+
+

‘सर्पको डसाइ नेपालमा उपेक्षित स्वास्थ्य समस्यामा पर्छ’ 

वर्षेनि सर्पदंशबाट जनधनको क्षति बढ्दो छ । तर, नेपालमा यो उपेक्षित स्वास्थ्य समस्याको सूचीमा छ । सरकारको मात्रै नभएर किन हो दातृ निकायको पनि प्राथमिकतामा पर्दैन यो समस्या ।

कमल देवकोटा, सर्प विशेषज्ञ कमल देवकोटा, सर्प विशेषज्ञ
२०८० साउन १२ गते १०:११

नेपालमा हरेक वर्ष सर्पदंशका ३७ हजार ६६१ वटा घटना हुने, ३ हजार २२५ जनासम्मको मृत्यु हुने गरेको पछिल्लो अध्ययनले देखाएको छ । हाम्रो तराई क्षेत्रका जिल्ला सहित २६ वटा जिल्लामा सर्पदंशको समस्या धेरै छ ।

सर्पदंशबाट हुने जनधनको क्षति वर्षेनि बढ्दो छ । तर, सर्पदंशको समस्यालाई नेपालमा उपेक्षित स्वास्थ्य समस्याको सूचीमा राखिएको छ । सर्पदंशको समस्या नेपाल सरकारको मात्रै नभएर दातृ निकायको पनि प्राथमिकतामा परेको देखिंदैन ।

सरकारले उपचारमा प्रयोग हुने एन्टीस्नेक भेनम निःशुल्क उपलब्ध गराउने र स्वास्थ्यकर्मीहरूलाई तीनदिने तालिम दिने बाहेक थप काम गरेको देखिंदैन । सर्पदंशको समस्या सम्बोधन गर्न एन्टीस्नेक भेनम निःशुल्क उपलब्ध गराएर र स्वास्थ्यकर्मीहरूलाई तालिम दिएर मात्रै पुग्दैन ।

सर्पदंशको बढी समस्या भएका क्षेत्रमा समुदायस्तरमा पुगेर जनचेतना अभिवृद्धि गर्नु जरूरी छ । त्यसतर्फ अहिलेसम्म काम हुनसकेको छैन । सरकारले सर्पदंश नै हुन नदिने के–कस्ता सावधानी अपनाउने, सर्पले टोकिहालेमा के गर्ने, कहाँ लगेर कसरी उपचार गर्ने भन्ने जस्ता विषयमा समुदायस्तरमै सचेतना फैलाउन जरूरी छ ।

सर्पले टोकेपछि टोकेको ठाउँमा ब्लेडले चिर्ने, चुसेर विष झार्ने, झारफुक गर्ने, जडीबुटी लगाउने गरिन्छ । विषालु सर्पले टोकेको अवस्थामा त्यस्ता उपाय अपनाउँदा अस्पताल पुग्न ढिलो हुन्छ । शरीरमा विष फैलिएर बिरामी सिकिस्त बन्दै जाने र मृत्यु हुने हुन्छ । त्यसैले सर्पले टोक्नासाथ टोकेको भागलाई नचलाई सीधै बिरामीलाई जतिसक्यो चाँडो सर्पदंश उपचार केन्द्र वा नजिकको सरकारी अस्पतालमा लैजानुपर्छ ।

ग्रामीण क्षेत्रमा सर्पदंश उपचार केन्द्र गाउँबस्तीबाट धेरै टाढा छन् । आपत् परेको बेलामा सवारीका साधन पाइँदैनन् । त्यसैले सर्पदंशको जोखिम धेरै भएका क्षेत्रमा हेल्थपोष्ट तहमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई तालिम दिएर समुदायस्तरमा सर्पदंशका बारेमा सचेतना फैलाउन सकिन्छ ।

एन्टीस्नेक भेनम निःशुल्क उपलब्ध गराएकै त छौं नि भनेर मात्रै पुग्दैन । सर्पदंशबाट हुने जनधनको क्षति कम गर्न नेपाल सरकारले पनि लक्ष्य निर्धारण गरेर थप कार्यक्रमहरू संचालन गर्नुपर्छ ।

यस बाहेक हेल्थपोष्टमै सहज रूपमा उपचार सेवा प्रदान गर्ने, सर्पदंशका बिरामीको उपचारमा सरकारी अस्पतालहरूमा विशेष छुटको व्यवस्था गर्ने, स्वास्थ्य बीमामा समावेश गर्ने जस्ता काम गर्न आवश्यक छ ।

