+
+

भारी बोक्दाबोक्दै अन्तर्राष्ट्रिय खेलाडी बनेका अर्जुन

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०८० साउन ९ गते २०:५०

९ साउन, काठमाडौं । सन् २०१३ को एभरेष्ट म्याराथनमा पहिलो पटक सहभागी अर्जुन कुलुङ राई छैटौं स्थानमा रहे । भारी बोकेर जीविकोपार्जन गर्दै आएका र कुनै प्रशिक्षण नलिएका अर्जुन अरुले दौडेको देखेर मात्र दौडिएका थिए ।

त्यही दौडले उनलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍यायो । गत महिना अष्ट्रियामा भएको वर्ल्ड माउन्टेन एण्ड ट्रेल रनिङ च्याम्पियनसिप (डब्लुएमटीआरसी) मार्फत पहिलो पटक अन्तर्राष्ट्रिय ट्रेल दौडमा सहभागी अर्जुन ५०औं स्थानमा रहे ।

अष्ट्रियाको इन्सवर्गमा जुन ६ देखि १० सम्म आयोजना भएको डब्लुएमटीआरसीमा नेपालबाट अर्जुन र सुनमाया बुढा सहभागी थिए । सुनमायाले चोटका कारण दौड पूरा गर्न सकिनन् । अर्जुनले भने दौडका क्रममा मांशपेशीमा समस्या आए पनि पूरा गरेरै छाडे । पहिलो पटक दौडिँदा नै ५० भित्र पर्न सक्नु अर्जुनको उपलब्धि हो ।

झण्डै एक दशकको अवधिमा अर्जुनले नेपालमै तीस भन्दा बढी प्रतियोगितामा दौडिसकेका छन् । अल्ट्रा दौडबाटै उनी नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय स्तरसम्म पुगिसकेका छन् ।

पोर्टरदेखि डकर्मीसम्म

सन् २०१३ मा एभरेष्ट म्याराथनमा दौडनुअघि अर्जुनले भारी बोक्ने काम गर्थे । सोलुखुम्बु महाकुलुङका अर्जुन सगरमाथा क्षेत्रमै काम गर्थे । पोर्टर काम गर्दागर्दै उनले एभरेष्टमा म्याराथन हुँदैछ भन्ने थाहा पाए ।

तर उनले त्यस बेलासम्म दौडसम्बन्धी कुनै प्रशिक्षण लिएका थिएनन् । तैपनि दौडन सक्छु भन्ने जोस उनमा थियो । कतिसम्म भने एभरेष्ट म्याराथन दौडिन तयारीस्वरुप उनले दुई दिनभित्र नाम्चेदेखि लुक्कासम्म भारी पुर्‍याएर फेरि लुक्लाबाट नाम्चे हुँदै सगरमाथा आधार शिविरसम्मको यात्रा तय गरेका थिए ।

‘म्याराथन हुने थाहा पाएपछि मलाई पनि दौडिन मन लाग्यो । दौडिन मन छ भनेर दाइलाई भनेँ । तर तैँले सक्दैनस् भन्नुभयो । तर मैले आफ्नो काम सकेर दौडिन गएँ’, अर्जुनले पहिलो पटक दौडिँदाको अनुभव सुनाए ।

पहिलो सहभागितामा शीर्ष १० मा परेपछि उनमा झन् आत्मबल बढ्यो । ‘मैले पनि सक्ने रहेछु भन्ने लाग्यो । यही क्षेत्रमा प्रशिक्षण गर्‍यो भने केही गर्न सकिन्छ भन्ने लाग्यो । अनि काम गर्दै समय मिलेसम्म प्रशिक्षण गर्न थालेँ’, अर्जुनले सुनाए ।

त्यसपछिका एभरेष्ट म्याराथनमा पनि उनले भाग लिन थाले । सन् २०२१ र २०२२ मा भएको एभरेष्ट म्याराथनको ६० किमी दौडमा त उनी पहिलो नै भए ।

एभरेष्ट म्याराथनमा सहभागितापछि अर्जुन काठमाडौं आएर प्रशिक्षण लिन थाले । अन्य दौडहरुमा पनि सहभागी हुन थाले । उनले दुईपटक मञ्जुश्री ट्रेल रेस जिते ।

