच्न या प्रयोग गर्न रोक लगाइएको थियो । यद्यपि कतिपयले यो सन्धिको विरोध पनि गरे । भारत, रुस, अमेरिका, चीन, पाकिस्तान र इजरायलले यो सन्धिको विरोध गर्दै यो सन्धिमा संलग्न भएनन् । सन् २०१८ सम्ममा यो सन्धिमा विश्वका १०८ देशले हस्ताक्षर गरिसकेका छन् ।

क्लस्टर बमको उत्पादन र प्रयोग प्रतिबन्धित भए पनि अमेरिका, इराक, उत्तर कोरिया, इजरायल लगायत देशले यी बम प्रयोग गरिरहेको आरोप लाग्दै आएको छ ।

मानवअधिकारकर्मीका अनुसार मानव वस्ती भएको क्षेत्रमा यो बम प्रयोग गर्नु अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लंघन मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?