+
+
ब्लग :

साउनमा चुरा बजाउने कि कुरा ?

हामीले कर्म गर्यौं भने मात्रै भगवानले आशीर्वाद दिनुहुन्छ । आधा हिस्साका भागीदार हामी महिलाले अब काँधमा काँध मिलाउनुपर्छ— फेसन गरेर होइन, कर्म गरेर । हात रङ्गाएर होइन, हात मिलाएर । चुरा बजाएर होइन, कुरा बजाएर ।

समीक्षा दाहाल समीक्षा दाहाल
२०८० साउन १० गते १४:४३

साउन महिना छ । हुने–खाने सम्भ्रान्त परिवारलाई हरिया लुगा भित्र्याउन भ्याई–नभ्याई छ । परिवारमा भएका सबै सदस्यलाई एउटै रङ्गको लुगा लगाउनुछ । पहिलो सोमबार मन्दिर जानुपर्ने । घरमा भएका विवाहित महिला सदस्यलाई एउटै बुट्टा भएका हरिया साडी, इच्छा अनुसार रातो, सेतो ब्लाउजको व्यवस्था गर्नुछ ।

परिवारका पुरुष सदस्यलाई महिलाको साडीसँग मिल्ने पाइजामा, सलवार । परिवारका अविवाहित महिला सदस्यलाई त्यस्तै रङ्गको लेहङ्गा वा कुर्ता सुरुवाल । एउटा सोमबार मन्दिर जाने लुगाको जोहो गर्न २० हजार जति लाग्छ ।

सबै सदस्यहरू हरियो लुगा लगाएर मन्दिर गएको परिवार दिनभर फोटो खिच्न, भिडियो बनाउन, फेसबुक र टिकटकमा अपलोड गर्न र कति लाइक, कमेन्ट आयो गन्न व्यस्त छन् । टिकटकमा भाइरल भयो कि भएन भन्ने कुरा महत्वपूर्ण छ ।

कसको फेसबुकमा बढी लाइक कमेन्ट आयो, कसको टिकटक भाइरल भयो– छलफलमा दिन बित्छ । सम्भ्रान्त परिवारका महिला सदस्यका हातमा हरियो चुरा र मेहेन्दी सजिएको छ । मेहेन्दी लगाएका दिन श्रीमान्लाई फोन गरेर खानाको अर्डर हुन्छ । कि खाना बाहिरबाट ल्याउनुप¥यो, कि आफैं पकाउनुप¥यो ।

किनकि साउन लागेको छ । घरमा ठूलै रमझम छ— साथीभाइ बोलाउने । मेहेन्दी चुरा लगाउने । टीका–चुरा–पोते साटासाट गर्ने । सबैले हरिया वा पहेंला साडी लगाउने, फोटा खिच्ने, टिकटक बनाउने । मन्दिर जाने योजना बनाउने, कुन सोमबार कुन मन्दिर जाने, कस्तो साडी लगाउने, के फलाहार खाने आदित्यादि ।

तर, मानो रोपेर मुरी उब्जाउनुपर्ने महिला किसानको घरमा साउनको चटारो अर्कै छ । खेताला नपाइएला कि भन्ने डर छ । दिनभर पर्ममा गएर बेलुकी छोराछोरीलाई खाना पकाएर खुवाउन भ्याइन्न कि भन्ने डर छ । बेलुका सात बजे मेलो छोडेर आउँदा छोराछोरी भोकै निदाए कि भन्ने डर छ ।

अनि भोलिको रोपाइँ खेतमा पानी पुग्दैन कि भन्ने डर छ । बीउ उखेल्ने, धान रोप्ने खेतालाले ढाँट्ने हुन् कि भन्ने चिन्ता छ । खेतालालाई के खाजा खुवाउने होला भन्ने तनाव छ । जोत्ने ट्याक्टरवालालाई दिने पैसा पुग्दैन कि भन्ने छ । छोराछोरीको पढाइमा ध्यान दिन समय नपुगेर परीक्षामा फेल हुने हुन् कि भन्ने भय छ ।

एक जना काम गरेर खाने मजदुर महिला साउन महिनामा बेरोजगार छिन् । उद्योग कारखानामा मन्दी छ, काम पाइन्न । घर, बाटाघाटा बर्खामा बन्दैनन् काम पाइन्न । दिनभर काम नगरे बेलुका रित्तोहात घर फर्कनुपर्छ । आफू रित्तोहात फर्के छोराछोरी भोकभोकै पर्छन् ।

हिन्दु धर्म अनुसार साउनको सोमबार १ गते पर्नु र त्यही दिन औंसी तिथि पर्नु राम्रो मानिन्छ । त्यसैले मेरो एक जना आफन्तको घरमा त्यो दिन सोमबारको पूजा थियो । मलाई पनि निम्तो गरिएको हुनाले म स्कुलको परीक्षा सिध्याएर हस्याङफस्याङ गर्दै त्यहाँ पुगेकी थिएँ ।

म जस्ता काम भ्याएर जाने दुई–चार जना बाहेक सबै महिला हरिया साडी (एउटै बुट्टा भएका) मा सजिएका थिए । सबैका हातमा कुहिनासम्म मेहेन्दी लगाइएको, हरिया, पहेंला चुरा लगाएका, हरियै टीका, कपालमा लगाउने फूल, चिम्टी, सबै हरिया थिए ।

म ढिला पुगेकी थिएँ । पूजा अघि नै सकिएको रहेछ । मेरा आफन्त महिला दिदी–बहिनीहरू फोटा खिच्न र टिकटक बनाउन व्यस्त हुनुहुन्थ्यो । उहाँहरू मलाई शिरदेखि पाउसम्म हेरेर नदेखे झैं आफ्नै सुरमा व्यस्त हुनुभयो । म त्यहाँ कागको बथानमा बकुल्लो झैं भएँ ।

