+
+

सुन प्रकरणमा गहिराइमा अनुसन्धान नभए गृहमन्त्रीको राजीनामा माग्नुपर्ने अवस्था आउँछ : पौडेल

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १४ गते ११:०३

१४ साउन, बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले सुन तस्करी प्रकरणमा गहिराइ अनुसन्धान नभए गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्नुपर्ने अवस्था आउने बताएका छन् ।

नेपाल प्रेस युनियन रुपन्देहीले बुटवलमा गरेको पत्रकार भेटघाटमा पौडेलले सुन तस्करी प्रकरणमा भरियालाई देखाएर उम्किन नमिल्ने भन्दै गहिराइमा गएर अनुसन्धान हुनुपर्ने बताएका हुन् ।

‘सुन प्रकरण हलुका विषय हैन, गृह र अर्थ मन्त्रालयलाई थाहा नभई त्यति धेरै सुन कसरी बाहिरियो ?’ पौडेलले भने, ‘भरियाको टाउकोमा दोष थोपरेर उम्कन मिल्दैन, यसको गहिराइमा पुगेर अनुसन्धान नभए हामीले नै गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्नुपर्ने अवस्था आउन सक्छ ।’

भ्रष्टाचारविरुद्ध पार्टीले आक्रामक ढंगले आवाज नउठाए जनताले साथ नदिने उनको भनाइ छ ।

संघीयता खर्चिलो र बोझिलो भएको भन्दै उनले केन्द्रदेखि प्रदेशसम्मका सांसद र मन्त्री तथा कर्मचारीको संख्या घटाउनुपर्ने समेत बताए । ‘संघीयता असाध्यै खर्चिलो र बोझिलो भएको छ, यसले संघीयता बलियो र दिगो हुन्न त्यसैले म सहित केही साथीहरुले संघीय संसद २०१ सदस्यीय, राष्ट्रिय सभा ३५ सदस्यीय, संघीय मन्त्रिमण्डल १५ जनाको र प्रदेश मन्त्रिमण्डल ५ जनाको हुनुपर्छ भन्ने प्रस्ताव पार्टीमा राखेका छौं ।’

संघीयतालाई बलियो र दिगो बनाउने भए सांसद, मन्त्री र कर्मचारीको संख्या घटाउनैपर्ने उनको धारणा छ । ‘संघीयतालाई चुस्त र छरितो बनाउन पहिला सांसद र मन्त्रीको संख्या घटाउने, त्यसपछि कर्मचारीको संख्या घटाउनपर्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?