+
+

‘सर्पले टोकेर छोरो बित्यो, अस्पताल पुर्‍याउन पाएर छोरी बाँची’

म चार दिन अस्पताल बस्दा सर्पले टोकेका ३०/४० जना बिरामी भेरी अस्पतालमा आए । आउनेहरू सबैजसो म जस्तै गरीब परिवारका, कच्ची घर भएका, खेती–किसानी गर्नेहरू थिए ।

नरेन्द्र बुढा, सर्प पीडित नरेन्द्र बुढा, सर्प पीडित
२०८० साउन १२ गते १०:१२

मेरो घर कैलालीको लम्कीचुहा नगरपालिका वडा नं ४ बाहुनपुर हो । ७ असार २०८० मा हाम्रो परिवारका पाँच जना सँगै सुतेका थियौं । साँझ पकौडा खाएका थियौं । राति १ बजेतिर छोराले बान्ता गर्यो । पेट दुख्यो भनेर आमालाई भन्यो ।

पकौडाले पेट दुखाएको होला भनेर आमाले दुखाइ कम गर्ने औषधिको ट्याब्लेट दिइन् । औषधि खाएपछि छोरो सुत्यो । बिहान उठ्दा त छोरो सिरियस भइसकेको रहेछ । बाबा सास फेर्न गाह्रो भयो भन्यो । त्यही नै छोराको अन्तिम वाक्य भयो । हतार–हतार गाउँ नजिकैको अस्पताल लग्यौं । तर, अस्पताल नपुग्दै ९ वर्षीय छोरो अर्जुनको मृत्यु भयो ।

छोराको मृत्युपछि नजिकैको खोलामा दाहसंस्कार गरिरहेकै बेला छोरी पनि सिरियस बिरामी भई भने खबर आउँदा कस्तो भयो होला ! हामी गरिब परिवारको मान्छेसँग चाहिएको बेलामा पैसा पनि हुँदैन । छोरो त मरी नै हाल्यो । छोरीलाई त जसरी भए पनि बचाउनु पर्यो भन्ने लाग्यो । तर लागेर मात्रै के गर्नु, उपचारका लागि पैसा चाहियो । आफन्तहरूसँग सरसापट गरेर अस्पताल पुर्याएँ ।

डाक्टरहरूले पनि के कारणले बिरामी भएको हो भन्ने पत्ता लगाउन सकेनन् । गर्मीका कारण होला भनेर दुई घन्टा जति औषधि दिए तर छोरी झनै सिकिस्त हुँदै गई । तत्कालै एम्बुलेन्सको व्यवस्था गरेर नेपालगञ्ज ल्यायौं । सुरुमा मेडिकल कलेजमा लग्यौं ।

सर्पको टोकाइबाट बच्न के गर्ने, टोकेपछि के गर्ने, उपचारका लागि कहाँको कुन अस्पतालमा लैजाने भन्ने थाहा नै हुँदैन । त्यही थाहा नहुँदा धेरै अलमल, तनाव हुँदोरहेछ ।

त्यहाँका डाक्टरले सर्पले टोकेको हुन सक्छ भन्दै भेरी अस्पताल लैजाऊ भने । त्यसपछि दिउँसो तीन बजे भेरी अस्पताल पुर्यायौं । भेरी अस्पतालमा पुर्याएपछि त्यहाँका डाक्टरहरूले पनि सर्पले नै टोकेको हो भने । तब मात्रै हामीलाई सर्पले नै टोकेका कारण छोरा–छोरी बिरामी भएका रहेछन् भन्ने थाहा भयो ।

भेरीका डाक्टर, नर्सहरूले फटाफट उपचार सुरु गरे । सर्पले टोकेको हो, न आत्तिनुस् ठिक हुन्छ भनेपछि अलि राहत भयो । भेरी अस्पतालका डाक्टर कृष्ण आचार्यले हामीलाई धेरै सहयोग गर्नुभयो । आफ्नै छोरी जस्तै गरेर उपचार गरिदिनुभयो । राति पनि आएर हेरिदिनुभयो । बिजी हुँदा फोन गरेर हालखबर सोध्नुभयो । तीन दिन अस्पताल भर्ना गराएर उपचार गराएपछि छोरीलाई बचाउन सकियो ।

