+
+

रेडी ट्रेडर्सले आयात गरेको थप साढे ११०० थान ब्रेक शु बरामद

राजश्व अनुसन्धान विभागले बुधबार सोह्रखुट्टेस्थित एक गोदाममा छापा मारेर१ हजार १६२ थान ब्रेक शु बरामद गरेको छ । तीमध्ये आधा जतिबाट सुन झिकिसकिएको हुनसक्ने विभागको अनुमान छ । 

नवीन ढुंगाना नवीन ढुंगाना
२०८० साउन ११ गते ७:५२

११ साउन, काठमाडौं । सुन तस्करीमा संलग्न रेडी ट्रेडर्स प्रालिले पछिल्लो २ महिना भित्र आयात गरेको सबै ब्रेक शुभित्र सुन लुकाएर ल्याएको आशंका राजश्व अनुसन्धान विभागले गरेको छ ।

राजश्व अनुसन्धान विभागले बुधबार काठमाडौंको सोह्रखुट्टेमा रहेको कम्पनीको गोदाममा छापा मार्दा थप ११ सय ६२ थान ब्रेक शु बरामद भएको छ । जसमध्ये प्रारम्भिक परीक्षणमा आधाभन्दा धेरै ब्रेक शु फुक्लिएको पाइएको छ । त्यसबाट तस्करले सुन झिकेर लगेको हुनसक्ने विभागको अनुमान छ । ‘बरामद ब्रेक शु ल्याब परीक्षणका लागि भन्सार विभाग पठाइएको छ तर गोदाममै सुन छुट्टयाएर तस्करले लगेको अवस्थामा फुक्लेका धेरै ब्रेक शु भेटियो,’ विभाग स्रोतले अनलाइनखबरसँग भन्यो ।

गोदामबाट ब्रेक शुबाट सुन पगाल्ने उपकरण एक थान र सुन तौलिने तुलो समेत भेटिएको विभागले जनाएको छ ।

सोह्रखुट्टेको गोदामबाट ६६ वटा प्याकेटमा ११ सय ६२ किलो ब्रेक शु बरामद भएको थियो । जसमा हरेक प्याकेटमा १० थानका दरले ब्रेक शु थियो । एक थानमा एक जोडी ब्रेक शु रहेकामा विमानस्थलमा बरामद भएकोमा एउटामा चाहिँ सुन थियो ।

तर, सोह्रखुट्टेमा बुधबार बरामदमध्ये एउटा पातो ब्रेक शु झिकिएको अवस्थामा भेटिएको छ । यद्यपि विस्तृत विवरण ल्याब परीक्षण पछि मात्रै थाहा हुने विभागले जनाएको छ ।

२०७९ चैत १९ गते खुलेको कम्पनी रेडी ट्रेडर्सले २ साउनसम्म १ हजार ३१७ किलो ब्रेक शु आयात गरेको देखिएको छ ।

बुधबार विभागले छापा मारेको गोदाम चिनियाँ नागरिकले भाडामा लिएर सञ्चालन गरेका थिए । विभागले सुन तस्करी प्रकरणमा छापा मारेको यो तेस्रो गोदाम हो ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?