आफ्नो रहर पूरा गर्न काठमाडौं त आए । तर काठमाडौंमा जीविकोपार्जनको कुनै उपाय थिएन । श्रीमती र दुई सन्तानसमेतको लालनपालनको जिम्मेवारीमा रहेका अर्जुनले जीविका चलाउन घर बनाउने डकर्मी काम गर्न थाले । ‘मैले घर बनाउने, झ्यालको सीसा हाल्ने, ढलान गर्ने सबै काम गरेँ । ढलान गर्ने काम चाहिँ गाह्रो हुने रहेछ । तर काम अनुसारको पैसा पाउने भएर ठीक लाग्यो’, उनले भने ।

नर्थ फेसको प्रायोजन

सन् २०२२ नोभेम्बरमा मनास्लु ट्रेल रेस आयोजना भएको थियो । अर्जुन पनि त्यसमा सहभागी थिए । त्यही रेसमा उनको भेट नेपाल ट्रेल सिरिज कम्पनीकी संस्थापक प्रीति खत्रीसँग भयो । प्रीतिले नै अर्जुनलाई नर्थ फेस एडभेन्टर टिमसँग जोड्ने काम गरिन् ।

‘मनास्लु रेसको क्रममा हाम्रो भेट भयो । त्यहा अर्जुनको प्रदर्शन देखेपछि हामीले उनको पोर्टफोलियो बनाएर नर्थ फेस एडभेन्चरलाई पठायौं,’ उनले भनिन् । त्यसपछि नर्थ फेस एडभेन्चरले अर्जुनलाई प्रायोजन गरेको हो । मनास्लु रेस नै अर्जुनको जीवनको कोसेढुंगा भयो । उनले मनास्लु रेस पनि जिते अनि अन्तर्राष्ट्रिय रेससम्म पुग्नका लागि बाटो समेत खुल्यो ।

नेपालकै सुनमाया बुढालाई पनि नर्थ फेस एडभेन्चरले प्रायोजन गरिसकेको छ । यसअघि सुनमायाको  एथलेट म्यानेजरका रुपमा रहेकी प्रिति खत्रीले अर्जुनमा सम्भावना देखेर नै नर्थ फेस एडभेन्चर टिमले सहयोग गरेको बताइन् ।

अष्ट्रियामा वर्ल्ड च्याम्पियनसिपमा जानुअघि मात्रै अर्जुनले गत मेमा नर्थ फेस एडभेन्चर टिमसँग सम्झौता गरेका थिए । अहिलेका लागि एक वर्षको सम्झौता गरिएको छ र हरेक वर्ष नविकरण हुने अर्जुनले बताए ।

प्रायोजक पाएपछि अर्जुनलाई प्रशिक्षण लिन सजिलो भएको छ । ‘ट्रेनिङका लागि पनि समय मिल्यो । अहिले साताभरिको तालिका बनाएर अभ्यास गर्छौँ’, अर्जुनले भने, ‘पहिलाको ट्रेनिङ खाली कुद्ने मात्र थियो । अहिले कुन दिन कसरी ट्रेनिङ गर्ने, शरीर अनुसार कसरी ट्रेनिङ गर्ने सबै मिलाएर गरिन्छ ।’

अहिले अर्जुन गोकर्ण, तारेभीर, सुन्दरीजल ट्रेलमा अभ्यास गर्छन् ।

जुत्ताको अभाव

अर्जुनले अन्तर्राष्ट्रिय रेससम्म आइपुग्दा धेरै उतारचढावको सामना गरेका छन् । कहिले बिना प्रशिक्षण र अरुको जुत्ता मागेर समेत दौडिए । सुरुमा उनीसँग दौडिनका लागि एक जोर मात्र जुत्ता थियो ।

‘पहिला प्रायोजक नहुँदा अरु दाइहरुले सहयोग गर्नुहुन्थ्यो । भीम दाइले दिनुभएको जुत्ता लगाएर धेरै दौडिएँ । त्यो च्यातिँदा पनि सिलाएर लगाएँ । रेसको लागि त्यो नै मेरो विशेष जुत्ता थियो’, अर्जुनले विगत सम्झिए । अर्जुनले ओखलढुंगामा भएको रेसमा च्यातिएको जुत्ता सिलाएर दौडिएका थिए ।

पहिलो अन्तर्राष्ट्रिय रेसको अनुभव

करिब एक महिनाको युरोप बसाइमा अर्जुन तीन वटा दौडमा सहभागी भए । उनको पहिलो दौड वर्ल्ड माउन्टेन एण्ड ट्रेल रनिङ च्याम्पियनसिप थियो । ८७ किमीको उक्त दौडमा उनी पुरुषतर्फ ५० औं भए । पहिलो अन्तर्राष्ट्रिय दौड भएकोले सुरुमा उनी केही आत्तिएका थिए । तर उनले दौड पूरा गरेरै छाडे ।