सर्पदंश त्यसमा पनि करेत सर्पले टोकेका बिरामीलाई अस्पतालमै भर्ना गरेर उपचार गर्नुपर्छ । कुनै कुनै केसमा त दुई हप्तासम्म आईसीयूमै भर्ना गरेर राख्नुपर्ने हुन्छ । उपचार गर्दा बिरामीको कम्तीमा पनि एकलाख रुपैयाँ भन्दा धेरै खर्च हुन्छ । सर्पदंशमा परेपछि गरीब समुदायका नागरिक थप ऋणको चपेटामा पर्ने गरेका छन् ।

खेतबारीमा काम, वनजंगलमा घाँसदाउरा गर्दा, घरमा विद्युत् सुविधा नहुँदा शीतलका लागि घरको बरन्डा र भुइँमा सुत्दा धेरै मानिस सर्पदंशमा पर्ने गरेको पाइन्छ । गरीब र विपन्न नागरिकहरू बढी जोखिममा पर्ने गरेका कारण सर्पदंशलाई गरीबको स्वास्थ्य समस्या पनि भन्ने गरिन्छ ।

सर्पले गरीब धनी त छुट्याउँदैन तर शहरी क्षेत्रमा पक्की घरमा बस्ने धनी मानिस भन्दा गाउँ, खोला र जंगलको किनारामा कच्ची घरमा बस्ने, घरआँगनमा दाउरा, भुस, पराल, ढुंगा, काठपात थुपारेर राख्ने खेतबारीमा काम गर्ने, अँध्यारोमा हिंडडुल गर्नुपर्ने मानिस सर्पदंशको चपेटामा पर्ने गरेका छन् ।

विश्व स्वास्थ्य संगठनले सर्पदंशका घटनालाई सन् २०३० सम्म ५० प्रतिशत घटाउने लक्ष्य राखेको छ । नेपाल सरकारले सर्पदंशबाट हुने क्षतिलाई कम गर्न के गर्ने भन्ने प्रष्ट नीति र कार्यक्रमसम्म बनाएको छैन । सरकारको कुनै टार्गेट र अभियान नै छैन ।

एन्टीस्नेक भेनम निःशुल्क उपलब्ध गराएकै त छौं नि भनेर मात्रै पुग्दैन । सर्पदंशबाट हुने जनधनको क्षति कम गर्न नेपाल सरकारले पनि लक्ष्य निर्धारण गरेर थप कार्यक्रमहरू संचालन गर्नुपर्छ । नेपालमा हालसम्म ८४ प्रजातिका सर्पहरू पाइन्छन् । सर्पबारे अझै अध्ययन हुन बाँकी रहेकाले योभन्दा धेरै जातका सर्प पनि पाइन सक्ने संभावना छ ।

नेपालमा पाइनेमध्ये २१ प्रकारका सर्पहरू अति विषालु किसिमका छन् । त्यस बाहेकका अन्य सर्पहरू भने कम विषालु र विष नभएका पनि छन् । नेपालमा पाइने सर्पमध्ये सबैभन्दा विषालु र धेरै मानिसको ज्यान लिएका सर्प भनेका करेत र गोमनका विभिन्न प्रजाति हुन् । नेपालमा करेतका ६ प्रजाति छन् । त्यसमध्ये अधिकांशले मानिसलाई टोक्ने गरेको पाइन्छ ।

नेपालमा धेरै मानिसलाई टोक्ने सर्प गोमन र त्यसपछि करेत हो । करेत र गोमन सर्प तराई क्षेत्रमा धेरै मात्रामा पाइन्छ । तराईमा गोमनले टोकेका धेरै केस हुन्छन् भने पश्चिमतिर गोमन भन्दा बढी करेतले टोकेका केसहरू पाइएका छन् ।

विषालु सर्पले टोक्दैमा सबैमा विष छोड्ने संभावना हुँदैन । करिब ८० प्रतिशतमा विष छोडेको हुन्छ भने बाँकी २० प्रतिशतमा टोके पनि विष छोडेको हुँदैन । विषालु सर्पले टोकेर पनि विष नछाडेका कारण शरीरमा विष नफैलिएका केसलाई ‘ड्राइ बाइट’ भनिन्छ ।

त्यस्तो टोकाइमा परेका बिरामीहरूको स्वास्थ्यमा खासै समस्या हुँदैन । विष छाडेका केसमा भने बिरामी सिकिस्त हुन्छ, समयमै उपचार पाएन भने मृत्यु पनि हुन्छ । त्यसैले सर्पले टोक्दैमा आत्तिने र केही पनि हुँदैन भन्ने दुवै मान्यता गलत हुन् भन्ने जानकारी आम समुदायसम्म पुर्याउन जरूरी छ ।