उहाँहरूको नजरमा म अमिल्दी थिएँ । त्यहाँ मिसिन नमिल्ने । किनकि मैले हरियो साडी लगाएको थिएन । हरिया चुरा, पोते, टीका थिएन । मानौं मलाई साउन लागेको थाहा नै छैन । फेसन, रमाइलो, तीर्थ–व्रत केही थाहा छैन । या म बढी नै लोभी पनि हुन सक्छु, कमाउन जान्ने रमाउन नजान्ने ।

मलाई कसैले उहाँहरूको समूहमा मिसिन आग्रह गरेन । एकछिन रमिता हेरेर म घर भित्र पसें । भन्सामा बूढीआमा हस्याङफस्याङ गर्दै हुनुहुन्थ्यो । यो कस्तो धर्म गर्ने चलन आएको, खै हाम्रा पालामा त यस्तो थिएन । मैले सोधें, ‘यो मेन्दी लगाउने चलन पहिला पनि थियो आमा ?’

आमाले भन्नुभयो, ‘हाम्रा पालामा हात हिलाले खाएको दबाई पाइँदैनथ्यो । बर्खामा काम गर्दा हिलाले खाएको निको हुन्छ भनेर आमाहरूले तिउरेका पातको मेहेन्दी पिसेर लगाइदिनुहुन्थ्यो । हिलोले खाएर नराम्रा भएका हात मेहेन्दी लगाउँदा सुन्दर देखिन्थे । हामी खुसी हुन्थ्यौं । अहिले त के हो ? के हो ?’

हो आमाले भने झैं यो के हो ? के हो ? मेरो मन पनि यही भनिरहेको थियो । हामी महिला अधिकार खोजिरहेका छौं । पुरुषको दबाबबाट बाहिर निस्कन पाइएन भनेर नारा लगाइरहेका छौं । तर, हामीलाई चाडपर्वले होइन, महिनाले भुलाइरहेको छ ।

साउनमा शिवजीको पूजा गर्न फेसन चाहिएको छ । मैले पनि पहिलो सोमबार सामान्य लुगामा मन्दिर गएर शिवको पूजा गरें । हरियो साडी लगाइन र हातमा मेहेन्दी, चुरा पनि थिएनन् । अब मेरो पूजा स्वीकार्य भएन त ?

साउनपछि भदौ आउँछ, तीज लाग्छ । अघि साउनमा किनेका लुगा थन्किन्छन् । अब पालो रातोको । तीजमा नाच्न नयाँ रातो लुगा चाहियो । उत्तिकैमा पुरुषलाई न साउनमा हरियो लुगा चाहियो, न भदौमा रातो !

असोजमा दशैं आउँछ हामीलाई अर्को लुगा फोटो खिच्न, टिकटक बनाउन चाहियो । कात्तिक लाग्यो तिहारमा त्यही लुगा लगाउन मिल्दैन, अर्को साडी चाहियो । यसरी महिनामा एउटाका दरले किनेको साडी पनि सधैं लगाउन मिल्दैन ।

हामी श्रीमान्को कमाइमा निर्भर छौं भने अर्काको कमाइको दुरुपयोग नगरौं । श्रीमान्ले कमाएको पैसालाई लुगामा रूपान्तरण गरेर दराजमा नथन्क्याऊँ । त्यो पैसा कुनै सिर्जनात्मक काममा लगाऊँ । आफ्नै कमाइ खर्च गर्छौं भने पनि सही ठाउँमा प्रयोग गरौं ।

हो हामीले सुन्दर बन्न धेरै चिज उपयोग गर्ने अवसर पाएका छौं । तर, त्यसैका लागि पूरै समय खर्च नगरौं । एक–दुई महिला मात्रै कामकाजी बनेर परिवर्तन सम्भव छैन ।

हामी सबै एकजुट बनेर काँधमा काँध मिलाउनु छ । बिदाका दिन सबै भेला भएर मनोरञ्जन गर्न सकिन्छ । तर, मनोरञ्जन गर्नकै लागि बिदा नबसौं ।  हामी महिलालाई प्रकृतिले नै सुन्दरता प्रदान गरेको छ । सुन्दर हुने नाममा फेसनले छोपिएर पछि नपरौं । अफिस जाँदाजाँदै मन्दिर निस्कन मिल्छ ।

छुट्टै समय खर्च नगरौं । हामी साडी लगाएर दौड्दा पाइन्ट लगाउने पुरुषलाई भेट्न सक्दैनौं । फेसनमा छोपिएर अघि बढ्न सजिलो छैन ।

मन्दिरमा पुरुष पनि गएका हुन्छन् । उनीहरू सामान्य लुगा लगाएका हुन्छन् । हरेक पटक नयाँ लुगा खोज्दैनन् । तापनि धर्म कमाएकै छन् । अब हामी पनि मन्दिर जाने बहानामा पूरै सोमबार खर्च नगरौं । पूरै दिन खर्च गरेर होइन, समय निकालेर धर्म गर्नुपर्छ ।

हामीले कर्म गर्‍यौं भने मात्रै भगवानले आशीर्वाद दिनुहुन्छ । आधा हिस्साका भागीदार हामीले अब काँधमा काँध मिलाउनुपर्छ— फेसन गरेर होइन, कर्म गरेर । हात रङ्गाएर होइन हात मिलाएर । चुरा बजाएर होइन, कुरा बजाएर ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?