सुरुमा त सर्पले टोकेको नै थाहा भएन । सर्पले टोकेपछि के कस्तो लक्षण हुन्छ भन्ने पनि थाहा थिएन । करेत सर्पले राति सुतेकै ठाउँमा आएर टोक्ने रहेछ । टोकेको थाहा पनि हुने रहेनछ । विष लाग्दै गयो भने बिरामीको पेट दुख्छ, बान्ता गर्छ, सास फेर्न गाह्रो हुन्छ भन्ने थाहा भएको भए पेट दुख्यो भन्दै बान्ता गरेको छोरालाई दुखाइ कम गर्ने औषधि दिएर हामी सुत्ने थिएनौं ।

तर के गर्नु, हामीलाई सर्पले टोकेको होला भन्ने शंकै भएन । थाहा नपाएकै कारण हुर्किसकेको छोरो गुमाउनु पर्यो । सर्पदंशबाट बच्ने उपाय र सर्पले टोकेपछि के गर्ने भन्ने विषयमा विद्यार्थीलाई स्कुलमा सिकाउने, पढाउने गर्नु पर्यो । गाउँघरमा पनि स्वास्थ्यकर्मीहरू आएर सिकाउने, बुझाउने गर्नु पर्यो । नभए त ठूलो क्षति हुने रहेछ ।

यदि स्कुलमा सर्पदंशका बारेमा सिकाए–पढाएको भए, गाउँघरमा आएका स्वास्थ्यकर्मी, संघसंस्थाहरूले सिकाएको भए हामीलाई केही न केही थाहा हुन्थ्यो । म जस्ता कम पढे–लेखेका, गाउँघरमै बस्ने, खेतीपाती गर्ने, कमाउनका लागि इण्डिया जानुपर्ने बाध्यता भएका मान्छेलाई यस बारेमा थाहा भएको भए मेरो छोरो गुम्ने थिएन ।

सर्पको टोकाइबाट बच्न के गर्ने, टोकेपछि के गर्ने, उपचारका लागि कहाँको कुन अस्पतालमा लैजाने भन्ने थाहा नै हुँदैन । त्यही थाहा नहुँदा धेरै अलमल, तनाव हुँदोरहेछ । अहिले छोरो गुमाउनु पर्दाको पीडा त छँदैछ त्यसमाथि छोरीको औषधि उपचार गर्दा झन्डै एक लाख रुपैयाँ ऋण लाग्यो ।

भेरी अस्पतालमा आएपछि सर्पदंशका बारेमा धेरै थाहा भयो । म तीन–चार दिन अस्पताल बस्दा सर्पले टोकेका ३०/४० जना बिरामी भेरी अस्पतालमा आए । अस्पताल आउनेहरूमध्ये सबैजसो गरिब परिवारका, कच्ची घर भएका, खेती–किसानी गर्नेहरू नै थिए ।

धेरैलाई घरमै सुतेको बेला सर्पले टोकेको थियो । सर्पले टोकेपछि थोरैलाई मात्रै विष लाग्दो रहेछ । डाक्टरहरूले ८/१० घन्टा अस्पतालमै निगरानीमा राखेर विष नलागेकाहरूलाई औषधि नै नगरेर पनि घर पठाइदिंदा रहेछन् ।

गोमन सर्पले टोकेकालाई छिट्टै विष लाग्दो रहेछ । उपचार गरेपछि निको पनि छिट्टै हुँदोरहेछ । करेत सर्पले टोकेपछि विष लाग्न र निको हुन पनि धेरै नै समय लाग्दो रहेछ । अस्पताल बस्दा मैले के थाहा पाएँ भने वर्षात्को समयमा सर्पले टोक्ने संभावना धेरै हुँदोरहेछ ।

अनि राति झुल लगाएर खाटमा सुत्दा सर्पदंशबाट बच्न सकिंदो रहेछ । सर्प आहाराको खोजीमा भ्यागुता, मुसा खोज्दै हिंड्दो रहेछ । घर–आँगन अगाडिको झाडी, दाउरा, ढुंगा थुपारिएको ठाउँ, घरआँगनमा मुसाले पारेका प्वालहरूमा सर्प लुकेर बस्दो रहेछ । राति पेट दुख्यो, बान्ता भयो भने सर्पले टोकेको आशंका गरेर यसको उपचार हुने अस्पताल पत्ता लगाएर कुदाइहाल्नु पर्दोरहेछ ।

(सर्पले डसेर छोरो गुमाएका कैलालीका बुढासँग नेपालगञ्जमा पत्रकार कृष्ण अधिकारीले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?