नेपालमा सर्पदंशबाट हुने मृत्युमध्ये ९० प्रतिशत भन्दा धेरै मृत्यु करेत र गोमन सर्पको टोकाइबाट हुने गरेको पाइन्छ ।

करेत : करेत सर्पको मुख्य वासस्थान वन–जंगल नै हो । तर आहाराको खोजीमा करेत सर्प बस्ती नजिकै रहेका झाडी, ढुंगा, काठ–दाउरा थुपारेको ठाउँ, मुसा र भ्यागुता भएको क्षेत्रमा पनि बस्छ । यो सर्पले राति सुतेको बेला बिस्तारामै आएर टोक्छ । टोकेको पनि थाहा हुँदैन । बिहान उठ्दासम्म विष फैलिसकेको हुन्छ ।

लक्षण देखिएको एक घन्टाभित्र एन्टीस्नेक भेनम पाइने अस्पताल वा सर्पदंश उपचार केन्द्रमा गएर उपचार सुरु गर्न सक्दा ज्यान जोगाउन सक्ने संभावना धेरै हुन्छ । यो सर्पले टोकेको विष विस्तारै फैलिन्छ । यसको विष फैलन सामान्यतया २/३ घन्टादेखि १०/१२ घन्टासम्म लाग्छ ।

चितवनमा एउटा केसमा टोकेको २६ घन्टापछि विष फैलिएर लक्षण देखिन सुरु गरेको पनि उदाहरण छ । यसको लक्षणमा जिब्रो निकाल्न, घाँटी सीधा बनाउन, सास फेर्न गाह्रो हुन्छ । पेट दुख्छ । उपचार पछि निको हुन पनि धेरै समय लाग्छ । आईसीयूमै भर्ना गरेर दुई हप्तासम्म भेन्टिलेटरमै राख्नुपर्ने हुन्छ । यो सर्पले टोकेपछि सरकारी अस्पतालमा भर्ना भएर उपचार गराउँदा पनि कम्तीमा एक लाख रुपैयाँसम्म खर्च हुन्छ ।

गोमन (कोब्रा) : यो सर्प झाडी, ढुंगा, काठ–दाउरा थुपारेको ठाउँ, मुसा र भ्यागुता भएको क्षेत्रमा बस्छ । धेरै विषालु हुन्छ । दिनमै टोक्छ । बिहान उज्यालो हुने बेला, दिउँसो १२ बजेको आसपास र साँझ सूर्य अस्ताउने बेला टोक्ने जोखिम धेरै हुन्छ । यो सर्प चिन्न सजिलो छ । यसले टाउको उठाउँछ । फँणा फुलाउँछ । फ्वाँ फ्वाँ गर्छ ।

यसले टोकेको थाहा हुन्छ । टोकेको ठाउँमा सुन्निने, रगत आउने, दुख्ने हुन्छ । विष फैलँदै गयो भने सास फेर्न गाह्रो हुन्छ । निसास्सिने हुन्छ । सर्पले टोकेको आधा घन्टादेखि एक घन्टाभित्र उपचार सुरु भयो भने बाँच्ने संभावना धेरै हुन्छ ।

उपचार भएर निको भए पनि सर्पले टोकेको घाउ पाकेर बिरामीलाई दुःख दिन्छ । केही केसहरूमा पाकेको घाउ निको हुन एक महिनासम्म पनि लागेको पाइएको छ । नेपालमा सर्पदंशबाट हुने मृत्युमध्ये करिब ४५ प्रतिशत मृत्यु गोमन सर्पको टोकाइबाट हुने अनुमान छ ।

यो सर्पको प्रकोप नेपालको पूर्वी क्षेत्रमा बढी छ । झापा, मोरङ, सप्तरी, सिरहा, बारा, पर्सा, रौतहटमा गोमन सर्पले टोकेको धेरै केस हुने गरेका छन् ।

भाइपर : यो प्रजातिमा रसेल्स भाइपर धेरै विषालु हुन्छ । पहाडी क्षेत्रमा पाइने ग्रिन पिट भाइपर पनि विषालु हुन्छ । घाँस–दाउरा, खेती किसानी गर्ने मानिस यो सर्पको टोकाइमा पर्ने जोखिम धेरै हुन्छ । विष लागे पनि यो सर्पले टोकेर मृत्यु हुने जोखिम भने निकै कम हुन्छ । सर्पले टोकेर विष लागेका मध्ये पनि निकै न्यून संख्यामा मृत्यु हुने अध्ययनले देखाएको छ ।

(प्राणीशास्त्री तथा अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघको सर्प विशेषज्ञ समूहका सदस्य देवकोटासँग पत्रकार कृष्ण अधिकारीले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?