‘वर्ल्ड च्याम्पियनसिपमा फरक किसिमको अनुभव रह्यो । हामीले त्यहाँको जस्तो नेपालमा खेलेका थिएनौं । सुरुमा त म खै किन हो आत्तिएको थिएँ । त्यहाँ राम्रा खेलाडीहरु थिए’, अर्जुनले भने । अष्ट्रियाको मौसममा अभ्यस्त हुन नेपाली खेलाडीको टोली प्रतियोगिता सुरु हुनु दुई हप्ताअघि नै पुगेको थियो । तर यो दौडको मध्यतिर पुगेपछि अर्जुनको मांशपेशीमा समस्या भयो ।

‘४१ किमी पुग्दा मसल्स क्रयाम्प भयो । मैले जसरी पनि दौड पूरा गर्नुपर्छ भनेर अठोट लिएँ । बीचमा हाम्रो सरहरुलाई देख्दा अझ ऊर्जा आयो’, अर्जुनले जोसिलो पारामा भने ।

त्यसपछि उनले १६० किमीको अर्को दौडमा पनि भाग लिए । तर खराब मौसमका कारण ४२ किमी दौडिएपछि खेल रद्द भयो । अर्जुन आफूले त्यसमा पनि राम्रो गरेको बताउँछन् ।

‘४२ किमी दौडिँदा असिना पानी पर्‍यो । त्यसपछि एक दिन रेस्टपछि ३२ किमी कुदेको । राम्रो ट्रेनिङ भएको भए अझ राम्रो हुन्थ्यो’ अर्जुनले भने । ३२ किमीको भाल्डेरान रेसमा भने अर्जुन छैटौं भएका थिए । उनले निर्धारित दुरी ३ घण्टा ८.४२ मिनेटमा पूरा गरका थिए । उनी पहिलो भएका स्पेनका पाबलो बाउटिस्टा रोभिरा भन्दा १२ मिनेटले पछि रहे ।

अष्ट्रियामा अर्जुनले धेरै कुराको अनुभव पाए । ‘बाहिर गएपछि मात्रै थाहा पाएँ कति फरक छ भनेर । बाहिर लामो दूरी र छोटो दूरीको छुट्टै ट्रेनिङ हुन्छ । प्रोपर रुपमा क्लोज क्याम्प राखेर ट्रेनिङ गर्छन्’, अर्जुनले भने, ‘नेपालमा त्यस्तो केही छैन । बाहिरको जस्तो राम्रो तरिकाले ट्रेनिङ हुने हो भने हाम्रो अझ राम्रो पोजिसन आउँछ । ’

राम्रा खेलाडीसँग प्रतिस्पर्धा गर्दा अर्जुनले धेरै सिक्ने अवसर पाए । ‘अब अर्को पटक वर्ल्ड च्याम्पियनसिपमा राम्रो प्रशिक्षणका साथ तयारी गरेर गएँ भने अहिलेजस्तो आत्तिन्न’, उनले भने ।

अन्तर्राष्ट्रिय ट्रेल रेस जित्ने लक्ष्य

अर्जुनको लक्ष्य अन्तर्राष्ट्रिय स्तरमै दौडने हो । ‘यही खेललाई निरन्तरता दिन्छु । रेसमै केही गर्छु भन्ने लक्ष्य छ । एक दिन अन्तर्राष्ट्रिय स्तरमा गएर रेस जित्ने लक्ष्य छ’, उनले भने ।

अर्जुन र सुनमाया बुढाको एथलेट म्यानेजर प्रिती खत्रीले पनि अर्जुन राम्रो सम्भावना भएको र उसले साथ पाए गर्न सक्ने बताइन् । ‘च्याम्पियन बन्न सक्ने एथलेटहरु नेपालमा पनि छन् । त्यसका लागि हामीले निरन्तर ट्रेनिङ गर्नुपर्छ । अन्तर्राष्ट्रिय रेसमा भाग लिनुपर्छ, हाम्रो प्रकृतिले गर्दा हामीलाई धेरै फाइदा छ’, नेपाल ट्रेल सिरिज कम्पनीकी संस्थापकसमेत रहेकी प्रितीले भनिन् ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?